वामदेव र बादलसहितको भूमिकाले दाहाल दबाबमा

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा शक्ति संघर्ष अझै थामिएको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संघर्ष समाधानको साटो झन् झन् जटिल बनिरहेको छ।

दुई अध्यक्षबीचको द्वन्द्व नथामिएको अवस्थामा  पार्टीका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलको भूमिकाले नेकपाको विवाद पेचिलो बनेको छ।

दाहालका विश्‍वासपात्र मानिने स्थायी कमिटी सदस्य मणि थापा लगायत नेताहरुले प्रचण्डलाई छाड्ने संकेत गरेपछि विवाद रोचक मोडमा पुगेको छ। प्रचण्डनिकट केही नेताहरुले अहिलेको अवस्थामा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई हटाउन नहुने मत राखेका छन्। यसले गर्दा प्रचण्ड-माधव नेपाल गुट दबाबमा परेको छ।

२०७५ जेठ २ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भयो। पार्टी एकतामा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी अध्यक्ष हुने सहमति थियो। जसमा ओली पहिलो र प्रचण्ड दोस्रो अध्यक्ष बनेका हुन्। 

पार्टी एकताको सहमतिअनुसार ओली-दाहाल आलोपालो सरकार चलाउने सहमति भयो। तर, २०७६ मंसिरमा आएर अध्यक्ष दाहाल आलोपालो सहमति छाडेर कार्यकारी अध्यक्षमा रहन राजी भए। पूरै कार्यकाल ओलीलाई सरकार चलाउन दिने निर्णयमा उनी सहमत भए। 

तर, समयक्रममा ओलीका कामबाट चित्त नबुझेपछि प्रचण्डले ओलीलाई आलोपालो सहमति सम्झाए। तर, ओली प्रचण्डको कुरामा सहमति जनाएनन्। अनि सुरु भयो नेकपाको भित्र कुबेलाको कलह।

ओलीले पार्टी निर्णय नमानेर एकलौटी चलेको र सरकार सञ्चालनमा समेत असफल भएको ठहर गर्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत समेटेर मोर्चाबन्दी सुरु गरे। असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब बढाए।

तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने अडानमा रहिरहे।  उनले पार्टीभित्रको समस्या समाधान गर्न बसेको सचिवालय बैठक मंसिरमा 'अर्ली महाधिवेशन'को प्रस्ताव अगाडी सारे। तर, पार्टी एकताको काम अझै टुंगोमा पुर्‍याउन नसकेको अवस्थामा मंसिरमा महाधिवेशन गर्न नसक्ने निष्कर्षका साथ ओलीको प्रस्तावमा दाहाल-नेपाल सहमत भएनन्।

वामदेवको अस्थिरता

नेकपाभित्रको विवाद गुटमा मात्र सिमित नभइ उपगुटमा पुगेको छ। यही विवादबीच उपाध्यक्ष गौतमको भूमिका यसअघिको झैँ अस्थिर रहिरह्यो। प्रधानमन्त्री ओलीले वैशाख ८ गते पार्टी विभाजन सम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेश ल्याउँदा दाहाल-नेपाल समूहमा रहेका गौतम प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनाउने आश्वासन दिनासाथ त्यतै ढल्किएका थिए। 

तर, प्रधानमन्त्री बनाउने प्रस्ताव आफ्नो कुर्सी जोगाउने ओलीको तुरूप मात्रै भएको ठहर गरेर उनी दाहाल-नेपाल समूहमै फर्किएका थिए। प्रधानमन्त्री ओली पार्टी फुटाउन लागिपरेको आरोप समेत लगाएका गौतम अहिले पुन: प्रधानमन्त्री ओलीको पक्षमै देखिएका छन्। 

उनले पार्टीभित्रको विवाद समाधान गर्न भन्दै प्रधानमन्त्री ओलीको खुलेर समर्थन गरेका छन्। वामदेवलाई प्रचण्ड-नेपाल र उनि स्वयं निकट नेताहरुले 'ओलीबाट पटक पटक धोका भइसकेकाले ६ बुँदे प्रस्ताव फिर्ता गर्न' आग्रह गर्दा पनि  उनले अस्वीकार गरेका छन्। 

‘मैले ओलीलाई विश्वास गर्दा यसअघि धेरैपटक धोका खाइसकेको छु। तर, अहिले पार्टी विभाजन हुने दिशामा केन्द्रित भइरहेकाले एकता जोगाउन अपमानित हुन तयार छु,’ भैंसेपाटी आएका नेताहरूसँगको कुराकानीको क्रममा गौतमले भनेका छन्, ‘म पार्टी एकताको पक्षमा छु, विभाजनको पक्षमा होइन।’ वामदेवको ६ बुँदे प्रस्ताव पछि वामदेव निवासमा प्रधानमन्त्री ओली अचानक पुगे पछि दाहाल-नेपाल खेमाका नेताहरु छक्क परे। 

