|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको चंगुलमा फसेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधि र प्रकृयामा चल्न नसकेको सार्वजनिक रुपमै बताएका छन्।

नेकपा स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका दाहाल-नेपालले शुक्रबार एकै स्वरमा पार्टी र सरकार सही दिशातिर अघि बढ्न नसकेको बताएका हुन्‌।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसका अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दुवै नेताले यस्तो बताए। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै दाहाल र नेपालले पार्टीमा गम्भीर संकटमा रहेको धारणा राखे।

राजीनामा माग भएपछि प्रधानमन्त्री एवम्‌ अध्यक्ष ओली स्थायी कमिटी बैठकमा समेत उपस्थित नहुने र पार्टी विभाजन गर्नेसम्मको तयारीमा लागेको चर्चा चलेपछि यो दाहाल-नेपाल समुह सशंकित बन्दै आएको छ।

ओलीको राजीनामालाई लिएर यसबीच नेकपामा गुट-उपगुटमा झाङ्गिएको छ। पार्टीभित्र विवाद बढ्दै जाँदा केही दिनअघि दाहाल र ओलीबीच सहमति भएको भनिएको थियो। दुई अध्यक्षबीच अहिलेको विवाद पार्टीको आगामी महाधिवेशनसम्मका लागि थामिएको विश्लेषण भइरहेको छ। तर, शुक्रबार प्रचण्डले ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता हुनु लगायतका कारणले पार्टी संकटमा परेको बताए।

आफूहरु पार्टीलाई कसरी गति दिने भनेर लागिरहेका बेला देशभर प्रधानमन्त्रीको समर्थनमा नारा-जुलुस भएको र त्यसले पार्टी एकतालाई प्रबर्द्धन नगर्ने दाहालले टिप्पणी गरे। कम्युनिष्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्माचार्यलाई स्मरण गर्दै दाहालले अहिले पार्टी विभाजनलाई रोक्ने अन्तिम प्रयास भइरहेको समेत जनाए।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने पार्टीको निर्णय भएपनि जस भने प्रधानमन्त्री ओलीले मात्र लिन खोजेको भन्दै त्यसरी नबुझ्न अध्यक्ष दाहालले सबैलाई आग्रह गरे। 

चुनावमा पार्टीले भनेअनुसार सरकारले काम गर्न नसकेको पनि दाहालले दोहोर्‍याए। भाषणका क्रममा प्रचण्डले कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा चल्ने र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने भएपनि त्यसो हुन नसकेको उल्लेख गरे। ‘दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन, जबकि ६-६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ। हामी त्यहाँ चुक्यौं,’ उनले भने, 'कम्युनिस्ट विचार र मार्क्सवादअनुसार पार्टी भनेको विवेक र सरकार भनेको सत्ता भएको र विवेकले सत्ताको नेतृत्व गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको हो कि?' अहिले पार्टीमा अहिले भइरहको बहस पदको झगडा नभई विचार, विधि  र पद्धतिको भएको दाहालको भनाई छ। 

यस्तै, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता माधवकुमार नेपालले कसैले चाहेर पार्टी नफुट्ने बताए। पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी निर्माण गरेको सम्झना गर्दै उनले यो आन्दोलन कसैले चाहेर विसर्जन नहुने बताए। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै उनले 'म नै राज्य हुँ' भन्ने अहंकार कसैमा भए त्यस्तो व्यक्ति र प्रवृत्ति आफैँ पतन हुने बताए। 

नेता नेपालले पनि पार्टी विधि र विधानमा चल्न नसकेको बताएका छन्। जनताको नासोका रुपमा रहेको कम्युनिष्ट आन्दोलनलाई सुसंगठित हिसाबले अघि बढाउनुपर्ने जिम्मेवारी पूरा गर्नतर्फ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै उनले समय धेरै अघि बढिसकेको जनाए।

कम्युनिष्ट पार्टीसँग जनताले धेरै आशा र अपेक्षा गरेको भन्दै नेता नेपालले सरकारका गतिविधि त्यसतर्फ केन्द्रित छन् वा छैनन भनेर मनन गर्ने समय आएकोसमेत बताए।

बाहिर होइन, संसदीय दलको बैठकबाट छिनोफानो गर्नुपर्छ  

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम शीर्ष नेताहरुले यसरी असन्तुष्टि पोख्नुभन्दा प्रकृयामै गएर प्रधानमन्त्री एवम् पार्टी अध्यक्षको विकल्प खोज्नुपर्ने सुझाउँछन्‌​​।

'यो सिस्टम जुन छ नि संसदीय प्रथा भन्ने! यो संसदीय प्रथाले उहाँहरुको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीलाई चिन्दैन, यो सिस्टमले पार्टीको संसदीय दललाई मात्र चिन्छ,' उनले थाहाखबरसँग भने ‘उहाँहरुले संसदीय दलको बैठक बोलाउन सक्नुहुन्छ, त्यहाँ नै आफ्नो असन्तुष्टि राख्नुपर्‍यो, त्यहीँबाटै छिनोफानो गर्नुपर्‍यो, तर बाहिर बाहिर कुरा गरेर मुलुकलाई बन्धक बनाउनु भएन, उपयुक्त मञ्चमा कुरा राख्नुपर्‍यो नि!' 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी नेताहरुलाई पार्टी र सरकारमा भूमिका दिन नसक्दा यस्तो स्थिती देखिएको उनको बुझाई छ। उनी थप्छन्‌, 'मुख्य कुरा केपी ओलीले पनि बुझ्नुपर्ने कुरा के हो भने, उहाँकै दौँतरी, उहाँकै समकालीन र कतिपय उहाँभन्दा सिनियर मान्छेको मानमर्दन गर्ने गरी प्रस्तुत हुने, उहाँहरुको व्यवस्थापन गर्न नसक्ने, भूमिका कसरी दिने भन्ने ध्यान गएको देखिँदैन, म यस्तो हुँ, उस्तो हुँ यिनीहरुलाई म यत्तिकै यत्तिकै झुलाएर राख्नसक्छु भन्ने ढङ्गले अगाडि बढेको जस्तो देखिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.