|

दाङ : दाङका १० मध्ये ८ वटा स्थानीय तहका १४ स्थानमा क्वारेन्टाइनहरु सञ्चालनमा छन्। जिल्ला आपतकालीन केन्द्रका अनुसार जिल्लाभर २ सय ३ वटा क्वारेन्टाइन छन्। 

भारत र तेस्रो मुलुकबाट जिल्लामा मानिसहरु आउन थालेपछि जिल्ला आपतकालीन केन्द्रको बैठकले प्रत्येक पालिकामा २ सय बेडका क्वारेन्टाइन अनिवार्य बनाउने निर्णय भएको थियो। सोही अनुरुप दाङमा १० हजार २ सय बेडका क्वारेन्टाइन स्थापना गरिएको थियो। ती क्वारेन्टाइनमा झण्डै ६ हजार जनालाई राखिएको थियो।

तर पछिल्लो समयमा राप्ती गाउँपालिकामा ४ वटा, तुलसीपुर उपमहानगरपालिकामा ३ स्थान, लमही नगरपालिकामा २ स्थान, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाको १/१ स्थानमा क्वारेन्टाइनमा मात्र मानिस बसेका छन्। 

ती क्वारेन्टाइनमा २ सय १७ जना छन्। उनीहरुमध्ये २३ जना महिला र १ सय ९४ जना पुरुष हुन्। जिल्लाका १० स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै तुलसीपुरमा १ सय २६ जना रहेका छन्। 

जसमा १ सय ६ जना पुरुष र २० जना महिला रहेका छन्। राजपुरमा  २५ जना पुरुष, राप्तीमा १० जना पुरुप र १ जना महिला गरी ११ जना, दंगीशरणमा र बबईमा ७/७ जना पुरुष, लमहीमा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना र शान्तिनगरमा ३ जना पुरुषहरु क्वारेन्टाइनमा बस्दै आएका छन्।  उनीहरु भारत लगायत तेश्रो मुलुकबाट घर फर्किएकाहरु हुन्। जिल्लामा कोरोना संक्रमित ६ सय ४४ जनामध्ये ६ सय १० जना उपचारपछि घर फर्किएका छन्। 

कोरोना विशेष अस्पताल बेलझुण्डी, देउखुरी आइसोलेसन सेन्टर लालमटिया, घोराही आइसोलेसन सेन्टर लगायत ठाउँबाट सोमबारसम्म ६ सय १० संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन्। 

सरकारले एक पटक पोजेटिभ रिपोर्ट आएर लक्षण नदेखिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेपछि दोस्रो पटक परीक्षणबिनै घर पठाउन निर्देशिका जारी गरेसँगै क्वारेन्टाइन र आइसोलेसन खाली हुँदै आएका हुन्। उपचारपछि घर फर्किनेमा सबैभन्दा धेरै घोराहीका २ सय ६२ जना रहेका छन्।  त्यसैगरी बंगलाचुलीका १ सय ५७ जना, तुलसीपुरका ४९ जना, लमहीका २४ जना, गढवा गाउँपालिका ३५ जना, राजपुरका १६ जना, राप्तीका १९ जना रहेका छन्। 

दंगीशरणका ३ जना, बबईका २० जना र शान्तिगरका १५ जना कोरोना संक्रमित उपचारपछि घर फर्किका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ। 

संक्रमितहरुमध्ये दाङमा अब ३६ जनाको उपचार भइरहेको छ। केन्द्रका अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा १८ जना र देउखुरी आइसोलेसन सेन्टर लालमटियामा १८ जनाको उपचार भइरहेको छ। एक जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट उपचारका लागि बुटवल रिफर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.