निजामती छिरेदेखि सधैं सफलता

|

काठमाडौं : कालिदासले भनेका थिए, 'लक्ष्यमा पुग्‍न दृढ निश्‍चय मन र पहराबाट खसेको छहरालाई कसैले रोक्न सक्दैन।'  यो भनाई भर्खरै मात्र नेपाल सरकारको सहसचिवमा नाम निकाल्न सफल हेमराज तामाङको जीवनको लागू हुन्छ।

खरिदारदेखि सरकारी सेवामा प्रवेश गरेका उनले ३३ वर्षकै उमेरमा सहसचिवको यात्रा तय गरिसकेका छन्। जीवनमा ऊर्जाशील समयमै उनी सहसचिव भइसकेका छन्। निजामती सेवाको सबैभन्दा माथिल्लो पद हो सचिव। अब सचिव पदमा पुग्‍न केबल उनी एक खुड्किलो उक्किनु जरुरी छ। अन्यले निजामती सेवामा यात्रा थाल्ने उमेरमा उनी खरिदारबाट प्रवेश गरेर सहसचिव भइसकेका छन्।

निजामती सेवामा यसलाई एउटा विरलै सफलता मानिन्छ। सहसचिवमा नाम निकालेपछि पोस्टिङको प्रतिक्षामा रहेका उनी हाल गृह मन्त्रालयमा हाजिर भइरहेका छन्। उनी यो सफलताको पहिलो हकदार आफ्नो कर्मलाई मान्छन्। उनको जीवनमा एकै मन्त्र छ, 'आफूलाई विश्‍वास गर। विश्‍वास नै लक्ष्यमा पुग्‍ने सबैभन्दा बलियो हतियार हो।' 

भोजपुर सदरमुकाम नजिकैको पालुवामा जन्मिएका हुन् उनी। विद्यालय शिक्षा लिँदै गर्दा उनका लागि निजामती सेवा न रहर थियो न त लक्ष्य नै। तर, हरेक व्यक्तिको जीवनमा कोही त्यस्तो व्यक्तिको आगमन हुन्छ जसले ऊ सँग भएको क्षमता र प्रतिभाको मूल्यांकन गरिदिन्छ। अझ भनौं, जीवनको बाटो देखाउने अभिभावक बनिदिन्छ। हेमराजको जीवनलाई पनि नयाँ यात्रामा डोर्‍याउने काम भिनाजुले गरिदिएका थिए। अझ भनौं काँचो माटोलाई एउटा भाँडोको आकारमा ढाल्ने उनै भिनाजु थिए। भिनाजुले नै उनलाई निजामती सेवामा लाग्‍न प्रेरित गरिदिए।

उनी नोस्टालजिक हुँदै भन्छन्, 'सायद  मेरो भिनाजु (लालकुमार तामाङ) ले निजामती कर्मचारी हुनुपर्छ भनेर नभनिदिएको भए अहिले म शिक्षक भएर कुनै विद्यालयमा पढाइरहेको हुन्थेँ।'

उनी विगतमा फर्किन्छन्। अतीतलाई सम्झिँदै भन्छन् ,'भिनाजु त्यो समयमा आफैं निजामती सेवामा लाग्‍न भरपूर मिहिनेत गर्नुभयो। तर, जीवनमा आएका अनेक अप्ठ्यारा परिबन्दले गर्दा उहाँको सपना पूरा हुन सकेन। सायद उहाँले आफ्नो सपनाको सानो अंश मलाई सुम्पनुभयो।'

सानैदेखि पढाईमा अब्बल हेमराजलाई २०६६ को अन्त्यतिरको एक साँझमा भिनाजुले चुनौती दिए,'कलेज टप' गर्नु एउटा कुरा हो। तर तिमीलाई अर्को चुनौती, नेपाल सरकारको  जागिर  खाएर देखाऊ।' उनी पनि हार मान्‍ने स्वभावका थिएनन्, भिनाजुले झन् इख भरिदिए। भिनाजुले दिएको चुनौती उनले स्विकार गरे। २०६६ को अन्त्यबाट लोक सेवाको तयारीमा जुटे।

