एकजना बेपत्ता, अर्का एकको जीवितै उद्धार

|
कैलालीमा आएको बाढीले डुबानमा परेको बस्ती । तस्बिर : तेज बोहोरा

काठमाडौं :  अविरल वर्षापछिको पहिरोका कारण पछिल्लो २४ घण्टामा देशभर १३ जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। कालिकोटमा एक जना वेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन्।

त्यसैगरी कैलालीको कैलाली गाउँपालिका-७ वसन्ता भन्‍ने ठाउँमा डुबानमा परेर ३ जना र बाजुरा बुढीगंगा गाउँपालिका १ मा पहिरोमा परी २ जना घाइते भएका हुन्। राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख मुरारी वस्तीले कालिकोटमा १० जना, दाङमा २ जना र दोलखामा एक जनाको मृत्यु भएको बताए। 

त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा गत असार ३१ गते खसेको पहिरोमा परि बेपत्ता रहेका २ जनाको शव पनि फेला परेको उनले बताए। वस्तीका अनुसार कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जना र वडा नम्बर ४ मा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ।

आज साँझ एक बालकको शव फेला परेपछि त्यहाँ मृतकको संख्या १० पुगेको हो। वडा नम्बर ७ मा मृत्यु हुनेमा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६३ वर्षीया नैना, २३ वर्षीया बुहारी उषा, १९ वर्षीया छोरी बिमला, १० वर्षीया नातिनी चना, नातिहरू आठ वर्षका राम र ६ वर्षका चरित्र बुढा रहेका छन्। गएराति पहिरोमा पुरिएका उनीहरुको शव प्रहरी र गाउँलेले आज दिउँसो निकालेका हुन्।

यस्तै त्यही गाउँपालिकाकै वडा नम्बर ४ मा पहिरोले घर पुरिँदा ६५ वर्षीय बाले बुढा र उनकी श्रीमती ६४ वर्षीय मनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो। 

दाङमा पनि पहिरो

दाङको बंगलाचुली–५ साकिनेमा पहिरोमा पुरिएर २४ बर्षीय बाटुली नेपाली र उनकी २ वर्षकी छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए।

पहिरोले घरको आधा भाग भत्किएको छ। घरमा ५ जना बस्ने भएतापनि आमा छोरी सुतेको कोठा मात्रै पहिरो भत्किँदा उनीहरुको मृत्यु भएको अध्यक्ष वलीले बताए। बंगलाचुली गाउँपालिकामा धेरै वस्ती पहिरोको उच्च जोखिम रहेको अध्यक्ष वलीले जानकारी दिए।

यसैगरी दोलखाको बिगु गाउँपालिका सिंगटीमा माथिबाट खसेको ढुङ्गाका कारण घरको गाह्रो भत्किँदा ३५ बर्षको रेणु थामीको मृत्यु भएको हो। यस्तै, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख मुरारी वस्तीले आज बिहान २८ ओटा राजमार्ग अवरुद्ध रहेकोमा आज साँझसम्म १३ ओटा पुनः सञ्चालनमा आएको बताए।

तीमध्ये ५ ओटा राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको उनले बताए। यस्तै बाँकी १५ ओटा सडक पुर्णरुपमा अवरुद्ध रहेको उनले बताए। राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख मुरारी वस्तीले आज बाढीका कारण कैलाली, पर्सा र बर्दियामा बाढीले क्षति पुर्‍याएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.