|

काभ्रे :  जिल्ला प्रशासन कार्यालय काभ्रेले आर्थिक वर्ष २०७६/०७७ मा गरेको वार्षिक कार्य सम्पादन प्रगति सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा तथा भएका प्रगतिबारे एक कार्यक्रमबीच सञ्‍चारकर्मीहरुलाई जानकारी गराएको हो।

प्रजिअ तिमल्सिनाले सार्वजनिक गरेको जिल्ला प्रशासनको कार्य सम्पादन प्रगति विवरणअनुसार चालु आ.व. मा कार्यालयबाट नयाँ संस्था ३९ वटा दर्ता भएका र २ सय १६ संस्था नवीकरण भएको छ। त्यस्तै, ठाडो उजुरी परेका ७१ वटा, नाबालक परिचयपत्र ३ सय १८, पत्रपत्रिका दर्ता २ वटा, हातहातियार नविकरण १५, जनजाति-दालित प्रमाणीत ३ सय २१ वटा र भूपू सैनिकहरको पेन्सनका लागि ६ वटा सिफारिस उपलब्ध गराइएका छन्।

जिल्ला प्रशासन काभ्रेले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन, नागरिकता तथा राहदानीसम्बन्धी कार्य, अर्धन्यायिक निकायको रुपमा न्यायिक निरुपण, विकास निर्माणका कार्यमा समन्वय र सहजिकरण लगायतका अन्य कार्यहरु गर्दै आएका छन्।

राहदानीबाट मात्रै ३ करोड ४४ लाख बढी राजस्व संकलन, कुनबाट कति?

आव २०७६-०७७ भित्र जिल्ला प्रशासन कार्यालय काभ्रेले राहदानीबाट मात्रै ३ करोड ४४ लाख ३९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिए।

कार्यालयबाट ६ हजार ६ सय ४२ जनाले साधारण राहदानी बनाएमा महिला २ हजार ९ सय ७१ र पुरुष ३ हजार ६ सय ७१ जना रहेको छ। त्यसैगरी द्रुत राहदानी २ हजार ४ सय ४८ जनाले बनाएको छ। जसमा महिला ८ सय ५६ जना र पुरुष १ हजार ५ सय ९२ जना रहेका छन्।

राहदानीबाहेक जिल्ला प्रशासनले सरकारी सम्पत्तिको बिक्रीबाट ३१ हजार १ सय, परिक्षा शुल्क (लोक सेवा बढुवा)बाट ४ सय, नागरिकता दण्ड जरिवना, जफत वापत् १० हजार, मुद्दा दण्ड जरिवाना, जफतबाट ५७ हजार, प्रशासनिक दण्ड जरिवानाबाट १६ हजार २ सय ५० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट ४ लाख ६१ हजार १ सय ४५ रुपैयाँ राजस्व संकलन गरिएको छ।

आर्थिक वर्ष २०७५-०७६ को लेखापरिक्षणमा ८५ लाख ७१ हजार ४ सय ६८ बेरुजु रहेकोमा ८१.३६ प्रतिशत अर्थात् १९ लाख ६३ हजार ३ सय ५१ रुपैयाँ फछ्र्यौट् भएको  छ।

७ हजार बढीले लिए नागरिकाता लिङ्ग फेर्ने एकजना

जिल्लामा ७ हजार ३ सय ९१ वटा नयाँ नागरिकता बनेका छन्। ३ हजार ८ सय १ जना महिलाले नागरिकता बनाउँदा ३ हजार ४ सय ९७ जना पुरुषले नागरिकता बनाएका छन्। जसमा वैवाहिक अगिंकृत नागरिकता ३ जनाले प्राप्त गरेका छन्। एक जना व्यक्तिले पुरुषबाट महिला बनी लिंग परिवर्तन गरी जिल्ला प्रशासनबाट प्रतिलिपी नागरिकतासमेत लिइसकेको कार्यक्रममा प्रजिअ तिमल्सिनाले बताए।

त्यस्तै, जिल्लाको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकास्थित रहेको इलाका प्रशासन कार्यालय बनखुचौरका ४ सय ७ जनाले नयाँ नागरिकता लिएका छन्। नागरिकता बनाउनेमा महिला १ सय ७७ जना र पुरुष २ सय ३० जना रहेका छन्। उनीहरूलाई वंशजको आधारमा नयाँ नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट महिला १ हजार ९ सय २५ जना र पुरुष ३ हजार १ सय २५ गरी जम्मा ५ हजार ५० जना र इलाका प्रशासन बनखुचौरबाट महिला ३० जना र पुरुष ५३ जना गरी ८३ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ।

२ सय ७३ वटा मुद्दामध्ये ३५ बाँकी

जिल्ला प्रशासनमा दर्ता भएका नयाँ १ सय ४४ वटा र अघिल्लो वर्षको १ सय २९ वटा गरी २ सय ७३ वटा मुद्दामध्ये २ सय ३८ वटा फछ्र्यौट भएका छन्। प्रजिअ तिमल्सिनाले चालु वर्षका लागि ३५ वटा मुद्दा मात्रै बाँकी रहेको जानकारी दिए।

