|

सोलुखुम्बु : गत आर्थिक वर्षभित्र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या करिब ५० प्रतिशत घटेको छ। आर्थिक वर्ष २०७५/०७६ मा ५७ हजार २ सय ९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेकोमा आर्थिक वर्ष २०७६/०७७ मा ३२ हजार ६३७ जनाले मात्र भ्रमण गरेका छन्। 

निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३१ हजार ५३५ जना विदेशी र १ हजार १०२ जना नेपाली पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। जसमा १ हजार १६७ जना सार्क राष्ट्रका हुन्‌।

भ्रमण वर्ष २०२० को सूरुवाती चरणमै कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठुलो असर परेको र सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्या दोब्बरले घटेको टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले बताए।

यसैबीच, सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७६/०७७ मा साढे ९ करोड रुपैयाँँभन्दा बढी राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट ९ करोड ५७ लाख ६० हजार ९ सय ९४ रुपैयाँँ राजस्व संकलन भएको हो।

वन रोयल्टीबाट ९ करोड ४२ लाख ४३ हजार ९ सय ६१, अन्य प्रशासनिक सेवा शुल्कबाट ४ लाख ८ हजार, वन क्षेत्रको रोयल्टीबाट १० लाख ९२ हजार ८०२ रुपैयाँँ राजस्व सकंलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार १६ हजार २३० रुपैयाँ बेरुजू असुली गरिएको छ। 

निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाण्डौंको भृकुटी मण्डपमा काउण्टर स्थापना गरेर राजश्व संकलन गरिरहेको छ। कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट ८ करोड ५६ लाख ११ हजार ९ सय ९४ र काठमाण्डौको भृकुटी मण्डपस्थित काउन्टरबाट १ करोड १४ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट १ हजार ५०० रुपैयाँ शुल्क लिँदै आएको छ। त्यस्तै, एकपटक हेलिकोप्टर अवतरण गरेवापत अवतरण शुल्क ३ हजार रुपैयाँ लिने गरिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिए। 

वि.सं. २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। पूर्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरू रहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.