|

भद्रपुर (झापा) : भारतसँग जोडिएको खुला सीमा नाकाबाट तस्करी बढेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट झापामा कार्यरत दुईजना सशस्त्र प्रहरी निरीक्षकलाई तानिएको छ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाका सशस्त्र प्रहरी निरीक्षक लोकबहादुर तामाङ र बोर्डर आउट पोस्ट पृथ्वीनगरका कमल थानीलाई मंगलबार त्यहाँबाट तानिएको हो।

सशस्त्र प्रहरी निरीक्षक तामाङलाई सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी पठाइएको छ भने थानीलाई सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी स्रोतले भन्यो,  ‘तस्करी गतिविधिमा संलग्न र सङ्गठनको विपरीत काम गरेको भन्दै दुवै इन्स्पेक्टरलाई डिआइजी दाहालको आदेशमा तानिएको हो।’ दुवै सशस्त्र प्रहरी निरीक्षकलाई तानेपछि केचनामा सशस्त्र प्रहरी निरीक्षक सियाराम चौधरी र पृथ्वीनगरमा सशस्त्र प्रहरी निरीक्षक चेतन बाराकोटीलाई खटाइएको छ। 

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका केही समयअघि आएका डिआइजी दाहालले मंगलबार झापाका गण तथा बिओपीहरुको स्थलगत अनुगमन गरेका थिए। अनुगमनको क्रममै उनीहरूलाई त्यहाँबाट तानिएको जनाइएको छ।

झापाका सीमा नाकाबाट पछिल्लो समयमा तस्करी गतिविधि मौलाएको छ। दक्षिणी झापासहित पूर्वी नाका काँकडभिट्टाबाट अहिले पनि तस्करी भइरहेको छ। कोरोना त्रासको बाबजुद सीमा नाकामा खटिएका स्थानीय प्रहरीको संलग्नतामा तस्करी भइरहेको स्थानीयको दाबी छ।

काँकडभिट्टा नाकामा तस्करी मौलाएसँगै जिल्ला प्रहरी कार्यालय झापा  इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले आइतबार राति मेचीनगर नगरपालिका–४ प्रसाद गौँडास्थित नेपाल भारतको दशगजा क्षेत्रबाट ४७ बोरा सुक्खा सुपारी बरामद गरेको छ। भारत लैजान तयारी गरिएको सुपारी विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो। एक हजार ४७० किलो परिमाणको उक्त सुपारी करिब ४ लाख ४१ हजार रुपैयाँ मूल्य पर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.