निजामती यात्रा

२०६६ सालमा  भोजपुर बहुमुखी क्याम्पसबाट बिएडको परीक्षाफल कुरिरहेका बेला उनी लोक सेवाको तयारीमा जुटिसकेका थिए। तीन महिना गहिरो अध्ययन गरेपछि ०६७ असार ५ गते खोटाङ सदरमुकाम दिक्तेलमा खरिदार र असार १२ गते सह-लेखापालको परीक्षा दिए। पहिलो प्रयासमै उनले दुवै पदमा नाम निकाले। त्यही वर्ष चैत ३ गते प्रशासन सेवातर्फ खरिदार बन्‍न सफल भए। भिनाजुको सपना पहिलो प्रयासमै पूरा गरिदिए। त्यसपश्चात उनी सरकारको सिन्दुर पहिरिएर पहिलो पटक सोलुखुम्बु कारागार कार्यलयमा सहायक जेलरका रुपमा पुगे। 

सोलुखुम्बु पुगेपछि पो उनले बल्ल आफैं सपना देख्‍न थाले। त्यहाँ आफूभन्दा माथिल्लो भूमिकामा रहेका नायब सुब्बाहरूको काम देखेर उनलाई थप हौसला मिल्यो। उनले मनमनै सोचे, 'का'स म पनि सुब्बा हुन पाए।' त्यहीँबाट माथिल्लो पदमा उक्लिने भोकले सतायो उनलाई। त्यो भोकलाई मेटाउन नायव सुब्बाको तयारी थाले। ८ महिना खरिदारको जागिरपछि उनले काठमाडौंबाट खुल्लातर्फ नायब सुब्बामा नाम निकाल्न सफल भए।

यो ६८ मंसिर ४ को कुरा थियो। सुब्बामा पदोन्‍नतिपछि उनी उद्योग मन्त्रालयमा हाजिर भए। खरिदारबाट सुब्बामा फड्को मारेपछि बल्ल उनको यात्रा सुरु भएको थियो। उनी त्यतिमै रोकिन तयार थिएनन्। निजामती सेवाको यात्रामा उनले एकपछि अर्को खुड्किलो चढ्ने संकल्प गरिसकेका थिएन। हरेक पदमा फड्को मार्दै गएपछि माथिल्लो पदले स्वागत गर्न आतुर भए जस्तो लाग्थ्यो उनलाई।

नायब सुब्बामा काम गर्दा गर्दै १० महिनापछि ०६९ असोज १७ गते नेपाल प्रशासन सेवातर्फको शाखा अधिकृतमा नाम निकाले। निजामती सेवाका तीनवटा पदमा उनी मुस्किलले १८ महिना बस्‍न भ्याए।

अधिकृत भएपछि उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागमा पोष्टिङ भए। त्यहाँ काम गर्दा गर्दै ०७३ माघ ६ मा आन्तरिकतर्फ उपसचिवको परीक्षामा सामेल भए। ०७४ साउन १९ गते उपसचिवमा उक्लिए। (आन्तरिक परीक्षा खुल्ला भन्दा अझ बढी उच्च प्रतिस्पर्धात्मक हुने मानिन्छ।) उपसचिवमा उनको पोष्टिङ संघीय मामिला तथा सामाजिक मन्त्रालयमा भयो। त्यहाँ ४ महिना काम गरेपछि  उपराष्ट्रपतिको कार्यालय लैनचौरमा गए।

उपराष्ट्रपतिको कार्यालयमा रहँदै गर्दा ०७६ सालमा खुला तर्फबाट सहसचिवको पदको परीक्षामा सामेल भए। त्यसबाट पनि उनलाई अपत्यारिलो सफलता हात लाग्यो। यही असार २६ गते लोक सेवाले सहसचिवका रुपमा उनलाई सिफारिस गर्‍यो। असार ३० गते उनी सहसचिव पदमा नियुक्त भए।