विपद्, द्वन्द्व पीडित तथा शहिद परिवारलाई राहत वितरण

जिल्ला प्रशासनले विपद् व्यवस्थापन कोषबाट पहिरोका कारण संकटमा परेका ७४ घर परिवारलाई ८ लाख ६९ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको छ। त्यस्तै, आगलागिबाट संकटमा परेका ४ घर परिवारलाई ३५ हजार, चट्याङ्बाट १ र बाढीबाट २ जना मृतका आफन्तलाई क्रमशः एक लाख र दुई लाख विपद् व्यवस्थापन कोषबाट राहत वितरण गरिएको छ। बाढीबाट मृत्यु हुने मण्डनदेउपुर र पनौती नगरपालिका दुई जना मृतका परिवारलाई जनही एक-एक लाख राहत वितरण गरिएको हो।

द्वन्द्व पीडित तथा शहिद परिवारका १४ जनालाई  ११ लाख ८० हजार ८ सय रुपैयाँ राहत वितरण गरिएको छ।

जसमा द्वन्द्व पीडित ८ जनालाई ६ लाख ६२ हजार ४ सय, द्वन्द्व पीडित छात्रवृति ३ जनालाई १ लाख ८० हजार, शहिद परिवार निर्वाह भत्ता २ जनालाई ८४ हजार र जिउँदो शहिद निर्वाह भत्ता २ लाख ५४ हजार ४ सय रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ। जिउँदो शहिद बनेपाका मुकेश कायस्थ २०६२-०६३ को अनआन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक पर्ने खोज तथा उद्दारका सामग्रीहरु धुलिखेल नगरपालिकाबाट करिब ७ लाख,  जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २ लाख बराबरको विपद अत्यावश्यक उद्धार सामग्रीहरु खरिद गरिएको प्रजिअ तिमल्सिनाले बताए। उनको अनुसार जिप्रकाले विपद्को घटनामा परी कुनै परिवारका सदस्यहरुको मृत्यु भएमा एक सदस्यलाई २ लाख र सोही परिवारका अन्य व्यक्तिको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाखका दरले राहत उपलब्ध गराउने गरेको छ।

त्यस्तै विपद्बाट घर बहाल आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसाय समेत नष्ट भई तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पिडित परिवारलाई यथाशिघ्र प्रति परिवार ५ जनासम्म सदस्य भएको परिवार भए १५ हजार र ५ जना भन्दा बढि सदस्य भएको परिवार भए २० हजारका दरले नगद सहायता प्रदान गर्ने गरेका छन्।

काभ्रेमा ५५७ अपराधिक घट्ना, कस्तो खालको घट्ना कति?

चालु आ.व.मा ५ सय ५७ वटा अपराधिक घटना भएकोमा ५ सय ८२ जना अभियुक्त पक्राउ गरी ५ सय ५७ जनालाई मुद्दा चलाइएको छ। त्यसैगरी, अपहरण, हत्या र हतियार खरखाजनामा १९ जना पक्राउ गरीएको जिल्ला प्रशासनले कार्य सम्पादन प्रगतिमा उल्लेख गरिएका छन्।

त्यस्तै, सडक दुर्घटना १ सय ९७ हुँदा दुर्घटनामा परी ५७ जनाको मृत्यु र २ सय २० जना घाईते भएका छन्। लागु औषध ओसारपसार गर्ने १४ जना पक्राउ गरिएकोमा ९ जनालाई मुद्दा चलाएको छ। पक्राउ गरिएको लागु औषधमा गाँजा १७.९३ केजी,  डाइजिल्याव २३, फेनाएम ७६, नुर्फिन ७५, डाइजिपाम ५१, नाइट्राभेट २७९ चक्की रहेका छन्। प्रशासनले १ लाख ६६ हजार १ सय ८५ वटा गाँजाका बोटहरु नष्ट गरिएका छन्।

जिल्ला प्रशासन कार्यालयको समन्वय एंव सहजीकरणमा जिल्लास्थित सुरक्षा निकायले ६२ हजार ३ सय २० लिटर घरेलु मदिरा नष्ट गरेका छन्।

७५ क्षमताको कारागारमा २ सय २७ जना

जिल्ला कारागारको क्षमता जम्मा ७५ जना अट्ने रहेको छ। तर आ.व. २०७६-०७६ विवरण अनुसार कारागारमा २ सय २७ जना रहेका छन्। प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जिल्ला कारागारमा थुनुवा ८३ जना र कैदी १ सय ४४ जना गरी २ सय २७ जना रहेको जानकारी दिए।

कारागारमा कर्तव्य ज्यान, डाँका, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, लागुऔषध, चोरी, बहु विवाह लगायतका थुनुवा र कैदी रहेका छन्।

२०२२ मा स्थापित तथा स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कार्य सम्पादन हुँदै आएको जिल्ला प्रशासन कार्यालयभित्र गृह मन्त्रालय अन्तर्गत संघिय सरकारको प्रतिनिधिको रुपमा र वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको समन्वय र सहकार्यमा जिल्लामा प्रशासनिक तथा अर्ध न्यायिक काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.