|

दैलेख : कोरोनाका बिरामीको उपचार गर्ने भन्दै प्रदेश सांसद अम्बरबहादुर थापाको निर्वाचन क्षेत्र विकास कोसमार्फत ७१ लाखमा बनाइएको आइसोलेसन चुहिन थालेको छ। 

आपतकाल देखाउँदै २१ दिनमा नारायण नगरपालिका ९ तर्ताङ्गमा निर्माण गरिएको आइसोलेसन चुहिन थालेपछि जनप्रतिनिधिले समेत व्यवस्थापन राम्रो नभएको भन्दै गुनासो गरेका हुन्। त्यहीँ बसेका एक जनप्रतिनिधिले अस्पताल चुहिने र खानेपानी शौचालयको व्यवस्था राम्रो नभएको बताए।

आइसोलेसन अगाडिको बरन्डा उक्किसकेको र पानी चुहिएपछि रातभर ओत लागेर कुनामा बस्नुपर्ने अवस्था रहेको त्यहाँ बसेका बिरामीले गुनासो गरेका छन्। गुनासो आउनेबित्तिकै सम्बन्धित निकायलाई तत्काल खबर गरेर काम गर्ने निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।

नगरपालिका प्रमुख रत्नबहादुर खड्काले गुनासो आएपछि सांसदसहित आफू पनि गएर समस्या समाधान गर्न भनेको र केही ठाउँमा चुहिएको देखिएकाले निर्माण कम्पनीलाई तत्काल बनाउन आग्रह गरेको बताए। 

११ वटा स्थानीय तह रहेको दैलेखमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ९ सय १९ पुगेको छ । उक्त ५० बेडको आइसोलेसनमा १४ जनालाई राखेर उपचार हुँदै आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रशाद रेग्मीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.