|

जुम्ला : जुम्लामा पहिलो पटक र्‍याफ्टिङ परीक्षण सफल भएको छ। सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ।

पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ। अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्‍याफ्टिङ चलिरहेको छ।

र्‍याफ्टिङका लागि जुम्लामा दुई वटा बोट ल्याइएको छ। गो कर्णालीका सञ्चालक ललित महतले अफ सिजनमा पनि तिला नदीमा र्‍याफ्टिङ चलाउन उपयुक्त रहेको बताए। उनले भने, 'र्‍याफ्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ, एक दिनमा एक पटक र्‍याफ्टिङ चलिरहेको छ।' आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तिला नदीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। 

हिउँदको सिजनमा पानीको वहाव हेरेर सानो र्‍याफ्टिङ चलाउने तयारी भइरहेको संञ्चालक उनले बताए। महतका अनुसार छोटो प्याकेज अन्तर्गत दानसाँघु देखि श्रीढुस्कासम्मको प्याकेजका प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्नेछ। लामो प्याकेज दानसाँघुदेखि राँकासम्म तोकिएको छ। यहाँ सम्म प्रति व्यक्ति दुई हजार रुपैयाँ शुल्क लाग्नेछ। 'फुल डे प्याकेज' का लागि २० हजार रुपैयाँ तोकिएको छ।

र्‍याफ्टिङ पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने बताइएको छ। दानसाँघुबाट तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाइने व्यवस्था पनि मिलाइएको र्‍याफ्टिङ सञ्‍चालन गर्ने कम्पनीले जानकारी दिएको छ।

यहाँ आउने पर्यटकले मार्सी चामलको भात, तिलामा पाइने असला माछासमेत खान पाउने छन्। र्‍याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सी धान, स्याउ बगैंचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ।

गर्मीयाममा कर्णालीमा र चिसोमा भेरी नदीमा र्‍याफ्टिङ व्यवसाय  संचालन गरिने योजना रहेको संचालक महतले बताए। उनले भने, 'स्थानीय सरकार सँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदी, पातारासी र गुठीचौरमा समेत संचालन गर्ने योजना छ।'

जिल्ला प्रशासनले भने र्‍याफ्टिङ संञ्चालनको लागी अनुमति दिइसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.