झापा, मुस्ताङलगायत अरू जिल्लाले पनि तयारी थाल्दै

|

काठमाडौं : हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरूमा पठनपाठन सुरु भएको छ। हुम्लामा कोरोना संक्रमणको त्रास कमी हुन थालेपछि गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। 

ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लका अनुसार ताँजाकोट गाउँपालिकासहित उत्तरी नाम्खा र दक्षिणतिरका खार्पुनाथ गाउँपालिकाका गरी ५१ विद्यालयमा पठनपाठन सुरु भएको छ। अध्यक्ष मल्लले सामाजिक दूरी कायम गरी विद्यालयमा पठनपाठन सुरु गरिसकेको जानकारी दिए।

‘हुम्ला जिल्लामा कोरोना संक्रमणको त्रास धेरै छैन,’उनले थाहाखबरसँग भने,‘त्यसैले दुई गाउँपालिकाले साउनलगत्तै पठनपाठन थालेको थियो। अहिलेसम्म हुम्ला जिल्लाको तीन गाउँपालिकाका ५१ विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सुरु भएको छ।’ 

उनका अनुसार क्‍वारेन्टाइनका रूपमा प्रयोग गरिएका सबै विद्यालय निर्मलीकरण गरेर पठनपाठन सुचारु गरिएको छ। उनले भने,‘हामीले विद्यार्थीको स्वास्थ्य सुरक्षाको पनि व्यवस्था गरेका छौँ। अहिलेसम्म गाउँमै भएका शिक्षकले  पढाएका छन्। बाहिरबाट आउने शिक्षकलाई आरडिटी परीक्षणको रिपोर्टका आधारमा मात्र विद्यालयमा पठाउने व्यवस्था तीनवटै गाउँपालिकाले गरेको छ।’ विद्यार्थीहरूको उपस्थिति उत्साहजनक रहेको पनि उनले बताए।

झापा जिल्लाका टोलटोलमा पठनपाठन

झापा जिल्लामा पनि अहिले शिक्षकलाई टोलटोलमा खटाई विद्यार्थीलाई पढाउँदै आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए। ‘झापा जिल्लामा अनलाइन तथा भर्चुअल माध्यामबाट पढाइ भइरहेको छ,’उनले भने,‘शिक्षकलाई खटाई टोलटोलमा पढाउँदै आएका पनि छौँ।’ लामो समयसम्म भएको बन्दाबन्दीले पढाइमा असर पुगेको बताउँदै उनले सकेसम्म कोही विद्यार्थी अहिले पढाइबाट वञ्चित नहोस् भन्ने हेतुले लागिपरेको बताए।

उनले भने,‘अझै नेपालमा कोरोना महामारी हटेको छैन। झापा जिल्लाका केही गाउँपालिका,नगरपालिकाले विद्यालय सञ्चालन गर्ने तयारी पनि थालेका छन्। विद्यालयमा पठनपाठन नगराए पनि टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ।’ अबको समय परिस्थितिलाई हेरेर विद्यालयमा पठनपाठनको लागि निर्णय गर्दै जाने उनले बताए। उनका अनुसार कनकाई नगरपालिकामा १४ वटा सामुदायिक विद्यालय रहेका छन् भने, ३ वटा बालविद्यालय रहेका छन्। 

मुस्ताङमा घरघरमा पुगेर पढाउँदै, विद्यालयबारे छलफल

सरकारले अहिले पनि मुस्ताङ जिल्लालाई कोरोना संक्रमित शून्य जिल्लाको रुपमा घोषणा गरेको छ। जसअनुसार मुस्ताङ जिल्लामा कुनै कोरोना संक्रमित व्यक्ति भेटिएका छैनन्। त्यसो त जिल्ला प्रशासन कार्यालय मुस्ताङले विद्यालयमा पठनपाठन थाल्ने विषयमा छलफल गरिरहेका छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी जगदीश अर्यालले विद्यालयमा पठनपाठनका लागि छलफल भइरहेको जानकारी दिँदै अहिले भने घरघरमा गएर शिक्षकले पढाउँदै आएको जानकारी दिए।

‘सरकारले वैकल्पिक शिक्षा सञ्चालन गरिरहेको छ,’उनले भने,‘मुस्ताङमा शिक्षकहरू घरघरमा गएर अहिले पढाउँदै आएका छन्। कोरोना संक्रमित शून्य जिल्ला भएकाले केही विद्यालयले पठनपाठन गराउने भनेर भनेका छन्। के गर्ने भनेर छलफल भइरहेको छ। संघीय निर्देशन आयो भने पठनपाठन सुरु हुन्छ।’ उनका अनुसार मुस्ताङ जिल्लामा करिब ४० वटा सामुदायिक विद्यालय रहेका छन् भने, ५ वटा निजी विद्यालय रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.