बादलको भूमिका

यसअघिको विवादमा अवस्था साम्य हुने बेला या निर्णायक अवस्थामा खुल्ने गरेका स्थायी कमिटी सदस्य  तथा गृहमन्त्री रामबहादुर थापाको मौनतालाई अर्थपूर्ण रुपमा लिने गरिएको छ। तत्कालीन माओवादी केन्द्रका शक्तिशाली नेता थापा पछिल्लो समय प्रधानमन्त्री ओली निकट भएको दाहाल पक्षले आरोप लगाउँदै आएको छ। 

पार्टीमा विवाद चलिरहँदा केही साताअघि ललितपुरको अगेनो रेस्टुरेन्टमा भएको दाहाल-नेपाल पक्षको छलफलमा थापाले प्रधानमन्त्री ओलीबाट सरकार सञ्चालन हुन नसकेको भन्दै राजीनामा दिनुपर्ने संकेत गरेका थिए। तर, केही दिनपछि ओली निकट नेताहरूसँगको भेटवार्तामा उनले बोली फेरेका थिए। 

‘अगेनो रेस्टुरेन्टमा भएको छलफलमा मेरो भनाइबारे नकारात्मक प्रचार गरियो। अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने समय होइन’, उनले भनेका थिए, ‘अहिले देखिएको पार्टीभित्रको समस्या समाधान हुन्छ। प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अवस्था छैन।’

अगेनो रेस्टुरेन्टको प्रचारमा वास्तविकता नभएको बताएका गृहमन्त्री थापा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवै तर्फका केही नेता भेलामा सहभागी भएको स्रोतको दाबी छ।

‘उहाँ कुनै समय हाम्रो भेलामा सहभागी हुनुहुन्थ्यो। तर, प्रधानमन्त्री ओलीले एकलौटी स्थगित गरेको स्थायी कमिटी बैठक हामीले राख्दा उहाँ आउनुभएन,’ दाहाल निकट एक नेताले भने, ‘ओली समूह अनुपस्थित बैठकमा सहभागी नभएपछि उहाँमाथि हाम्रो प्रश्नसँगै शंका पनि उब्जिएको छ।’

निकट नेता गुमाउँदै दाहाल

मंगलबार प्रधानमन्त्री ओलीले एकलौटी स्थगित गरेको स्थायी कमिटी बैठक अध्यक्ष दाहालले डाके। तर, त्यहाँ पूर्व माओवादीकै नेताहरु उपस्थित भएनन्। अध्यक्ष दाहालले सञ्चालन गरेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट,  स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएनन्। 

गृहमन्त्री थापाको भूमिका बुझ्न नसकेका अध्यक्ष दाहालले कुनै बेलाका निकटस्थ हाल उद्योगमन्त्री रहेका लेखराज भट्टले पनि आफ्नो साथ छाडेको गुनासो सार्बजनिक गरेका छन् भने भट्टले आफ्नो समर्थन ओलीलाई भएको प्रष्ट बताउदै आएका छन्।

सुदूरपश्चिम प्रदेशका नेताहरुसँग छलफलको क्रममा अध्यक्ष दाहालले भनेका छन्, ‘उहाँलाई मैले ४० वर्षदेखि विश्वास गरेँ। हामीले सुदूरपश्चिम प्रदेशको नेतृत्व र हाम्रो कोटाबाट मन्त्री बनायौँ। तर, अहिले उहाँले हामीलाई धोका दिनुभयो।’

म नगएकै हो : मणि थापा

ओलीले स्थगित गरेको भनिएको बैठकमा अध्यक्षद्वयको सहमतिमै स्थगित भएको जानकारी आएर आफू नगएको स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्।

‘म पार्टी एकताको पक्षमा छु। विभाजनको पक्षमा होइन। त्यसैले अहिलेको शक्ति संघर्ष रोक्नुपर्छ भन्ने पक्षमा छु’, उनले भने, 'पार्टीभित्रको विवाद समाधान गरेर महाधिवेशनबाट नयाँ नेतृत्वपछि नेकपाको आधार परिर्वतन गर्न सक्ने नेतृत्व चाहिन्छ भन्ने मेरो कुरा हो।’

नेता थापाले उपाध्यक्ष गौतमको प्रस्ताव आफूसहित ११ स्थायी कमिटी सदस्यहरुको साझा रहेको जिकिर गरेका छन्।

