मन्त्री भन्छन् : भीमदत्तले समाजलाई सकारात्मक मार्गमा डो¥याए

|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले देश र जनताको मुक्तिका लागि सहादत प्राप्त गर्ने किसान नेता भीमदत्त पन्तले देखाएको मार्ग पहिल्याउनु पर्ने बताएका छन् । 

शनिवार कञ्चनपुरको भीमदत्त नगरस्थित भीम बाटिकामा आयोजित भीमदत्त पन्तको ६७ औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले शहीद भीमदत्त पन्तले गरिव र शोषित पीडित बर्गको मुक्तिका लागि आवाज बुलन्द गर्दा बलिदानी दिनु परेको बताए ।

‘भीम दत्तले देखाएको मार्गलाई कति पहिल्याउन सकेका छौं’ उनले भने, ‘सहिद पन्तले देखाएको मार्गमा पहिल्याउँदै सुदूरपश्चिम प्रदेश सरकारले कार्य अगाडी बढाउदै आएको छ । राज्यको मूल धारमा आउन नसकेका बर्गका लागि कार्यक्रम अघि सारेका छौं ।’ 

क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको योगदानको चर्चा गर्दैै उनले नेता पन्त गरिब र शोषित वर्गको अधिकारका निम्ति सामन्तको थिचोमिचोविरुद्ध लड्दा लड्दै शहादत प्राप्त गरेको बताए ।

तत्कालीन सरकारसँग असहमति राखेर दिल्ली सम्झौता धोका भन्दै आन्दोलनमा होमिएका नेता पन्तको डोटी र डडेल्धुराको बीचमा पर्ने गल्लेकमा भारतीय सेनाको सहयोगमा हत्या गरिएको उनले बताए ।  

सामन्ती साहुकारका तमसुक च्यातेर नेता पन्तले गरिबका पक्षमा सशक्त रुपमा आवाज उठाएको उनको भनाई थियो ।

त्यही कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले किसान नेता भीमदत्त पन्तको विचारलाई आत्मसात गरे देश आर्थिक सामाजिक रुपमा आत्मनिर्भर बन्ने बताए । 

किसान नेता पन्तकै नाम बाट भीमदत्त नगरपालिका नामकरण गरिएकाले उहाँले देखाएको सत्मार्गमा लाग्न प्रतिवद्ध रहेको उनले बताए । 

नगरपालिकाले नेता पन्तकै स्मृतिमा उनले ठालुहरुलाई कारवाही गरेको ब्रह्मदेवमा बहु सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिन लागेको बताए । । भावी पुस्तालाई नेता पन्तले गरेको क्रान्ति बारे जानकारी दिन सङ्ग्रहालयले सघाउ पुरयाउने उनले बताए ।  

साहुकारहरुबाट नुन कब्जामा लिई गरिबहरुलाई सित्तैमा बाँडेको ब्रम्हदेवसम्म कालोपत्रे सडक निर्माण भइरहेको उनले बताए। ऐतिहासिक महत्वको  पुरानो मण्डीलाई संरक्षण गर्न काम अगाडि बढाइएको उनले जानकारी दिए। 

भीमदत्त स्मृति प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले नेता पन्तले देखाएको सपना अझै पूरा हुन नसकेको बताए।  सुदूरपश्चिम प्रदेशलाई काठमाडौंले हेर्ने नजरमा अझै परिवर्तन आउन नसकेको उनको भनाई थियो।  

स्मृति दिवसमा सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडका, महेश जोशी, मान बहादुर सुनार लगायत सहभागी थिए। नव निर्मित भीमदत्त पन्त स्मृति भवनको समेत मन्त्री बोहरा लगायतले निरीक्षण गरेका छन् । त्यही क्रममा स्मृति भवन परिसरमा वृक्षारोपण गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.