|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बाइसे तथा चौबीसे राज्यका अवशेषहरु लोप हुने अवस्थामा छन्। करिब दुई सय वर्षअघि चौरजहारीको लापुले गाउँमा निर्माण गरिएको ऐतिहासिक ढुङ्गे देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, लापुले गाउँमा रहेको ढुंगैढुंगाले बनाइएको जहारीकोटे ऐतिहासिक देवल रहेको छ। जगतीश्वरे महाराजको एक अवतारका रूपमा परिचित जहारीकोटे ढुंगे देवल हाल संरक्षणको अभावमा जीर्ण बनेको हो।

स्थानीयबासीका अनुसार ढुङ्गे देवल रहेको शिवालय मन्दिरमा प्रत्येक वर्षको शिवरात्रिको दिन पूजापाठ तथा मेला लाग्ने गर्दछ। करिब दुईसय वर्ष अघि ढुंगा कुँदेर निर्माण गरिएको ढुंगे देवल जाजरकोटका राजा दीपनारायण शाहको पहलमा बनाइएको स्थानीयको भनाइ छ। ऐतिहासिक जहारीकोटे ढुंगे देवल वर्षैपिच्छे जीर्ण बन्दै गईरहेकोले अब यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनीहरु ज्ञानु गौतमको भनाई छ। करिब चार मिटर उचाई रहेको ढुङ्गे देवल केही वर्ष अघिबाट ढल्किँदै गएको छ।

देवल बनाइएको जमिनको केही भाग भासिँदै गएकोले बाइसे तथा चौबिसे राज्यको ऐतिहासिक चिनारी अवशेषको रुपमा समेत नरहने गरी हराउने अवस्थामा पुगेको हो। तर, स्थानीय वडा कार्यालयले भने यसको संरक्षण र थप व्यवस्थापनका लागि स्थानीय जग्गाधनीसँग छलफल गरेर थप व्यवस्थित बनाउन लागिएको चौरजहारी नगरपालिका  ३ नम्बर वडाध्यक्ष लालबहादुर बुढाले बताए। ऐतिहासिक जहारीकोटे ढुंगे देवल बाइसे तथा चौबीसे राज्यका पालामा निर्माण गरिएकोले यसको छुट्टै महत्व रहँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.