|

काठमाडौं:  गत बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सहसचिव राजेश्वर ज्ञवाली भद्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको सिलसिलामा पुल्चोक जाँदै थिए।

प्रमुख प्रशासनिक केन्द्र सि‌ंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकियो। ज्ञवालीका आँखा दैनिक दर्जनौ झण्डा वाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने सिंहदरबारको कुरुप गेटमा ठोक्किए।

‘गाडी मैले चलाइरहेको थिएँ। सचिवज्यू र म एउटै गाडीमा थियौं। प्रधानमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु दैनिक ओहोर–दोहोर गर्ने सिंहदरबारको मूल गेट नै झारले ढम्म ढाकेको र भुइँ भरि लेउ देखेपछि मैले सचिव ज्यूलाई देखाउँदै भने यहाँ सिंहदरबार प्रशासनको ध्यान नपुगे जस्तो छ। यो काठमाडौं महानगरपालिकाले नै सफा गर्दा हुन्न?’ सहसचिव ज्ञवालीले सचिव अर्यालसँग भएको सम्वाद स्मरण गराउँदै भने, ‘सचिवज्यू बाट सकारात्मक सन्देश प्राप्त भएपछि मैले नगर प्रहरी प्रमुख धनपति सापकोटालाई सचिवज्यू को आदेश सुनाए। त्यसपछि उहाँसहितको टोली खटिएर महानगरपालिकाले सरसफाइ गरेको हो।’

निर्देशन लगत्तै वातावरण व्यवस्थापन विभागका करीब ४० जनशक्तिले सिंहदरबारको मुल गेट अगाडिको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगल सफाइको काम गरे। सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइयो। जेटको प्रयोग गरेर पखाल्ने काम भयो। सिंहदरबारको मुल ढोका एकैछिनमा सुन्दर देखियो।

सामान्य भन्दा सामान्य कुरामा पनि कहिलेकाँही ध्यान नजाँदा सहरको सौन्दर्य बिग्रिने गरेको ज्ञवालीको भनाइ छ।

‘देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मुल ढोकामा पलाएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप नै फेरियो,’ उनले भने, ‘महानगरले केही समय अघि सिँहदरबार नजिकै माइतीघर मण्डलामा ‘रात्रीकालिन शहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि ‘एलइडी कलर पाइप लाइट’ जडान गरेको थियो। त्यसपछि त्यहाँको सन्ध्याकालिन दृश्य अहिले मनमोहक देखिएको छ।’

ज्ञवालीले सहरको सौन्दर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताए। ‘यो उदाहरण मात्रै हो,’ उनले भने, ‘काठमाडौंलाई विश्वस्तरीय ठूला सहजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा सूचीकृत स्थानहरुमा पनि सरसफाई अभियानलाई निरन्तरता दिनुपर्छ। हामी तयार छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.