|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अनुदान लिने सबै अस्पतालहरूमा आमा सुरक्षा कार्यक्रम अनिवार्य लागु गर्नुपर्ने मापदण्ड बनाएको छ। साउन ९ मा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले अनुदान लिने सबै अस्पताललाई आमा सुरक्षा कार्यक्रम लागु गर्न निर्देशन दिएको हो।

सरकारबाट अनुदान लिने, तर नेपाल सरकारको कार्यक्रम लागु नगरेको पाइएको भन्दै मन्त्रालयले सरकारी तथा सरकारबाट अनुदान लिएर संचालन भएका अस्पतालहरूले अनिवार्य रुपमा आमा सुरक्षा कार्यक्रम लागु गर्न परिपत्र गरेको हो।

मन्त्रालयले सरकारी अनुदान लिने संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको हो।

नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम सरकारका प्रतिष्ठानहरूले संचालन गर्न मानिरहेका थिएनन्। प्रतिष्ठानहरूले आमा सुरक्षा कार्यक्रम अन्तर्गत दिइने सोधभर्ना कम भएको भन्दै कार्यक्रम संचालन गर्न अटेर गरिरहेका थिए। नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत एक जनालाई सुत्केरी हुँदा जटिल शल्यक्रियाको ७ हजार रुपैयाँसम्म सोध भर्नाका रुपमा दिने गरेको छ।

तर, नेपाल सरकारले नै संचालन गरेको स्वास्थ्य बीमाअन्तर्गत शल्यक्रियामार्फत प्रसुती गराएमा सोध भर्नाका रुपमा १८ हजार रुपयाँ पाउने गरेका छन्। एकै प्रयोजनको सेवा प्रदान गर्दा फरक शुल्क भएपछि कतिपय स्वास्थ्य संस्थाहरू नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमलाई हटाएर बीमा कार्यक्रमतर्फ आकर्षित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.