|

आयरल्यान्डविरुद्धको तीन खेलको सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ। पहिलो एक दिवसीयभन्दा सुधारिएको खेल प्रदर्शन गरे पनि आयरल्याण्ड चार विकेटले पराजित भयो। 

घरेलु टोली इंग्ल्यान्डले तीन एक दिवसीय सिरिजको पहिलो खेल ६ विकेटले जितेको थियो भने लगातार दोस्रो जित हात पार्दा अन्तिम खेलअगाडि नै सिरिज २–० ले जित्यो।

एक दिवसीय विश्वकप छनोटको आधार समेत भएकाले इंग्ल्यान्डलाई फाइदा भएको छ। जितसँगै विश्वकप सुपर लिग अन्तर्गत इंग्ल्यान्डको २० अंक भएको छ। एक जितलाई १० अंक दिइन्छ। अंकका आधारमा शीर्ष सातमा रहने टिमले सोझै भारतमा २०२३ मा हुने एक दिवसीय विश्वकपमा स्थान बनाउने छन्।

आइतबार राति रोज बल स्टेडियम साउथह्याम्पटनमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको २१३ रनको लक्ष्य इंग्ल्यान्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर सहज रुपमा पुरा ग¥यो। इंग्ल्यान्डको जितमा ओपनर जोनी ब्यरिस्टो आक्रामक इनिङ खेले। प्लेयर अफ द म्याच घोषित ब्यरिस्टोले ४१ बलमा १४ चौका र २ छक्का प्रहार गर्दे ८२ रन बनाए। यस क्रममा उनले २१ बलमानै अर्धशतक पूरा गरेका थिए। जुन इंग्ल्यान्डको लागि एक दिवसीयमा दोस्रो छिटो अर्धशतक हो। २०१८ मा इएन मोर्गनले अस्ट्रेलियाविरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए।

ब्यरिस्टोले एक दिवसीयमा तीन हजार रन पनि पूरा गरे। ७२ इनिङमा उनले उक्त स्कोर पूरा गर्दै उनले जोए रुटसमान तीन हजार रन पूरा गर्ने सबैभन्दा छिटो इंग्लिस व्याट्सम्यान बन्न सफल भए। लक्ष्य पछ्याउने क्रममा अर्का ओपनर जोसन रोय खाता नखोली पहिलो ओभरमै भए। तर, ब्यरिस्टोले जेम्स भिन्ससंग दोश्रो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए। भिन्स १६ रन बनाएर आउट भएपछि भने इंग्ल्यान्डले निरन्तर विकेट गुमाउन पुगेको थियो। उसका टम बान्टन (१५ रन), बेयरस्टो, कप्तान इएन मोर्गन र मोइन अलिले लगातार विकेट गुमाउँदा टिम दबाबमा पुगेको थियो।

१३७–६ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई दवावबाट निकाल्दै स्याम बिलिंग्स र डेभिड विलिले सातौँ विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टिमलाई जित दिलाए। बिलिंग्सले ६१ बल खेल्दै ६ चौकाको मद्दतमा अविजित ४६ रन बनाउँदा विलिले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाएर अविजित रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २१२ रन बनाएको थियो। खराब सुरुवात गर्दा उसले ९१ रनमै ६ विकट गुमाए पनि पछिल्लो क्रममा आएका कर्टिस क्याम्फरले आयरल्यान्डलाई समान जनक अवस्थामा पु¥याए। सातौं नम्बरमा ब्याटिङका लागि आएका दाया हाते ब्याट्सम्यान क्याम्फरले ६८ रन बनाए। यसअघि पहिलो एक दिवसीयमा पनि उनले अविजित ५९ रन बनाएका थिए। २०० रनको स्कोर पार गराउने क्रममा उनले ८७ बल खेल्दै ८ चौका प्रहार गरे। क्याम्फरले सातौँ विकेटका लागि सिमि सिंहसँग ६० रनको तथा आठौँ विकेटका लागि एन्डी म्याकब्राइनसँग ५६ रनको साझेदारी गरेका थिए। सिंगले २५ तथा म्याकब्रायनले २४ रन बनाए। ह्यारी टेक्टरले २८, लोर्कन टकरले २१ रन जोडेका थिए।

यो सिरिजपछि इंग्ल्यान्डले पाकिस्तानसँग अगस्ट ५ देखि तीन टेस्टको सिरिज खेल्नेछ। टेस्ट सिरिजपछि अगस्ट २८ बाट तीन टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि हुने कार्यतालिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.