पाँचवटा परीक्षा

उनको यो यात्रालाई फर्केर हेर्ने हो भने ०६७ चैत्रबाट ०७७ साउनसम्म करिब ९ वर्षको अवधिमा खरिदार हुँदै सहसचिवसम्म पुग्दा ५ वटा परीक्षामा सामेल भएछन्। तर, एक पटक पनि असफल भएनन्। क्याम्पसमा जस्तै हरेक परीक्षामा उनले आफूलाई अब्बल सावित गरे। 

उनी आफ्नो जीवन यात्राको कथा सुनाउँदै गर्दा फरक प्रसंग निकाल्दै बोलिरहेका थिए। 'यो सफलता मेरो लक्ष्य र सपनासँग जोडिएकाले गौरव नलाग्‍ने कुरै भएन। यस क्षेत्रमा आउन चाहने आकांक्षीहरुका लागि मिहिनेत गरे हुँदो रहेछ भन्‍ने उदाहरण पनि हो। लोक सेवा पढ्ने भाइबहिनीहरूलाई फेल नभइ पनि अघि बढ्न सकिन्छ है भन्‍ने हौसला हुन सक्छ।' 

 निजामती सेवाका कमजोरी र अवसर

राज्यको शक्तिको अधिकार प्रयोग गर्दै जनताको हितको संरक्षण र प्रवर्द्धन गर्ने निजामती सेवाको मूल अभिष्ट हो। यस क्षेत्रमा सेवाको स्थायित्व छ। तल्लो तहदेखि मुख्य सचिवसम्म सामाजिक सम्मानसहित वृत्ति विकासको एउटा स्थायी मार्ग पनि छ। सामाजिक सुरक्षाको दृष्टिकोणले पनि उत्तिक्कै भरपर्दो लोभ लाग्दो छ।

त्यहीकारण हरेक शिक्षित नेपाली युवा जीवनमा एक पटक लोक सेवाको परीक्षामा सहभागी हुन्छन्। फरक यति हो कति सफल हुन्छन् कति असफल। तर, कर्मचारीहरु अधिकारसम्पन्‍न उनीहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा सरकारी कर्मचारी र यो प्रणालीसँग रोष पनि बढ्दो  छ। आखिर किन त?

'सरकारी कर्मचारीमा पनि कमजोरी छन्। जनताको अपेक्षा अनुरुप काम नभएको  स्वीकार गर्नैपर्छ। तर, हरेक क्षेत्रमा कमजोरी र विकृति हुन्छन्। तर, यहाँ भएका विकृति हटाएर निजामती सेवालाई अवसरका रुपमा ग्रहण गर्ने प्रण हरेकले गर्न जरुरी छ', तामाङ भन्छन्, 'निजामती कर्मचारीले जन सेवकको रुपमा जून संवेदनशील र जिम्मेवार पूर्ण भूमिकामा बसेर जनताको सेवा दिनुपर्ने हो, त्यो अपेक्षा पूरा गर्न नसकेको हो। सबै नराम्रा छैनन्। तर, थोरैले बिगार गरिदिएपछि सबैमाथि दोष थोपर्ने गरिएको छ।'

आफू जिम्मेवार पदमा पुगेको हुनाले सकेको सुधार गर्ने अठोट आफ्नो रहेको उनले बताए। 'विकृतिलाई हटाउँदै जाने हो। जनताले चाहेको युगीन चाहना र आकांक्षा हामीले प्रभावकारी रुपमा  प्रस्तुत गर्न हाम्रो जिम्मेवारी हो', उनी भन्छन्, ' नेपाल सरकारको प्रथम श्रेणीको जिम्मेवार अधिकृतको हैसियतले सकारात्मक कदम चाल्ने अठोट मेरो हुनेछ।'

