|
फाइल फोटो

पर्सा : कोरोना भाइरस संक्रमणबाट बारामा एक युवतीको मृत्यु भएको छ। शुक्रबार साँझ मृत्यु भएकी परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया शवनम खातुनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो।

उनको मृत्युअघि नै थ्रोट स्वाब संकलन गरिएको थियो। स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। विशेष कोभिड अस्पताल गण्डकमा बिहीबार भर्ना भएकी ती युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बुधबार वीरगन्जको नारायणी अस्पताल र पछि थप उपचारका लागि वीरगन्ज कै हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो। हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ आएपछि स्वाब संकलन गरी नारायणी प्रयोगशालामा पठाइएको र बिरामीलाई कोभिड अस्पताल गण्डकमा पठाइएको हेल्थ केयर हस्पिटलका डा. अवुलेश अन्सारीले बताए।

अस्पतालमा भर्ना गर्दा शवनमलाई डाइरिया, श्वासप्रस्वास र चक्कर लाग्ने लक्षणहरु देखिएका थिए। छातीको एक्सरे पनि राम्रो नदेखिएको चिकित्सकले बताएको छ। स्वास्थ्य अवस्था विग्रदै जाँदा स्वाब परीक्षणको रिपोर्ट नआई नै उनको मृत्यु भएको कोभिड अस्पताल गण्डकले जनाएको छ।

कोभिड अस्पताल गण्डकमा शुक्रबार नै वीरगन्ज महानगरपालिका–११ रानीघाटकी ८५ वर्षीया तप्सिया देवीको पनि कोरोनाका कारण मृत्यु भएको थियो। शुक्रबार साँझ मृत्यु भएकी युवतीसहित मुलुकभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने यो पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.