|

काठमाडौं : महानगरीय प्रहरी वृत्त, दरबार मार्गको टोली मंगलबार बिहान ९ बजे कमलालादीस्थित कृष्ण पाउरोटी चोकमा सदाझैँ चेकजाँचका क्रममा थिए। त्यहीबेला एउटा स्कोरपियो गाडी हुइँकिदै आयो।

प्रहरीले चेक गर्न खोज्यो। तर, बा ६ च ५५१९ को गाडी गति बढाएर हुइँकियाे। त्यसपछि प्रहरीले उक्त गाडीको पिछा गर्‍यो। पिछा गर्दै जाँदा गाडीले प्रहरी आएको चाल पाएपछि कमलादीको नबिल बैंक अगाडि सेतो रङको कपडाको झोला सडकमा फ्याँकेर गाडी भाग्यो।

प्रहरीले झोला खानतलासी गर्‍यो। ‘झोला खानतलासी गर्दा १५ किलोको धातु भेटियो,’महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार बरामद गरेको धातुबारे पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै भने, ‘बरामद गरिएपछि सुनचाँदी व्यवसायी संघमा सबै सुन हो कि होइन भनेर प्रमाणित गर्न लग्यौँ। तर, सबै सुन नभएको प्रमाणित भयो।’

उनका अनुसार १५ केजी धातुमा आधा केजी मात्रै सुन भएको पुष्टि भयो। आजको मूल्यअनुसार उक्त सुन ४२ लाख ९ हजार पाँच पर्न आउँछ। प्रहरीले बरामद गरेको पहेँलो धातुमा १ केजी लेखिएको ८ थान,२५० जिम लेखिएको २६ थान र ५०० जिम लेखिएको १ थान छ।

त्यस्तैगरी चाइना लेखिएको प्रहरीले २ थान पेस्तोल पनि बरामद गरेको छ। तर, पेस्तोलमा भने गोली छैन। लकडाउनसँगै विभिन्न ठगीहरु बढ्दै गएपछि प्रहरी चेकजाँचमा कडाई गरेको भन्दै प्रहरी चेकिङमै ती धातु बरामद गर्न सफल भएको उनले बताए।

गाडी र व्यक्तिको खोजतलास गर्दै प्रहरी

प्रहरीले धातु र हतियार बरामद गरे पनि स्कोरपियो गाडी र व्यक्ति भने अझै पक्राउ परेका छैनन्। एसएसपी ज्ञवालीले  खोजतलास जारी राखेको जानकारी दिए। ‘गाडीले सेतो झोला फालेर फरार भयो,’उनले भने,‘गाडी नम्बर चाहिँ नोट गर्न सक्यौँ। अहिले प्रहरी खटेर खोजतलास गर्दै आएका छौँ। गाडीमा अझै सुन हुन सक्छ। छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने छौँ।’ यो घटनाकाे प्रकृति हेर्दा ठगी मात्रै नभई यस्तै कारोबार गर्ने गिरोह भएको उनको अनुमान छ। 

अर्का अभियुक्त पनि समातिए 

आजै प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका एक व्यक्ति पक्राउ गरी सार्वजनिक गरेको छ। खोजतलासको क्रममा गोर्खा अजिरकोट गाउँपालिकाको हिमालय मावि सिम्जुङ नजिक रहेको नारी विकास महिला समूहको क्वारेन्टाइनमा  बसेको अवस्थामा गत ११ गते गोर्खे भन्ने गोरखाका २२ वर्षीय सुरज नेपालीलाई फेला पारी पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाइएको उनले बताए।

ज्ञवालीका अनुसार  सुरज गत जेठ २ गते काठमाडौं टोखा नगरपालिका वडा २ खेगल पाखास्थित तिलोक खोलामा हालसम्म नामथर नखुलेका अन्दाजी २५ वर्षका कर्तव्य ज्यान मुद्दा लागेका पुरुष फरार भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.