'अब धनुकटाको प्रतिनिधि थापा' : कांग्रेस, 'केही फरक पर्दैन' : नेकपा

|

धनकुटा : नेपालमा पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापालाई 'संकटको पञ्‍च' भनिन्थ्यो। राजा महेन्द्रले वि‌.सं. २०१७ पुस २२ गतेदेखि लागू गरेको पञ्चायती व्यवस्था जब-जब संकटमा पर्थ्यो, तब-तब उनै सूर्यबहादुर थापा संकटमोचक बनिदिन्थे र राजतन्त्रलाई भरथेग गरिदिन्थे। त्यसैले त उनी राजा महेन्द्रदेखि वीरेन्द्र हुँदै अन्तिम राजा ज्ञानेन्द्रको कार्यकालमा पनि नेपालको प्रधानमन्त्री बनिरहे। 

उनै सूर्यबहादुर थापाले २०४६ सालको राजनीतिक परिवर्तनसँगै खोलेको राप्रपा टुट्दै-जुट्दै ३ अध्यक्ष भएको राप्रपामा रुपान्तरण भएको छ। थापाका पुत्र एवम्‌ राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का महामन्त्री सुनिलबहादुर थापा र उनका साथीहरू भने मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। थापासहित ३१ जना केन्द्रीय तथा जिल्ला तहका राप्रपाका नेताहरूले राप्रपाबाट संयुक्त राजीनामा दिएका थिए।

कांग्रेस प्रवेश गरेका उनीहरूलाई सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले स्वागत गरेका थिए। देउवाले थापालाई सहमहामन्त्री दिने पक्का र अरुलाई पार्टीमा उचित स्थान दिने बचन दिएका छन्। एकता भएपछि राप्रपाले राजतन्त्रको लाइन लिएकोमा थापाले असहमति जनाउँदै आएका थिए। 

के भन्छन सुनिल थापा ?

राप्रपाबाट असन्तुष्ट भएर कांग्रेसमा गएका थापाले पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले जुन उद्देश्यले पार्टी स्थापना गरेको भएपनि अहिलेको नेतृत्वले त्यो सबै भुलेको भएर राप्रपा परित्याग गरेको बताएका छन्। उनले उदार प्रजातन्त्रवादीहरू एक ठाउँमा हुनुपर्छ भन्ने आफ्ना पिताको भनाइअनुसार आफू कांग्रेसमा प्रवेश गरेको बताए। परिवर्तनलाई आत्मासात गर्दै बृहत प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा हुनुपर्छ भन्ने राप्रपाले बिर्सेको बताए।

थापाले एकतापछि सूर्यबहादुर थापालगायत स्वर्गीय अग्रज नेताहरूलाई बिर्सेको बताउँदै राप्रपा नेपालको संविधानविपरित लागेको बताए। 'त्यसो भए कांग्रेसले सूर्यबहादुर थापाको सपना पूरा गर्छ त ?' भन्ने प्रश्नमा उनले सूर्यबहादुर थापाले नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति एक हुनुपर्छ भनेको कारण आफू कांग्रेस प्रवेश गरेको र पहिलो पार्टी किन नबनाउने भनेर लागिपरेको बताए। 

धनकुटामा कांग्रेस​ जाग्ला ?

विगत ७० वर्षको इतिहास हेर्दा धनकुटा कांग्रेसले केन्द्रमा उपस्थिति जनाउन सकेको थिएन। तर, पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा तथा सुनील बहादुर थापा पार्टी प्रवेश गरेसँगै धनकुटा कांग्रेसले केन्द्रमा प्रतिनिधित्व पाएको र जिल्लाको राजनीतिमा परिवर्तन हुने चर्चा चल्न थालेको छ।

२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेस धनकुटामा विजयी भए पनि २०४६ सालको परिवर्तनपछि अहिलेसम्म विजयी भएको छैन। यो अवस्थामा पूर्वप्रधानमन्त्रीका छोरा पूर्वमन्त्री थापा लगायत नेताहरू कांग्रेसमा प्रवेश गरेपछि कांग्रेसमा उत्साह पलाउनु स्वाभाविक पनि हो।

थापाको राजनैतिक जीवन त्यति लामो नभए पनि राजनीतिमा प्रवेश गरेको लगत्तै दोस्रो संविधान सभाको निर्वाचनमा विजयी भएका थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु समय-सापेक्ष रहेको धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रा.डा. गोपाल बहादुर भट्टराईले बताए। उनले थापाले चालेको राजनैतिक कदम समयको माग भएको बताए। 

सुनिल थापा कांग्रेसमा प्रवेश गर्नुले धनकुटा कांग्रेसलाई एउटा राम्रो अवसर भएको नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द सन्तोषी राईले बताए। लामो राजनैतिक अनुभव भएका व्यक्ति कांग्रेसमा आउनु सुखद रहेको उनको दाबी छ। 

