विचार

मानव बेचविखनको स्वरूप फेरियो, समस्या फेरिएन

साउन १४, २०७७

    कोभिड १९को महामारीसँगै  मानव बेचबिखन पनि झन् बढेको छ। कोरोना महामारीले गर्दा मानव बेचबिखनको जोखिम उच्च हुँदै गएको छ।  अहिलेको अवस्थामा  मानव बेचबिखन जोखिमबाट हामी कसरी जोगिन सकिन्छ भन्नेबारेमा केही प्रकाश पार्न खोजेकी छु। त्रिपक्षीयतर्फबाट यसको विश्लेषण गर्ने जमर्को गरेकी छु। आशा छ  मानव बेचबिखनको भित्री मर्मलाई स्पष्ट दर्शाउनेछ भन्ने विश्वास छ।   

    म सुनिता दनुवार १४ वर्षको उमेरमा बेचबिखनमा परेकी थिएँ र  ६ महिनापछि १९९६ सालमा उद्धार भएको थिए। ममाथि भएको अन्याय र अत्याचारको विरुद्धमा निरन्तर संर्घष गर्ने अठोट र संकल्प गरेकी थिए जसको फलस्वरूप म मानव बेचबिखन विरुद्धमा विगत २४ वर्षदेखि क्रियाशील छु। म आफू पनि बेचबिखनमा परेको कारण जब देशमा महामारी र आर्थिक रुपमा संकटको सिर्जना हुन्छ त्यति बेलामा मानव बेचबिखनको उच्च जोखिम बढ्नुका साथै अन्य प्रकारका आपराधिक  घटनाहरूसमेत घट्ने गरेका गरेका छन्। 

    कोरोनाले विश्वनै आज आतंकित  भएको छ र नेपालमा पनि कयौंको मृत्यु , हजारौँ जना संक्रमित भएका छन्। चार   महिना भन्दा बढी समय लकडाउन भयो।

    कोरोना महामारीको समयमा आर्थिक रुपमा सिंगो मुलुक नै संकटमा परेको बेला विशेष गरी पछाडि  पारिएका वर्ग (दलित, जनजाति, अपाङगता भएका व्यक्ति, महिला र मानव बेचबिखनबाट प्रभावितहरूमा बढी यसको प्रभावमा परेका छन्। जब मुलुकमा संकट पर्छ त्यसको फाइदा मानव बेचबिखन गर्ने दलालहरूले उठाउने गरेका छन्।

    उदाहरणका लागि २०७२ वैशाख १२ गते नेपालमा महा भूकम्प गएको बेला धेरै व्यक्तिहरूको बस्ने बास र खाने गाँससमेत खोसिएको थियो उक्त बेला नुवाकोट जिल्ला घर भएकी र स्कुलमा शिक्षिकाको रुपमा काम गर्ने एक जना शिक्षिकालाई दलालले के म तिम्रो साथी बन्न सक्छु भन्ने रेडियो कार्यक्रमबाट उनको नम्बर लिएर दिन दिनै फोन गरेर फसाएको थियो र तिमीलाई म बिहे गरेर सुरक्षित रुपमा राख्छु भन्दै बिहे गरी लगेर दिल्लीको कोठीमा बेचेको थियो।

    कोरोनाको बन्दाबन्दीमा उदयपुर घर भएका र हाल घरानमा बसोबास गर्ने दुई किशारीहरूलाई ललाइ फकाइ गरी आमाहरूलाई समेत फकाएर तिम्रो छोरीलाई राम्रो काम लगाइदिने भन्दै लाहान ल्याउन खोज्दा बाटोमा सशस्त्र प्रहरी बलले उद्धार गरेको समाचार आएको थियो। यस्तो संकटमा मानव बेचबिखन मात्र नभई अन्य आपराधिक घटनाहरू समेत घटेको हामीले देखेका छौं।

