|

काठमाडौं : सरला गौतमको उपन्यास ‘डुमेरो’  सार्वजनिक गरेको छ। यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ।

गौतमले पत्रकारिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गरेकी हुन्। वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन्। अखबारका स्तम्भमा उनी सामाजिक र राजनैतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन् जसलाई पाठकहरूले निकै रुचाउने गर्छन्। यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो।

पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘गौतमले वकालत गर्ने भाषाको अराजनैतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ। उनले पात्रहरूका सशक्तीकरण, पहिचान र बद्लिँदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन्। गौतमको शैली निडर, बेलगाम र समसामयिक छ। यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अंगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ।’

शीर्षक ‘डुमेरो’ आफैंमा नौलो शब्द छ।  कुनै गन्तब्य विहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ। ‘यो शब्द सुन्नमा लयालु त छदै छ’, सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ। महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ। तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं; जहाँ पुरुष र महिला लिङ्गको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमुर्त छन्, संघर्ष नौला छन्। यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो।’

पुस्तकलाई नेपालय पब्लिकेशनले प्रकाशन गरेको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.