थापाले बाटो बिराए : असन्तुष्ट समूह

पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा सुनील बहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्दा धनकुटाबाट राप्रपा शुन्य भएको घोषणा गरेका छन। तर, त्यसको केही दिन नबित्दै थापालाई चुनौती दिँदै सबै राप्रपा एक भएको असन्तुष्ट पक्षले बताएका छन्।

जिल्लामा निकै प्रभावशाली मानिने कुमारबहादुर थापासहितका नेताहरूले पूर्वप्रधानमन्त्री स्व. थापाले देखाएको मार्गमा हिंड्ने भन्दै सुनील थापालाई चुनौती दिएका हुन्‌। कुमारबहादुर थापा स्व. सूर्यबहादुर थापाका भतिजा हुन। सुनील बहादुर थापाको कार्यशैली मन नपरेको भन्दै पार्टीबाट अलग भई गत वर्षदेखि नै उनीसहित २१ जना स्वतन्त्र रुपमा बसेका थिए। 

तर, मंगलबार सुनील बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेसँगै उनसहितका राप्रपाका सबै नेताहरूले राप्रपालाई एक बनाएर लैजाने प्रतिबद्धता जनाएका छन। पूर्व केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कुमारबहादुर थापासहित वर्तमान केन्द्रिय सदस्य हरिप्रसाद घिमिरे, राप्रपा जिल्ला कार्य समिति धनकुटाका उपाध्यक्ष टिका प्रसाद घिमिरे, क्षेत्रीय अध्यक्षहरू धर्म ध्वज राई र श्याम गुरुङसहितका ३२ जना नेताहरूले संयुक्त विज्ञप्ती जारी गर्दै राप्रपाका संस्थापक नेताको रुपमा स्व. थापाले देखाएको बाटोमा अभिछिन्न क्रियाशील रहने प्रतिवद्धता जनाएका छन।

‘पूर्वप्रधानमन्त्री स्व. थापाको राजनीतिक विरासतलाई जोगाइराख्नु हाम्रो कर्तव्य हो, स्व. थापालाई पाँच पटक प्रधानमन्त्री बनाउने धनकुटाका जनता र कार्यकर्ता यसकारण राप्रपामै एक ढिक्का थियौं, छौं र रहिरहने छौं’ विज्ञप्तीमा भनिएको छ, ‘धनकुटाका जनतालाई टुहुरो हुन दिन्न भन्ने स्व. थापाको वाणीलाई हामीले भुलेका छैनौं।’

आफू बलियो रहेको दुवै पक्षको दाबी

सुनील थापा नेपाली कांग्रेसमा प्रवेश गरेपछि राप्रपा धनकुटामा खैलाबैला भएको छ। थापा कांग्रेस प्रवेश गरेसँगै उनीनिकट मानिने राप्रपा संयुक्तका धनकुटा अध्यक्ष लक्ष्मी सुब्बाले एक विज्ञप्ती जारी गरी धनकुटामा पार्टी विघटन भएको बताएका थिए।

सुब्बाले धनकुटा कांग्रेसले 'कमजोर भइयो, सहयोग गर्नुपर्‍यो' भनेपछि कांग्रेसमा जाने तयारीमा रहेको बताए। उनले प्रत्येक वडाबाट सबै साथीले 'पूर्वमन्त्री ज्यू त जानुभयो, अब हामी पनि जाउँ' भनेपछि विज्ञप्ती निकालेको बताएका छन्।

जिल्लामा कुन पद कसलाई दिने भन्नेबारे केन्द्रमा छलफल भइरहेको बताए। असन्तुष्ट समूहले भने सुनिल थापाले बाबुले देखाएको बाटो भुलेको भन्दै राप्रपा धनकुटा जीवितै रहेको बताएका छन्। राप्रपा धनकुटाका उपाध्यक्ष भइसकेका टीका प्रसाद घिमिरेले सुनिलको पक्षमा बढीमा ३५ देखि ४० प्रतिशत धनकुटाका कार्यकर्ता लागेपनि ६० देखि ६५ प्रतिशत कार्यकर्ता राप्रपामै रहने दाबी गरेका छन।

को हुन सुनिल थापा ?