    जस्तै रुकुममा जातीय  विभेदका कारण ६ जना युवाहरूले ज्यान गुमाउन पुगे, त्यसैगरी हेटौँडामा सम्पत्तिको लोभ र ससुराले एक बुहारीलाई बलात्कार गर्न प्रयास गरिसकेपछि उक्त घटनालाई दबाउन ससुरा, सासू र नन्द मिलेर लोहोरोले किचेर मारियो र बुहारीले आत्महत्या गरेको हो भनियो तर प्रहरीको अनुसन्धानमा त्यो आत्महत्या नभई मारिएको भन्ने खुलासा भयो, धादिङमा आफ्नै बाबुद्वारा ९ वर्ष कि बालिकालाई बलात्कार गरियो, सुर्खेतमा ४ वर्षकी बालिकालाई २४ वर्षे युवकद्धारा बलात्कार गरियो, धनगढीको क्वारेन्टिनमा बसेको महिलामाथि त्यही काम गर्ने चिकित्सकलगायत अन्य काम गर्ने सहकर्मीले मिलेर बलात्कारसमेत गरे। 

    मानव बेचबिखन भन्नेबित्तिकै  मानिसहरूको बुझाइमा महिला मात्र बेचबिखनमा पर्ने, अशक्षित, गरिबी, जनजाति, दलितहरू र त्यो पनि भारतका कोठीहरूमा मात्र बेचिन्छन् भन्ने धारणा रहेको छ। अहिले सिंगो मानव जाति नै बेचबिखन हुने गरेको छ। जुनसुकै वर्ग, जातिको मानिसहरू बेचबिखन हुने गरेका छन् र विश्वको जुनसुकै कुनामा पनि बेचबिखन हुने गरेको छ।

    यही बन्दाबन्दीका बेला धेरैले आत्महत्यासमेत गरे । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ मा फरक धर्मका हिन्दू र मुसलमान महिला र पुरुषले एउटै फाँसीमा आत्महत्यासमेत गरे। महिलामाथि हुने घरेलु हिंसाहरू पनि बढेका छन् भने अर्कोतर्फ महिलाहरूको मानसिक अबस्थामा समेत समस्या उत्पन्न भएको छ।

    कोरोना र बन्दाबन्दीका कारण धेरै को रोजगारी गुमेको छ, व्यवसाय गरेर खानेहरूको व्यवसाय ठप्प भएको छ सबै मानिसहरू आर्थिक संकटको सामना गर्नु परेको अवस्थामा दलालहरूले बढी चलखेल गर्ने मौका पाएका छन्।

    त्यसैले उक्त जोखिमलाई न्यूनीकरण गर्नको लागि कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा सुनिता फाउण्डेशनको आयोजनामा ९ वटै वार्डमा कोबिड १९ को महामारीमा मानव बेचबिखनको उच्च जोखिमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ र सामाजिक संजालको सही सदुपयोग कसरी गर्ने भन्ने विषयमा त्यहाँ रहेका वडास्तरीय महिला सञ्जालहरूका सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो।

    मानव बेचबिखन विदेशमा मात्र नभई नेपालमा पनि आन्तरिक बेचबिखन भएको छ र पचास हजारको भन्दा बढी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरी र किशोरहरूको अवस्था कस्तो छ? कसले उनीहरूको लागत राखेको छ? किन कि यो क्षेत्र भनेको आन्तरिक बेचबिखन मात्र नभएर बाह्रय बेचबिखनको लागि पछिल्लो समयमा ट्रान्जिटसमेत बनेको छ। यो क्षेत्रमा धेरै संघ संस्थाले काम पनि गरेका छन् तर आज उनीहरू कुन अवस्थामा रहेका छन् भन्ने कुरा त्यो क्षेत्रमा काम गर्नेहरूलाई थाहा छ त?

    यो कोरोनाको कारण नेपाललगायत विश्वका थुप्रै देशहरूमा नेपाली कामका लागि गएका छन् र हाल कोरोनाका कारण काम नभएर विचल्लीमा परिरहेका छन् अब उनीहरूको अवस्था कस्तो होला? यस विषयमा नेपाल सरकारले खै संवेदनशीलता?

