|

काठमाडौं : जोरपाटी-सुन्दरीजल सडक खण्डको गोकर्णबाट नाम्गेल बसपार्कसम्मको सडकमा ह्वांगै परेको ढलको खाडल लहरै देखिन्छन। मंगाल भत्किसकेका, कुनै भत्किँदै गरेका त कुनै झारले छोपिएका ठूलाठूला खाडल। कुनै ह्वालह्वाल बगिरहेको ढलका खाडल।

वर्षौँदेखि लथालिङ्‌ग जोरपाटी-सुन्दरीजल सडक विस्तारका लागि लकडाउनकै बीच ढलको 'ह्युम पाइप' हाल्ने काम भएको थियो। तर, निर्माण व्यवसायीले ढलको लागि बनाएको मंगाल अहिलेसम्म छोपेका छैनन्‌। न त सडक कालोपत्रे गरिएको छ। सर्वसाधारणको लागि यो सडक धराप (सडक एम्बुस) बनेका छन।

धराप बनाएर छाडेको मंगालको फोटो खिच्दै गर्दा नाम्गेलका स्थानीय निरज पुडासैनीले आक्रोशित हुँदै भने, ‘अरु देशमा हो भने ढलको मंगाल ह्वांगै राख्ने ठेकेदारलाई कारबाही भइसक्थ्यो, नेपालमा त न कारबाही, न त व्यवस्थापनको लागि काम अह्राउने नीति नै छ। बरु नेताको संरक्षणमा ठेकेदार मस्ती गर्छन्।’

ज्यान जोगाउनै मुस्किल
जताततै ठूला खाडल भएकाले ज्यान जोगाउनै मुस्किल परेको निरजले बताए। ‘सडक विस्तारको नाममा ढलको खाडल खनिएको छ,’ उनले भने, ‘अहिले ढकनीी पनि हालिएको छैन। मंगाल ह्वांगै छ। अहिले परिरहेको पानीले भेल बग्छ। खाडल कहाँ छ भनी देखिँदैन। ज्यान जोगाएर हिँड्नुपर्छ। कुन दिन ज्यान जाने हो : थाहा छैन।’ ठेकेदार र निर्माणको लागि जिम्मा पाएका सरोकारवाला निकायकै चरम लापरबाहीका कारण अकालमै सर्वसाधारणले ज्यान गुमाउन बाध्य भएको उनी बताउँछन्‌।

जोरपाटी-सुन्दरीजल सडकखण्डको खाडल त उदाहरण मात्रै हो। अहिले गोकर्णकै भैरवचौरमा ढलका खाडल पुरिएका छैनन्। त्यस्तैगरी कपन क्षेत्रको अस्तव्यस्त सडकमा ठूलठूला खाडल छन। ज्यानलाई धरापमा राखेर हिँड्नुपर्ने अवस्था छ। जोरपाटी-साँखु सडक खण्डमा पनि ढलको खाडल ह्वांगै छन। चावहिल चोकमा पनि बिजुली तार भूमिगत गर्ने नाममा सडकमा खाडलै खाडल खनिएको छ।

पुतलीसडकको पनि सबै कालोपत्रे (पीच) उप्काइएको छ। ढलको लागि खाडल खनिएको छ। तर, पुरिएको छैन। भक्तपुरको मिवाक्ष्य, जगाति निस्किने आदर्श र ब्रह्मायणी क्षेत्रमा ढलको समस्या छ। स्थानीय सरकारले मर्मतमा बेवास्ता गरेपछि वर्षौदेखि सर्वसाधारण जोखिम मोलेर हिँड्न बाध्य छन। तर, ती खाडल पुर्न सरोकारवाला निकाय मौन छन्‌।

ज्यान गएपछि बल्ल ढलको व्यवस्थापन

ढल ह्वांगै भएपनि मर्मतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको आँखा कहिल्यै जाँदैन। जब सर्वसाधारणको ज्यान जान्छ, समाचार बाहिर आउँछ। त्यसपछि बल्ल ढल व्यवस्थापनमा सरकार लागिपर्छ। नेताहरुले खाडल पुर्न निर्देशन दिन्छन्। २०७४ साल असार ३० गते काठमाडौँको सामाखुसीमा १३ वर्षकी बालिका सत्या सापकोटा सडक पार गर्दा ढलमा बगेकी थिइन्‌। त्यसपछि उक्त स्थानमा काठमाडौं महानगरपालिकाले फलामको बार लगाएको थियो।

२०७५ साल कात्तिक महिनामा कीर्तिपुरको डल्लुबाट दक्षिणकाली जानेक्रममा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार नजिकै खानेपानीको मंगालमा खसेर कितिर्पुरका श्याम श्रेष्ठको मृत्यु भयो। उनको मृत्युपछि बल्ल मंगालको ढकनीी हालियो। यो समस्या डोहोरिएको मात्रै होइन, कसैको ज्यान गएपछि मर्मत गर्ने पहिलैदेखिको परम्परा र चलनचल्ती नै हो।

काठमाडौंमा मात्रै ढलमा खसेर वर्षेनी पाँच जनाले ज्यान गुमाउँछन

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार वर्षेनी ढलमा खसेर पाँचजना सर्वसाधारणले ज्यान गुमाउने गरेका छन। ‘काठमाडौंमा वर्षेनी चार/पाँच जना ढलमा खसेर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्‌,’ उनले भने, ‘वर्षातमा धेरै पानी पर्ने हुँदा यस्तो घट्ना घट्छ। बेलैमा खुला ढलहरू व्यवस्थापन भएमा यस्ता घटना घट्दैनन्‌।’

उनका अनुसार ढलमा डुबेर,मंगालमा मोटरसाइकल छिर्दा सर्वसाधारणले ज्यान गुमाउने गर्छन। 

‘खाडल पुर्छौँ’ 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता लक्ष्मण देवकोटाले ह्वांगै परेका खाडलहरु पुर्ने बताएका छन्‌।

‘यो पानी कम भएपछि एक महिनाभित्रमा गोकर्णदेखी नाम्गेल बसपार्क सम्मको ढल मर्मत गरिसक्छौँ,’ उनले भने, ‘ज्यान जोखिम हुने ठाउँमा तत्काल मंगालको ढकनी हाल्छौँ।’

वर्षातको बेला ढलमा परेर मानिसको ज्यान जाने गरेको भन्दै अन्य ठाउँमा पनि जहाँ ढलको जोखिम छ, त्यहाँका खाडल पुर्न तत्काल ठेकेदारलाई निर्देशन दिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.