सुनिल थापाका पिता सूर्यबहादुर थापा नेपाल धेरैपटक प्रधानमन्त्री हुनेहरू मध्ये एक थिए‌। उनी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए।

धनकुटा जिल्लाको तत्कालिन मुगा गाविसमा जन्मेका उनी काठमाडौंको मालीगाउँमा बस्थे। 'संकटको पञ्‍च' का उपमाले चिनिने थापा २०२२, २०३५, २०३८, २०५४ र २०५९ सालमा गरी पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थिए। २०४६ को परिवर्तनपछि थापाले राप्रपा स्थापना गरेका थिए। २०७२ बैशाख २ गते थापाको निधन भएको थियो। 

उनै पूर्वप्रधानमन्त्री थापाको छोराको रुपमा २०१६ सालमा धनकुटाको तत्कालीन मुगा गाविस वडा नम्बर ४ (हालको पाख्रीबास नगरपालिका) मा जन्मिएका सुनिलबहादुर थापा हुन्। दुई पटक मन्त्री भइसकेका थापाले नेपाल, भारत र अमेरिकाबाट स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन। २०३२ सालमा पद्मोदय मावि काठमाडौंबाट एसएलसी उत्तीर्ण भएका थापाले २०३५ सरस्वती बहुमुखी क्याम्पस काठमाडौंबाट प्रवीणता प्रमाणपत्र तह, २०३७ गुजरात विश्वविद्यालय भारतबाट स्नातक तह र २०४० क्यालिफोर्निया अमेरिकाबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। २०३८ सालदेखि २०७० सालसम्म देश तथा विदेशका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा जागिरेको रुपमा काम गरेका थापाले स्वदेश तथा विदेशमै २०३५ देखि २०४५ सम्म विभिन्न संघसंस्थाको नेतृत्व पनि गरेका थिए।

२०६९ सालमा राष्ट्रिय जनशक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थापा सुरुमै राष्ट्रिय जनशक्ति पार्टीको केन्द्रीय सदस्य भएका थिए। बाबु सूर्यबहादुरलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेका थापा आफूले बाबुबाट नै राजनीतिक प्रेरणा पाएको बताउँछन्। उनी २०७० मा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता पछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी २०७१ सालमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए। २०७३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा लागेका थापा मनोनित महामन्त्री भएका थिए। २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा उनी उद्योगमन्त्री बनेका थिए। संघीयतापछि २०७४ को संसदीय निर्वाचनमा धनकुटाबाट प्रतिनिधि सदस्यमा चुनाव लडेका थापा वाम गठबन्धनका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।​

नेकपालाई धक्का लाग्ला?

धनकुटालाई कम्युनिष्टहरूको किल्ला मानिँदै आएको छ। गएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कम्युनिष्टले वर्चस्व कायम गरेका थिए। प्रतिनिधिसभा चुनावमा पूर्वमन्त्री थापा वाम गठबन्धनका राजेन्द्र राईसँग १० हजार ४५९ मतअन्तरले पराजित भएका थिए। त्यसो त उनी पनि तत्कालिन राप्रपा, संघीय समाजवादी र कांग्रेस मिलेर बनेको लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका थिए।

त्यति मात्रै नभएर २०७४ मै भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमाले धनकुटाका सबै स्थानीय तहका प्रमुख उपप्रमुख र अधिकांश वडा विजयी भएको थियो। त्यो बेला कतिपय स्थानीय तहमा कांग्रेस र राप्रपाबीच पनि चुनावी प्रतिष्पर्धा भएको थियो।

थापा कांग्रेसमा प्रवेश गरेपछि मूलत: धनकुटा कांग्रेसलाई राम्रै बल पुगेको अनुमान गर्ने पनि धेरै भेटिन्छन्। नेपाली कांग्रेस धनकुटा सचिव विजय सन्तोषी राईले सुनील बहादुर थापाको कांग्रेसमा प्रवेशसँगै धनकुटा कांग्रेसले केन्द्रमा प्रतिनिधित्व गरेको र अहिलेसम्म भएको इतिहास तोड्न सहज भएको बताए। 

पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश गरेसँगै अवसर मात्र नभई चुनौतीहरू पनि त्यत्तिकै देख्न सकिन्छ। लामो समयसम्म पाटीमा दु:ख गर्नेहरू ओझेलमा पर्ने कतिपय कार्यकर्ताको भनाइ छ। कांग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म गुट-उपगुट भइरहँदा र घात-अन्तर्घात जस्तो अनुशासनहीन कार्यको व्यवस्थापन तल्लो स्तरसम्म नगर्ने हो भने थापाको कांग्रेस प्रवेशको अर्थ नहुने स्वयं कांग्रेस जनको भनाइ छ।

यता, नेकपा धनकुटा सचिव ऋषिराम ढुंगानाले धनकुटामा नेकपा साङ्गठानिक रुपमा मजबुद भएकाले सुनिल थापा कतै प्रवेश गर्नु र कतै छोड्नुले कुनै महत्व नराख्ने बताए। उनले गएको चुनावमा थापा र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेपनि१० हजारभन्दा बढी मतले आफूहरूले चुनाव जितेको स्मरण गर्दै नेकपालाई असर गर्ने भए त्यही बेला गर्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.