कृषिमन्त्री भुसाललाई निम्तो

|

दाङ :  कृषिमा मिहिनेत र पसिना बगाएपछि जस्तोसुकै ठाउँमा उत्पादन हुँदोरहेछ भन्ने उदाहरण दाङको तुलसीपुर १८ विजौरीमा पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले गरेको ड्रागन खेतीले देखाएको छ। भनिन्छ मिहिनेतको फल मीठो हुन्छ।

राजनीतिलाई तिलाञ्जली दिँदै कृषि क्षेत्रमा लागेको विष्ट मगरलाई हिजो आज ड्रागन फल बेच्न भ्याई नभ्याई छ। हिजो आज  राति रानी भनेर चिनिने ड्रागन फल फलेको देख्दा घोराही तुलसीपुर आवतजावत गर्ने मानिसहरू एकछिन भए पनि रोकिएर  सेल्फी खिचिजान्छन्।

​ साच्चिकै भन्ने हो भने उनको ड्रागन फर्म कृषि पर्यटकका रुपमा चिनिन थालेको जस्तो देखिन्छ। पटक-पटक मन्त्री भइसकेका व्यक्तिको हातमा गैती, फरुवा, हसिया, कैँची हुन्छ। अचेल भने उनी ड्रागन बिक्री वितरणमै व्यस्त छन्। फर्ममा आएका व्यक्तिहरुलाई ड्रागन बारेमा जानकारी दिने, सेल्फी खिच्ने,फल टिप्न नै व्यस्त हुन्छन्। उनले आफूलाई पूर्वमन्त्री भन्दा एउटा किसानका रुपमा चिनाएका छन्।  पूर्व पर्यटन मन्त्री भईरहेका विष्ट मगरले कालो धान रोपेर कृषि क्षेत्रमा लागेका थिए।  अहिले ड्रागन खेती विस्तारमा व्यस्त छन् ।

केही गरौँ नयाँ गरौँ भन्ने सोच छ,  उनीसँग तर त्यसका लागि आवश्यक आर्थिक  र जमिन पाउन कठिन रहेको उनले बताए। ड्रागन खेती विस्तारका कारण २ वषदेखि कालो धानको व्यावसायिक रूपमा अघि बढाउन सकेका छैनन्। यो वर्ष विउका लागि मात्रै कालो धानको खेती गरेको भन्दै उनले आगामी वर्षदेखि ५/७ बिघा क्षेत्रफलमै कालो धानको व्यावसायिक रूपमै खेती गर्ने योजनामा रहेको बताए।

कालो धानको चामलको बजार मूल्य प्रतिकेजी ५ सय रहेको छ। भने ड्रागनको मूल्य  प्रतिकेजी सेतोको ७ सय र राताको ८ सय रहेको छ। उनले  जिल्लामा पहिलो पटक तुलसीपुर १८ मैरवामा ६४ कठ्ठा जमिन भाडामा लिएर  ड्रयागन फ्रुट  खेती गरेका थिए। फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नै नरहेको उनले बताए।

अहिले दिनहुँ दर्जनौँ मानिसहरू ड्रागन फल किन्न आउने गरेका छन्। बन्दाबन्दीका कारण फर्मभित्र मजदुरबाहेक अन्यलाई प्रवेश निषेध गरिएको थियो। पहिलो पटक ३ क्विन्टल बिक्रि भएको थियो भने दोस्रो पटक पनि डेढ क्विन्टल बिक्री भइसकेको उनले बताए।  ७  हजार विरुवामध्ये ३  हजार विरुवाले फल दिन सुरु गरिसकेका छन्।

एउटा विरुवाले १  वर्षमा ५ पटकसम्म फल दिने गर्दछ। विष्टमगर सहित ३ जनाको लगानीमा सुरु गरिएको फर्ममा कामअनुसार दैनिक ५ देखि २५ जनासम्म मजदुरले दैनिक ज्यालादारीमा काम गर्दै आएका छन्। १५ वर्षसम्म लिजमा ल्याएको जमिनबाट उत्पादन भएको ड्रागन फ्रुटबाट ५ वर्षमा लगानी उठाउने र १० वर्षसम्म फाइदा लिने योजना बनाएको उनले बताए। 

वार्षिक रुपमा जग्गा लिजमा ल्याए बापत् ३ लाख भाडा रहेको छ। फल मात्रै होइन ड्रागनका विरुवासमेत बिक्री वितरण भइरहेका छन्। रातो प्रजाति बिरुवाको मूल्य प्रति ओटा ३ सय रहेको छ, भने सेतोको प्रति ओटा मूल्य २ सय रहेको छ। हालसम्म ४ हजार ड्रयागनका बिरुवा बिक्री भइसकेका छन्, भने ८ हजार नर्सरीमै रहेका छन्।

विष्टमगरको ड्रागन फर्ममा नेता, संसद, जनप्रतिनिधि, किसान, विद्यार्थी, व्यापारी सबै पुगेकै हुन्छन्। सरकारले किसानलाई नगद अनुदान दिनुभन्दा संरचना, मल, बिउ, दिनुपर्ने उनको धारणा रहेको छ। कृषिमन्त्री घनश्याम भुसाललाई दाङमा ड्रागन खान निम्तोसमेत दिएका उनले किसान सरकारसँग होइन, सरकार किसानको घरदैलोसम्म पुग्न कृषिमन्त्री भुसाललाई सल्लाह सुझावसमेत दिएको उनले बताए।  

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.