माथिबाटै प्रतिक्रिया आउ‍ला

|

काठमाडौं : भारतले कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीहरुको प्रवेशलाई अवैध भन्दै रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएपछि यसबारे गृहमन्त्रालयलाई जानकारी गराएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले धार्चुलाबाट आएको पत्रबारे आफूले कुनै प्रतिक्रिया पठाउनुपर्ने अवस्था नरहेको भन्दै यसबारे केन्द्रमा जानकारी गराएको बताएका छन्।

नेपालको संविधानमै आफ्नो भूमिमा आफ्ना नागरिकलाई आवतजावतमा कुनै रोकतोक नहुने भनिएकाले यसबारे उसलाई कुनै प्रतिक्रिया दिनुपर्ने नदेखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ। उनले भने, ‘उनीहरुले आफ्नो भूमि भन्लान, हाम्रो भूमि अतिक्रमण भएको छ, त्यतातिर लुकिछिपी जाने गरेको, को को गएका छन्, हामीलाई जानकारी पाऊँ भनेर सोधेको छ तर नेपालको संविधानले आफ्नो देश, आफ्नो भूमिभित्र जहाँ पनि आवागमन गर्न पाउने नेपाली नागरिकको संवैधानिक हकमै छ। त्यसकारण उसलाई हामीले केही बताइरहनु पर्ने आवश्यक भएन।’

यद्यपी आफ्नै भूमिमा पनि नियम कानुन विरोधी गतिविधि गर्ने आफ्नै नागरिक भएपनि कारवाही गर्न सकिने भएकाले त्यसबारे कसैलाई केही जानकारी गराइरहनु नपर्ने उनले प्रष्ट पारे । ‘हामीले आफ्नो भनिसकेको लिम्पियाधुरा, कालापानीको मुद्दा राष्ट्रिय स्तरको विषय भएकाले यसबारे केन्द्रमा जानकारी गराएका छौं, उनले अगाडी थपे, ‘धार्चुलाबाट आएको चिठी पठाउने मेरो समकक्षी पनि होईन, म भन्दा तलको मान्छेले पठाएको छ, त्यसैले मैले त्यसलाई लेख्ने हो की होईन ? मैले पत्र लेखेपछि कि जान नपाउने, या जान पाउने भन्नुपर्यो, त्यसकारण राष्ट्रिय समस्या छ, यस विषयमा माथिबाट भन्ने होला, यहाँ मैले भन्दा हाम्रो तर्फबाट हिँडडुलमा कुनै रोकतोक भएको छैन ।’

यसबारेमा स्थानीय नागरिकहरूसँग बुझ्दा पनि अहिलेसम्म आवतजावतमा कुनै रोकतोक नभएको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । स्थानीय स्तरमा सीमा प्रहरी चौकी,  सशस्त्रको ३ वटा विओपी स्थापना भईसकेको र थप विओपी स्थापना हुने क्रममा रहेको भन्दै उनले त्यसपछि थप सुरक्षा व्यवस्था राम्रो हुने बताए । स्थानीयवासिन्दा अहिले लकडाउनका कारण मर्कामा परेको भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले उनीहरुलाई सरकारले थप सुविधाको खाँचो औंल्याएका छन् ।

स्थानीयलाई स्वास्थ्य शिविर, आयआर्जन लगायतका सन्दर्भमा थप सेवा सुविधा दिने तर्फ प्रशासनले ध्यान केन्द्रीत गरेको उनले   बताए। भारतको धार्चुला प्रशासनका उप अनिल कुमार शुक्लाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा भारतीय भूमि रहेको दाबीसहित ती क्षेत्रमा लुकिछिपी हुने नेपालीको प्रवेश रोक्न भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.