|

हेटौंडा : बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडि मकवानपुर जिल्ला नापी कार्यालय छ। उक्त कार्यालय अन्यभन्दा बढी भीडभाड हुने नै गर्छ।  

समूह नै बनाएर गफमा व्यस्त 

लामो समयको लकडाउनका कारण कार्यायल भर्खरै खुलेको हो। आन्तरिक यातायात र बजारको कारण पनि अहिले कार्यालयमा भीडभाड बढेको छ। तर कार्यालयमा भीडभाड बढेपछि कर्मचारीहरुले कार्यालयको ढोका नै थुनेर नियतवश अनावश्यक रुपमा  ढिलो सेवा दिँदै आएका छन्। 

सेवाग्राहीको ठूलो भीड छ। केही कर्मचारी भने गफिँदै थिए। मंगलबार ढोका बन्द गरेर भित्र गफिँदै गरेका कर्मचारीले सेवाग्राहीलाई आदि कर्मचारी कोरोनाका कारण आउन नसकेको भन्दै टारिरहेका थिए। 

कार्यालयका अधिकांश कोठामा कर्मचारी थिएन्न, भएका समेत केहीले काम गरिरहेका थिए भने केहीले आफ्नो क्याबिन नै छाडेर सहकर्मीको कोठामा गएर गफ गरिरहेका थिए। 
बाहिरबाट ढोका लगाएका कारण भित्रका कोठाहरुमा डिस्टर्ब नहुने ढंगले कर्मचारीहरुले झुण्ड नै बनाएर गफमा व्यस्त देखिन्थे। केही कर्मचारी सबैभन्दा धेरै भीड हुने राजस्व शाखामै आएर गफ गरिरहेका थिए।  

कर्मचारीलाई जोखिम नहोस् भनेर ढोका थुनेको : कार्यालय 

यो विषयमा बुझ्दा कार्यालयका नापी अधिकृत पुरुषोत्तम नगरकोटीले कोरोना जोखिम रहेकोले ढोका नलाउँदा कोरोना लाग्ने डर भएको बताए। उनले भने, ‘ढोका थुनेर काम गर्नुको विकल्प छैन, हाम्रा साथीहरुलाई पनि कोरोना लाग्ने डर छ त्यसकारण हामीले ढोका लगाएर काम गरेका हौं।’ नगरकोटीले कार्यालय प्रमुख काठमाडौंमा गएका र अन्य धेरै कर्मचारी अपुग भएकोले कर्मचारी संख्या कम देखिएको बताए। 

कर्मचारीहरु कोरोना त्रासका कारण ढोका थुनेर बसे पनि बाहिर आएका सेवाग्राही भने कोरोना त्रासको उच्च जोखिममा थिए। सेवाग्राहीले झ्यालबाट सेवा लिनुपर्ने हुँदा उनीहरुमा कोरोनाको झनै जोखिम देखिएको थियो। 

मंगलबार जग्गाको नक्सा निकाल्न पुगेका भीमफेदीका सफल शर्माले रिसाउँदै भने, ‘बिहान १० बजे नै कार्यालय आउँदा पनि २ घण्टामा हुने कामलाई दिनभर लाउँछन्, त्यही पनि काम हुँदैन।’  उनले गुनासो गदै भने, ‘हाम्रो समस्या कर्मचारी बुझ्दैनन् बरु लेखापढी गर्नेले कित्ता नम्बर भनेको भरमा एकछिनमा नक्सा निस्किन्छ, हामी दिनभर झरीमा लाइन बस्नुपर्छ।’ 

नापी कार्यालयका कर्मचारीले लेखापढी व्यवसायी गर्नेसँग रकम लिँदै दलाल शैलीमा काम गरिरहेको खुलेआम देखिएको थियो। लेखापढी गर्नेहरुले प्राविधिक, नक्सा फाँट र राजस्व फाँटमा कमिसन दिँदै फोन गरेर कित्ता नम्बर दिने र नक्सा निकाल्ने काम गरिरहेका थिए। 

नापी कार्यालय मकवानपुरमा भएको बेथितिबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले आफूलाई यो विषयमा जानकारी नभएको र तुरुन्तै अनुगमन गर्ने बताए। 
दूरी कायम गरेर सेवा दिन मिल्ने र कर्मचारीलाई पनि सुरक्षा चाहिने भए पनि सेवाग्राहीको व्यवस्थापन कार्यालय परिसरभित्र कार्यालयले गर्नुपर्ने उनले बताए। 

सेवाग्राहीको संकटको समयमा सबैले आफ्नो ढंगले सुरक्षित भएर सेवा आदान प्रदान गर्नुपर्ने बताए। उनले कर्मचारीको अनुशासनको विषयमा पनि जानकारी लिने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.