    यदि यो समयलाई राज्य र विभिन्न संघ संस्थाले मध्यनजर नगर्ने हो भने नेपालमा मानव बेचबिखन, मानव तस्करी र मानव दासताको अवस्था भनेको भयावह हुन सक्छ। आर्थिक संकटको कारण धेरै महिला तथा किशोरीहरूले आफू र आफ्नालाई बचाउनको लागि यौन व्यापारमा लाग्न बाध्य भएका छन् र उनीहरू कोरोना बढी जोखिममा रहेका छन् यसबारे खै कसैले चासो देखाएको मैले पाएको छैन। 

    मानव बेचबिखन भन्नेबित्तिकै  मानिसहरूको बुझाइमा महिला मात्र बेचबिखनमा पर्ने, अशक्षित, गरिबी, जनजाति, दलितहरू र त्यो पनि भारतका कोठीहरूमा मात्र बेचिन्छन् भन्ने धारणा रहेको छ। अहिले सिंगो मानव जाति नै बेचबिखन हुने गरेको छ। जुनसुकै वर्ग, जातिको मानिसहरू बेचबिखन हुने गरेका छन् र विश्वको जुनसुकै कुनामा पनि बेचबिखन हुने गरेको छ।

    वैदेशिक रोजगारको नाममा, आन्तरिक बेचबिखन, आमा बनाउने नाममा, उच्चशिक्षाको नाममा, विवाहको लागि, माग्ने बनाउन, अङग झिकेर बेच्ने,घरेलु कामको लागिसमेत बेचबिखन भएको छ। पहिला नेपाल स्रोत देशको रूपमा परिचित थियो भने अहिले स्रोत र गन्तव्यको रूपमा विकसित भएको छ।

    मानव बेचखिनलाई अन्त्य गर्न नेपाल सरकारले कानुन तथा नीतिहरू निर्माण नगरेको होइन, नेपाल सरकारको सहयोगमा सामाजिक संघ संस्थाहरूले पुनर्स्थापना केन्द्रहरू समेत सञ्चालन गरेका  छन् भने मानव बेचबिखन विरुद्धमा १० वर्षीय  राष्ट्रिय कार्ययोजनासमेत बनेको छ।

    कानुन तथा नीति नियमहरूको बनेका छन्, १९९६ सालमा हामीलाई छापा मारेर निकालेको थियो त्यो बेला नेपाल सरकारले हामीलाई नेपाल ल्याउन मानेको थिएन भने त्यसको तुलनामा नेपाल सरकारबाट धेरै राम्रो कामहरू भएका छन्  तर यो अझै प्राप्त र प्रभावकारी भएको पाइँदैन।

     अहिले पनि मानव बेचबिखनको मुद्धालाई नेपाल सरकार र विभिन्न राजनीतिक पार्टीहरूले प्रथामिकतामा राखेर काम गरेको पाइँदैन जस्ले गर्दा बेचबिखन प्रभावितहरूको मनोबल घटेको र दलालहरूको मनोबल बढेको पाइन्छ। विभिन्न संघ संस्थाहरूले आ-आफ्नै तरिकाबाट मानव बेचबिखन विरुद्धमा काम गरेका छन्, बेचबिखनमा परेकालाई उद्धार, स्वदेश फिर्ति र पुनर्स्थापना गरेका छन् साथै विभिन्न सचेतना कार्यक्रमहरू संचालन गरेका छन्। विभिन्न संजालहरूको निर्माण गरी नेपाल सरकारसँग पैरवी तथा वकालत समेत गरेका छन्।

