बागमतीको मेडिकल क्षेत्रमा कायापलट गर्ने दाबी

|

मकवानपुर :  देशकै पहिलो प्रादेशिक प्रतिष्ठानको रुपमा तथा बागमती प्रदेशको पहिलो प्रतिष्ठान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले औपचारिकता पाएको छ । शुक्रबार प्रतिष्ठानका उपकुलपतिले शपथ लिएर पदवहाली गरेसँगै प्रतिष्ठानको काम सुरु भएको हो।  बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले उपकुलपति डा.विश्वराज जोशीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको महत्वकांक्षासहित अनुसन्धान, सेवा, शिक्षा र वकालत गर्ने भन्दै शपथ खाएका हुन्। उनले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको अहिलेको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा अनुसन्धान गर्ने बताएका छन् भने बागमती प्रदेशको कुना काप्चामा समेत प्रतिष्ठानले सेवा दिने गरि काम गर्ने योजना ल्याएको बताएका छन् । 

बागमती प्रदेशसँग कसैले तुलना नगरे हुन्छ :   मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश देशमै सबैभन्दा अगाडी भएकोले अन्य प्रदेशहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। उनले प्रदेश स्थापना भएको ३० महिना पुग्नै लाग्दा कानुन निर्माणदेखि, विकास निर्माण र आर्थिक समृद्धिमा बागमती प्रदेशसँग तुलना गर्न नमिल्ने तर्क गरेका हुन्।

उनले प्रतिष्ठानको उपकुलपतिमा राजनीतिक रुपमा आस्था नभएको मान्छे ल्याएको भन्दै प्रतिष्ठानले प्रदेश सरकारको औचित्य थप पुष्टि गर्ने दाबी गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान प्रतिष्ठानले पुयाउने भन्दै नेपालमै हेटौंडामा विशिष्ट खालको प्रयोगशाला र अनुसन्धान केन्द्र स्थापना गर्नेसमेत बताए । 

कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्रतिष्ठानले निष्पक्ष र साझा ढंगले काम गर्नु पर्ने बताए । उनले सरकार परिवर्तनसँगै नियुक्तिहरू परिवर्तन हुँदै आएकोमा अब त्यसो गर्न नहुने बताए। उनले उपकुलपतिले दक्षता प्रर्दशन गरेर स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन गर्ने अवसर रहेको बताए। कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौं महानगरले प्रदेशको स्वास्य क्षेत्रमा गर्नुपर्ने सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए।    

प्रदेशका सबै अस्पताल मातहतमा ल्याउन सक्ने

प्रतिष्ठानले बागमती प्रदेशअन्तर्गत रहेका १३ जिल्लाका प्रदेश अस्पतालहरु प्रतिष्ठान अन्तर्गत ल्याउन सक्ने गरि ऐन रहेको छ । प्रतिष्ठानको विधानबारे कार्यपत्र प्रस्तुत गर्दै प्रदेशका मुख्यन्यायधीवक्ता ओम प्रकाश थपलियाले अहिलेका हेटौंडा अस्पताललाई प्रतिष्ठानको आधार बनाएर काम गर्ने भन्दै अस्पतालमा रहेका स्थायी सरकारी दरबन्दी प्र्रतिष्ठानअन्तर्गत आउने बताए।

यस्तै, थप आवश्यक कर्मचारी प्रदेश लोकसेवा आयोगबाट परिपूर्ति गर्ने थपलियाले बताए ।  प्रतिष्ठान आफैंमा स्वायत्त रहने गरि निर्माण भएकाले केहि कानुन निर्माण गर्न प्रतिष्ठानको नियमावली समेत बनाउनु पर्ने थपलियाले औंल्याएका थिए । बागमती प्रदेशका अन्तर्गत हाल सम्म साबिकका ८ जिल्ला अस्पतालहरु मातहतमा आएका छन् ।           

बागमती प्रदेशमा देशकै धेरै स्वास्थ्य क्षेत्रहरु रहेकोले सरकारले योजनाबद्ध ढंगले काम गर्दा धेरै परिवर्तन हुन सक्ने बताएका छन् । शुक्रबार नै हेटौंडामा भएको स्वास्थ्य सम्बन्धि अन्तक्रियमा बोल्दै स्वास्थ्य क्षेत्रका विज्ञले यस्तो बताएका हुन्।  छलफलमा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रो.डा.धर्मकान्त बाँस्कोटाले सरकारले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्दा परिवर्तन हुन सक्ने  बताए।

उनले स्वास्थ्य क्षेत्रमा अस्थिर योजना र ठुलो महत्वाकांक्षा हुँदा समस्या आएको बताएका थिए। विश्वविद्यालयले प्रतिष्ठानलाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।  यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक मंगल रावले प्रतिष्ठानको स्थापना संगै बागमती प्रदेशको राजधानी हेटौंडामा स्वास्थ्यको स्तर बढाउनु पर्ने तर्क गरे । प्रतिष्ठानले तुरुन्तै चिकित्सकहरु त्था विज्ञ नियुक्ती गरेर परिवर्तनको प्रत्याभूत हुने बताए।

अन्तरक्रियामा  बोल्दै डा. शंकर राईले प्रतिष्ठानको काम जनमुखी हुनुपर्ने तर्क गरेका थिए।  यस्तै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी प्रतिष्ठानले गर्नुपर्ने दुई कुरा भन्दै जनतालाई विमामा जोड्नु पर्ने र प्रतिष्ठानलाई सेवामा जोड्नु पर्ने बताए। यस्तै नेकपा बागमती प्रदेशका सचिव तथा पूर्वमन्त्री आनन्द पोखरेलले स्वास्थ्य सम्बन्धी संविधानमा मौलिक अधिकार सुनिश्चित गरेकोमा प्रतिष्ठानले अधिकार कार्यान्वयन गर्न सहायक भूमिका खेल्ने बताए।

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठले लोकसेवा आयोगले निष्पक्ष ढंगले सरकारले कर्मचारी मागेका खण्डमा कर्मचारी भर्ना गर्न तयार रहेको बताए । अन्र्तक्रियमा संविधान सभा सदस्य अनन्त पौडेल, प्राध्यापक डा. गोविन्द पौडेल लगायतले सहभागिता जनाएका थिए।

कार्यक्रमको सभाध्यक्षता गरेका प्रतिष्ठानका सहकुलपति रहेका तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बागमती प्रदेशले बनाएको ऐनहरूमध्ये सबैभन्दा छिटो कार्यान्वयनमा आएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन गर्ने आशा सहित काम सुरु गरेको भन्दै अरु प्रतिष्ठानभन्दा विशिष्ट हुने दाबी समेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.