‘उपाध्यक्ष गौतम पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ। उहाँको प्रस्ताव सही छ। त्यो प्रस्ताव मसहित ११ स्थायी कमिटी सदस्यहरुको साझा भावना पनि हो। केन्द्रीय कमिटीको बैठक निर्णयानुसार महाधिवेशन गर्नेगरि सहमतिमा अघि बढ्नुपर्छ’, उनले भने, ‘नेतृत्वबीच शक्ति संघर्ष चलिरहेका बेला गौतमको प्रस्ताव र गृहमन्त्रीको अनुपस्थितिले शक्ति समीकरण केही फेरबदल भएको मैले बुझेको छु।'

यता, उद्योगमन्त्री भट्टले पनि अध्यक्ष दाहाल नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको बेलामा ओली सरकार ५ वर्ष टिक्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिइसकेका छन्। उनले अस्थिरतालाई 'ब्रेक थ्रू' गर्न पनि ओली सरकार ५ वर्ष नै टिक्नुपर्नेमा जोड दिएका छन्।

'कसैले धोका दियो भन्छ भने पनि भनून् तर ओली सरकार पाँच वर्ष नै टिक्नुपर्छ। ओलीलाई अध्यक्षबाट विदा गर्ने हो भने महाधिवेशनसम्म जाऊँ', उनले भने, 'देशले लामो समय राजनीतिक अस्थिरता भोगिसकेको छ। यस्तो अवस्थामा म पार्टी एकता र स्थिरताको पक्षमा छु। त्यसैले ओली सरकारले पूरै कार्यकाल काम गर्न पाउनुपर्छ।'

शक्ति सञ्चयमा ओली

पार्टीको तीव्र विवादका क्रममा अल्पमतमा परिरहेका प्रधानमन्त्री ओलीलाई उपाध्यक्ष गौतमले साथ दिएपछि केही राहत मिलेको छ। प्रधानमन्त्री ओलीले मंगलबार भैँसेपाटीमा गौतमसँगको छलफलबाट फर्किएपछि आन्तरिक छलफललाई अघि बढाएका छन्। 

दुवै पदबाट राजीनामा माग भइरहेका बेला ओलीलाई उपाध्यक्ष गौतमको प्रस्ताव र दाहाल-नेपाल समूहको बैठकमा गृहमन्त्री थापा, स्थायी कमिटी सदस्य लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझीको अनुपस्थितिले राहत दिएको छ। उता प्रचण्डलाई भने यसले केही दबाब बढाएको छ। नेपाल समूहका योगेश भट्टराई पनि प्रचण्डले डाकेको भनिएको स्थायी कमिटी बैठकमा नगएर एउटा राजनीतिक सन्देश दिइसकेका छन्।

अहिलेसम्मको समीकरण 

पार्टी एकतापछि नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएको हो। तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ सदस्य छानिए। तर, पार्टी एकतापछि पनि एमाले दुई गुटमै देखियो। प्रधानमन्त्री ओली र नेता नेपालबीच कुरा मिलेन। ओलीविरुद्ध नेता नेपाल र झलनाथ खनालले पूर्व एमालेमा जस्तै मोर्चाबन्दी गरे।  

अहिलेको अवस्थामा प्रधानमन्त्री ओली पक्षमा १२ र नेता नेपालको पक्षमा १३ स्थायी कमिटी सदस्य छन्। अर्कातिर अध्यक्ष दाहालको पक्षमा १८ सदस्य छन्। अध्यक्ष दाहाल निकट अग्निप्रसाद  सापकोटा प्रतिनिधि सभाको सभामुख भएका छन्। उपाध्यक्ष वामदेव गौतम पहिले झैँ अस्थिर भइरहे। तर, पछिल्लो समय गृहमन्त्री थापाको भूमिका पनि प्रष्ट हुन सकेको छैन।

पछिल्लो समय गृहमन्त्री थापा, उद्योगमन्त्री भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु पनि दाहालबाट टाढिएका छन्। त्यही कारण नेकपाको शक्ति संघर्ष चलिरहेका बेला समीकरण फेरबदल भइरहेको देखिन्छ। ओलीसँगको विवाद चुलिइरहेका बेला आफूनिकट नेताहरु अस्थिर देखिएपछि दाहालमाथि केही दबाब  परेको छ।

को-को गए बालुवाटार? 

ओलीले स्थगित गरिसकेपछि बालुवाटारमा दाहालले डाकेको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी थिए। 

यस्तै, स्थायी कमिटी सदस्यहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल, देव गुरुङ, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र जनार्दन शर्मा गएका थिए। त्यसैगरि हरिबोल गजुरेल, भीम आचार्य, गोकर्ण विष्ट, लीलामणि पोखरेल, देवेन्द्र पौडेल, रघुजी पन्त,  बेदुराम भुषाल, मुकुन्द न्यौपाने, गणेश साह, मातृका यादव, शक्ति बस्नेत, चक्रपाणि खनाल र रघुवीर महासेठ बालुवाटार पुगेका थिए।

को-को गएनन्?

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल सहभागी भएनन्। स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ,प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि सहभागी थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.