|
फाइल फोटो

हेटौंडा :  गत साता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको विकट क्षेत्र राक्सिराङ जाने बाटोमा पर्ने जोखिमयुक्त क्षेत्र परेवाभीर नबन्ने बताए।

पौडेलले यसो भन्दै गर्दा एकैसाथ ३२ वटा मोटरेबल पुल उद्घाटन गर्दै थिए। त्यतिखेर उनले भनेका थिए, 'मिडिया र केहि सांसदले जतिखेर पनि परेवाभीर मात्रै भनिरहेता पनि प्राविधिक रुपमा त्यहाँबाट बाटो जान सक्दैन।'

आफैंले नेतृत्व गरेको प्रदेशको राजधानी रहेको जिल्लास्थित एक स्थानमा विकासको काम नै अघि बढाउन नसक्ने अभिव्यक्ति दिएपछि सो क्षेत्रमा जनप्रतिनिधिहरूले मुख्यमन्त्री पौडेलको चर्को आलोचना गरेका छन्‌।​

हामी एकजुट छौं : जनप्रतिनिधि 

मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाललाई दर्जनौँपटक लिखित र मौखिक ध्यानाकर्षण गराउँदापनि ​राक्सिराङ-५ स्थित परेवाभीर सडक  उपेक्षामा परेपछि निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडा तहसम्मका जनप्रतिनिधिहरू एकजुट भएका छन्।

संघीय सांसद विरोध खतिवडाको संयोजनमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरू, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरू सहितको बैठकले यस्तो निस्कर्ष निकालेको हो। हाल मनहरीबाट परेवाभीर हुँदै राक्सिराङतर्फबाट मलेखु जोड्ने र कैलाशतर्फबाट आदमघाट जोड्ने सडक निर्माण गर्दा बीचमा पर्ने परेवाभीर खण्ड निर्माणको विकल्प नरहेको जनप्रतिनिधिहरूले ठहर गरेका छन्‌।

गत साता मनहरीस्थित मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिम क्षेत्र समितिको सभा हलमा भएको छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले भनेजस्तो परेवाभीर खण्डमा सडक निर्माणको कुनै विकल्प नरहेको निस्कर्ष निकालिएको हो। बैठकमा राक्सिराङ गाउँपालिकाले गरेको डिपिआरबारे प्राविधिक छलफल भएको थियो।

छलफलमा ठूला-ठूला रड र कंक्रिट पर्खालहरू निर्माण गरी ४ मिटर बलियो बाटो निर्माण गर्न सकिने प्राविधिकहरूको अध्ययन प्रतिवेदनबारे राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिएका थिए।

सो खण्डमा सडक बनाउन ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। नदीको किनारबाटै उकास लगाई सडक बनाउन प्राविधिकहरू तयार रहेको जानकारी अध्यक्ष मल्लले दिएपछि संघीय सांसद विरोध खतिवडाले कहिँकतैबाट जोहो गरेर भएपनि बाटो निर्माण कार्य थाल्न मल्ललाई सुझाव दिएका थिए।

छलफलमा कैलाश गाउँपालिकाको कालिकाटार हुँदै भार्ता, रतुवा र परेवाभीर तथा त्यहाँबाट चैनपुर हुँदै मनहरीसम्म आउने सडक विस्तार गर्न सके दुवै गाउँपालिका केन्द्रसम्म पुग्न सहज हुने बताइएको छ। परेवाभीर सडक निर्माणमा पहलकदमी लिइदिन सांसद खतिवडालाई जनप्रतिनिधिहरूले आग्रह गरेका छन्‌। सांसद ओमबहादुर ग्लानले कोही कसैप्रति टिप्पणी गरिरहनु भन्दापनि परेवाभीर सडक निर्माणमै केन्द्रित हुनु जरुरी रहेको बताएका थिए।

'मेरै खर्चमा भएपनि बनाउँछु' : इन्द्र बानियाँ

नेपाली कांग्रेस मकवानपुरका सभापति रहेका बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिकाको परेवाभीरमा जसरी पनि बाटो बनाउने बताएका छन्।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बानियाँले प्रदेश सरकारले बाटो नबनाए आफ्नो निजी खर्चमा भएपनि बाटो बनाउने दाबी गरेका हुन्। ​परेवाभीर रहेको क्षेत्र बानियाँकै निर्वाचन क्षेत्र हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.