पारिवारिक अवस्था

हेमराजले केबल एक समुदाय वा जाति विशेषको मात्रै प्रतिनिधित्व गर्दैनन्। उनी हरेक जनताका लागि सेवक पनि हुन्। तर पनि पृष्ठभूमिमा फर्किदै गर्दा उनी तामाङ समुदायमा जन्मिए।  नेपालको निजामती सेवा क्षेत्रमा यो समुदायबाट प्रतिनिधित्व गर्ने ज्यादै थोरै रहेका छन्।

वि.सं. १९१० को मुलुकी ऐनमा राज्यले तामाङ समुदायलाई हेर्ने दृष्टिकोण नै गलत थियो भनि रहनुपरेन। त्यो ऐनमा यो समुदायलाई छोइछिटो लाग्ने मासिने मतवालीको रुपमा राखिएको छ। हिजोको वर्ण व्यवस्थालाई हेर्ने हो भने ब्राह्मण र खस आर्यको स्थान माथिल्लो तहमा छ। राज्यको हरेक नीतिगत निर्णय लिने स्थानमा पनि उनीहरुकै जनघनत्व बढी रहेको छ।  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले अनुसूची १ मा सूचीकृत गरेका ५९ वटा जनजातिमध्ये एक हो तामाङ। 

त्यहाँ पनि ५ वर्गीकरणमध्ये  अति सीमान्तकृत जाति अन्तर्गतको पर्ने समुदायका व्यक्ति हुन उनी। आर्थिक, सामाजिक रुपमा राज्यबाट अपहेलित वर्ग हो उनको। समग्र नेपालमा तामाङको जनसंख्या पाँचौ स्थानमा छ। तर राज्यको संवैधानिक अंगमा यो समुदायको प्रतिनिधित्व ज्यादै न्यून देखिन्छ। अहिले पनि यो समुदाय सीमान्तकृत गनिन्छ। थोरैले मात्रै राम्रो शिक्षा लिन पाएका छन्। नी यही समुदायबाट प्रतिनिधित्व गर्छन्।

राज्यको नजरमा पनि पिछडिएको यो वर्गले आफ्ना सन्तानलाई हेर्ने नजर बराबरी छ। मातृसत्तात्मक संस्कृति यो समुदायको विशेषता हो। यस समुदायले छोरीलाई आमासमान इज्जत गरिदिन्छ। उनका बुबाआमा सामान्य साक्षर थिए। ८ सन्तानमध्ये उनी एक्ला छोरा हुन्। किसानी जिन्दगी बिताए बुबाआमा भन्थे, 'हामीले पढ्न नसके पनि तिमीहरूले पढ्नुपर्छ।' पढेर के बन्‍ने सपनाको बोझ आमाबुबाले सन्तानमाथि सन्तानमाथि कहिले लादेनन्। उनी भन्छन्, 'हामी आठ सन्तानलाई  बुबाआमाले कहिले विभेद गर्नु भएन्। उहाँहरुको क्षमताले सकेअनुसार सबैलाई सरकारी विद्यालयमा पढाउनु भयो।'

 

विद्यालयमा औसत, क्याम्पस टप

स्कुल तहमा उनी सम्भवत: मुस्किलले दोस्रोसम्म बने। विद्यालय छिचोलेपछि भने उनको अध्ययनले वास्तविक लय समात्यो। अर्थात उनले आफ्नो क्षमता खुट्याउन सके। क्याम्पस पुगेपछि उनले आफूलाई अब्बल साबित गरिरहे।

उनले आधारभूत शिक्षा गाउँकै पञ्चकन्या प्रावि पालुवामा पूरा गरे। त्यसपछि कक्षा १० सम्म पढ्न उनले दैनिक एक घण्टा हिँडेर टक्सार धाउनुपर्यो। स्कुल तहको पढाई नराम्रो हुँदै गएपछि भिनाजुले उनलाई औँला उठाउन थाले। कक्षा ६ देखि १० सम्म यशोधरा मावि टक्सारमा पढे। टक्सारबाट विद्यालय शिक्षा पूरा गरेपछि उनले भोजपुर क्याम्पसमा नेपाली विषय लिएर उच्च शिक्षा सुरु गरे। त्यसपछि त्यहीबाट उनले शिक्षक बन्‍ने सपनासहित बिएड पढ्न थाले। बिएडमा उनले क्याम्पस टप गरिदिए। 

