|

पर्सा : कोभिड विशेष अस्पताल गण्डकमा उपचार गराइरहेकी एक किशोरीको शुक्रबार मृत्यु भएको छ। छिमेकी जिल्ला बाराको परवानीपुर ४ की १७ वर्षीय किशोरीको उपचारका क्रममा मृत्यु भएको हो। 

शुक्रबार नै एक ८५ वर्षीया वृद्धाको कोरोनाका कारण गण्डक अस्पतालमा नै उपचारका क्रममा मृत्यु भएको थियो। त्यसको केही घण्टा बित्न नपाउँदै सोही अस्पतालमा उपचार गराइरहेकी अर्की युवतीको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक युवतीको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको कोभिड विशेष अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए।

शरीरमा समस्या देखिएपछि ती युवतीलाई गएको बुधबार वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको मृतकका आफन्तले बताएका छन्। स्वास्थ्य अवस्था अझ बिग्रिन थालेपछि थप उपचारका लागि वीरगन्जकै हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको उनीहरुको भनाइ छ। 

अस्पतालमा भर्ना गर्दा डायरिया र श्वास प्रश्वासमा समस्या भएको वीरगन्ज हेल्थ केयर अस्पतालका चिकित्सक अबुलेश अन्सारीले बताए।  अस्पतालमा भर्ना गरिएकी युवतीको अवस्था हेर्दा शंकाजनक भएकोेले आरडिटी परिक्षण गरिएको थियो। जसमा रिपोर्ट पोजेटिभ पाइएको थियो। 

थप परिक्षणका लागि स्वाब संकलन गरी वीरगन्जको नारायणी प्रयोगशालामा पठाइएको उनले बताए। बिरामीलाई पनि आरडिटी पोजेटिभ आएपछि कोभिड अस्पतालमा पठाइएको डा. अन्सारीको भनाइ छ।
 
कोभिड अस्पताल गण्डकमा बिहीबार भर्ना गरिएकोमा शुक्रबारै आइसियू कक्षमा उपचारका क्रममा मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ। गण्डक अस्पतालमा उपचार गराइरहेका मध्ये चार जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ भने अहिलेसम्म ५४ जना संक्रमित उपचार गराइरहेको डा.सिंहले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.