    संघ संस्थाहरूले धेरै राम्रा काम नगरेका हैनन्, सबैले आ आफ्ना ढंगले  गरेका छन् सबै संघ संस्थाहरू एकजुट भएर काम गर्नुपर्छ भन्ने मान्यता छैन एक अर्काबीचमा अस्वस्थ प्रतिस्‍पर्धा गर्ने गरेका छन् त्यस कारण पनि मानव बेचबिखनको अन्त्य भएको छैन बरु यसको स्वरूपहरूमा परिवर्तन भएको छ। त्यसैगरी जो बेचबिखन प्रभावितहरू छन् उनीहरू अहिले पनि खुलेर अगाडि आउन सकेका छैनन्। कारण समाजको डर र आफ्नो सुरक्षा। प्रभाबितहरूको अहिले पनि न्यायमा पहुँच पुग्न सकेको छैन, क्षतिपूर्ति भनेको जस्तो पाउन सकेका छैनन्।

    बेचबिखन प्रभावितहरू अधिकार मात्र खोज्ने तर आफ्नो कर्तव्य निर्वाह नगर्ने  र आफ्नो क्षमतासमेत बढाउन नचाहने, केही प्रभावितहरूले अर्काको श्रीमानसँग बिहे गर्ने, अर्काको श्रीमानसँग माया गर्ने र बिहे नगरी सँगै बस्ने र  बाहिर अरूसँग सम्बन्ध राख्ने अनि श्रीमानसँग पारापाचुके गर्ने गरेका छन् त्यसकारणले सबै प्रभावितहरूलाई समाजले एउटै नजरबाट हेर्ने गरेको छ।

    साथै प्रभावित–प्रभावित बीचमा पनि धेरै अस्वस्थ प्रतिस्‍पर्धा हुने र अलि बुझेको र नेतृत्वमा रहेकोलाई कसरी हुन्छ तल झार्न पाए हुने थियो भन्ने सोचका कारण प्रभावितहरू नेतृत्वमा आउन सकेका छैनन्।

    प्रभावित–प्रभावितहरूको बिचमा अस्वस्थ प्रतिस्पर्धाका  कारण अरू गैर-प्रभावितहरूले फाइदासमेत लिने र प्रभावितहरूलाई एकजुट हुन नदिने, दोहोरो भूमिका खेल्ने गरेका छन् र त्यसको बारेमा के सही के गलत हो भन्ने कुरा छुटाउन सक्ने क्षमता प्रभावितहरूमा विकास भइसकेको अवस्था छैन।

    अहिलेको आवश्यकता भनेको पछाडि पारिएको वर्ग र युवाहरूलाई कसरी नेपालमा स्वरोजगार बनाउन सकिन्छ भन्ने नै हो। यो विषयमा नेपाल सरकारले सोचेर योजना ल्याउन जरुरी छ भने यो क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले पनि समयअनुसार आफ्नो रणनीतिक  योजनामा समेत परिवर्तन गर्न आवश्यक रहेको छ। नेपालमा भएको मानव बेचबिखन विरुद्धको कानुनमा समेत परिवर्तन गर्न आवश्यक छ।

    कृषिप्रधान हाम्रो देशमा आज खाद्यान्नको  लागि हामी अन्य मुलुकहरूसँग भर परेका छौं। किन अब नेपालमा आधुनिक र विषादीरहित कृषिलाई प्रथामिकतामा नराख्‍ने? यदि पछाडि पारिएको वर्ग र युवाहरूलाई सीप तथा केहि सहुलियत दिएर कृषिसम्बन्धी उनीहरूलाई उत्प्रेरणा दिन सकेको खण्डमा मानव बेचबिखन, मानव तस्करी तथा मानव दासताको अन्त्य हुन्छ।

    नेपाल सरकारले पनि यो विषयमा गम्भीर भएर सोच्न अत्यन्त जरुरी छ किन अहिले लोकतन्त्र आएको छ र तीन तहका सरकार रहेको छ जुन स्थानीय, प्रदेश र संघीय यो तीनवटै सरकारले नेपालका नागरिक र विशेष गरी युवाहरूको स्वरोजगारको बारेमा ध्यान दिन आवश्यक रहेको छ। 

सुनिता दनुवार

लेखक मानव बेचबिखनविद्द्धको अभिकर्ता तथा सुनिता दनुवार फाउण्डेसनकी अध्यक्ष हुन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]