नेपालीको शिक्षक बन्‍ने धोको

नेपालको शिक्षा पद्दति हेर्ने हो भने अधिकांश नेपाली शिक्षक खस आर्य समुदायका छन्।  हेमराज पनि नेपाली विषयको शिक्षक हुन चाहन्थे। यो हिसाबले उनको लक्ष्य शिक्षक बन्‍ने थियो। आइए पूरा गर्दा उनी क्याम्पसमा सेकेन्ड टपर बनेका थिए। बिएडमा भने भोजपुर क्याम्पसमा टप गरिदिए। यसको मुख्य कारण थियो नेपाली शिक्षक हुने सपना। यदि भिनाजुले उनलाई निजामती कर्मचारी बन्‍ने सपना नदेखाएको भए अहिले उनी नेपाली विषयको शिक्षक बनेर कहीँ पढाइरहेका हुन्थे। 'नेपाली शिक्षक हुँदा अरु भन्दा फरक पनि हुने लागेथ्यो मलाई। तामाङ केटो नेपाली पढाउने गुरु बनेछ भन्छन् भन्‍ने मनमा थियो,' उनले सुनाए।

किताब लेखन

उनले निजामती सेवामा आउनेहरूका लागि प्रशस्त किताब लेखेका छन्। करिब एक दर्जन पुस्तक उनको नामका छन्। अधिकृत भएर उद्योग मन्त्रालयमा पोष्टिङ हुँदादेखि लोक सेवाका विद्यार्थीलाई पढाउन थाले। यो पनि आफ्नो  समुदायको तर्फबाट नयाँ काम जस्तो पनि लाग्यो उनलाई। 

अलिकति फरक गर्ने र फरक सोच्‍ने उनी आफ्नो समुदायलाई पढाउन पनि सक्ने रहेछ भन्‍ने सन्देश दिन चाहन्थे। त्यहीकारण पढाउन थालेको उनी बताउँछन्। २०७० देखि नै उनले पुस्तक लेखन सुरु गरे। सुरुमा अधिकृत तहको पुस्तक सार्वजनिक गरे। त्यसपछि सुब्बा, खरिदारका किताब निकाले। आयल निगम, खाद्य संस्थान, नेपाल बैँकसहित एक दर्जन किताब उनको नाममा बजारमा छन्। 'आफूसँग भएको ज्ञान र अनुभव साझा गर्‍यो भने नवआगन्तुकलाई सहज हुने ठानेर किताब लेखनमा लागेको हुँ', उनले सुनाए। 

आफूलाई विश्‍वास गर्नु, कसैले हराउन सक्दैन

नेपाली, राजनीति शास्त्र र जन प्रशासनमा स्‍नातकोत्तर उनी हरेक मान्छे कर्म गर्न जन्मेको हो झैँ लाग्‍ने बताउँछन्।  उनले पाएको सफलताको रहस्य नै इमानदारी र आत्मविश्‍वास रहेको बताउँछन्। 'तिमी जे सोच्छौ। कालान्तरमा त्यही बन्छौ। मिहिनेत जारी राख। म सफल बन्छु भनेर लागिरह्यो भने असफल बन्‍ने कारण केही छैन', उनी भन्छन्, 'हामी  हरेक कामको सुरुवात दोधारे प्रवृत्तिबाट गर्छौं। सफल हुन्छु भनेर लागिपरेपछि सफल भइन्छ भइन्छ। जब आफूलाई विश्‍वास गरिन्छ तब संसारको कुनै पनि शक्तिले तपाईंलाई रोक्न सक्दैन।' उनले अन्त्यमा गौतम बुद्धको एक भनाई सापटी लिदैं भने, 'व्हाट यु थिंक, यु विकम।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.