|

काठमाडौं : नेपालको पूर्वी क्षेत्र आसपासमा रहेका किराती वाम्बुले राईहरूमा जब साउन १५ लाग्छ, बाँसुरी बजाउने प्रचलन छ। समाजका तन्नेरीहरू अँगेनोको माथि ध्वासे बलोमा या छानोमा सिउरिएर जतनसाथ राखेका बाँसुरी, मुरली झिकेर बजाउन तम्सिन्छन्। त्यसपछि गाउँघर, वनपाखा, खोलानाला, दूधकोसी र सुनकोसी नदी गडतिर गुन्जिने गरी बजाउन थाल्छन्। जो कसैले लोकभाका नक्कल गरेर बजाउन तम्सिन्छन्।

तर, पछिल्लो समयमा भएको प्रविधिको विकासले बाँसुरी बजाउने चलन लोप हुँदै गएको छ। त्यही प्रचलनलाई जोगाउन वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले प्रत्येक साउन १५ मा ‘बाँसुरी दिवस’ मनाउने चलनलाई यसवर्ष पनि निरन्तता दिएको छ। वाम्रास संस्थाले चौथौ पटक बाँसुरी दिवस मनाएको छ। बिहीबार कोरोना कहरका कारण भर्चुअल माध्यमबाट बाँसुरी दिवस मनाएको हो। सो कार्यक्रम इन्डिजिनियस टेलिभिजनबाट लाइभ प्रशारण गरिएको  थियो। 

भर्चुअल माध्यममा आयोजिक कार्यक्रममा जीवन राई, वडाजित राई, विकास राई,श्याम राई,गणेश राई, दक्षिण कोरियाबाट सबिन राई, बेलायतबाट कमल राई, मलेसियबाट नवराज राई लगायतले बासुरी बजाएका थिए। उनीहरु सबैले विभिन्न लोकभाकाहरुमा बाँसुरी बजाएका थिए। मोतिलाल राई र विष्णु माइला राईले मादल बजाएका थिए। 

भर्चुअल कार्यक्रममा वाम्रास संस्थाका अध्यक्ष गजुरधन राईले संस्थाको स्थापनाकालदेखि नै किरात वाम्बुले राईहरूको भाषा,संस्कतिहरूलाई जगेर्ना गर्दे आएको बताए। ‘वाम्रास संस्थाको स्थापना कालदेखि कला,संस्कृतिलाई जीवन्त राख्दै आएका छौँ,’उनले भने,‘विभिन्न बाँसुरीका भाका लोप हुन नदिन वर्षेनी साउन १५ मा बाँसुरी दिवस मनाउँदै आएका छौँ। यस वर्ष कोरोना कहरले भर्चुअल माध्यामबाट भए पनि बाँसुरी दिवस मनाउन पायौँ।’ 

कार्यक्रममा सहभागी राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले बाँसुरीलाई व्यावसायिक बनाउँदै जानुपर्नेमा जोड दिए। ‘बाँसुरी नेपालीको लोक बाजा हो,’उनले भने,‘मानव सभ्याताको विकाससँगै बाँसुरीको विकास भएको पाइन्छ। आधुनिकताको विकासले अहिले बाँसुरी लोप हुँदै गएको छ। यसैको संरक्षणको लागि वाम्रास संस्था लागि परेको छ।’ बाँसुरी बजाउने संस्कृतिलाई व्यावसायिकतर्फ लान सरकारले पहल गर्नुपर्ने पनि उनले बताए।

किन मनाउँछन् साउन १५ मा बाँसुरी दिवस?
वाम्रास संस्थाका अध्यक्ष राईका अनुसार असार र साउन १४ सम्म किराती वाम्बुले राईका देवताहरू गुफा बस्ने लोकमान्यता छ। यो अवधिमा बाजा बजाउनु हुँदैन, नङ र कपाल काट्न हुँदैन भन्ने मान्यता रहेको छ। साउन १५ देखि देवताहरू उपवास सकेर गुफाबाट बाहिर निस्किन्छन्। उनीहरूको स्वागतका लागि सबै उमेर समूहका मानिसहरू बाँसुरी बजाउने गरेका छन्। यस दिन भकारीमा राखिएको नयाँ अन्न आफ्नो पितृहरूलाई चढाउनुपर्ने मान्यता रहेको छ।

किराती समुदायको मौलिक बाजा ढोल, झ्याम्टा, चमर र सिकिरी लगायत भएपनि मनोरञ्जनको साधनका रूपमा बाँसुरी, मुरली बढी प्रयोग हुने गरेका छन्। ‘देवताहरू गुफा बसेको अवधिमा नङ र कपाल काट्न हुँदैन भन्ने मान्यता छ,’उनले भने,‘महिलाले कपाल कोरेमा भुइँमा झार्न हुँदैन भन्ने पनि मान्यता रहेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.