रकम अनियमितता गरेको आरोप

|

बाँके : नरैनापुर गाउँपालिकाले कोभिड-१९ (कोरोना भाइरस) संक्रमण नियन्त्रण तथा रोकथाममा लागेको खर्च सार्वजनिक गरेको छ। गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा गत असार मसान्तसम्म एक करोड ४१ लाख ६४ हजार ८४६ रूपैँया खर्च भएको जनाएको छ। 
नरैनापुर गाउँपालिका-६, गंगापुरका सोहनलाल यादवले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा भएको खर्चको सूचना माग गरेपछि गाउँपालिकाले प्रकोप ब्यवस्थापन कोषमार्फत रकम खर्च गरेको जनाएको छ। 

गाउँपालिकाले सबैभन्दा धेरै क्‍वारेन्टाइन व्यवस्थापनमा खर्च भएको जनाएको छ। क्‍वारेन्टाइनमा बसेकालाई खाना, खाजा, ग्यास, चुल्हो, दाउरा, भाँडा वर्तन खरिद र जेनेरेटर भाडा बापत ४५ लाख १५ हजार ७७८ रूपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। 

त्यसैगरि खाजा, यातायात र संचाारमा ३० लाख ६३ हजार ५५६ रुपैयाँ खर्च भएको खरालले बताए। उनले उक्त खर्च क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका भान्से, सर-सफाईकर्मी, स्वास्थ्यकर्मीको खाजा तथा यातायात खर्च, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीको भ्रमण भत्ता र आईसोलेट गर्ने क्रममा लागेको रकम भएको बताएका छन्। 

असंगठित क्षेत्रका मजदुरलाई खाद्यन्न वितरणमा १४ लाख ६८ हजार ३३६ रुपैयाँ खर्च भएको बताउँदै बन्दोबस्तीका सामग्री (झुल, तन्ना, पि–फर्म, म्याट्रिक्स कम्बल) खरिदमा २१ लाख ७९ हजार एक सय रुपैयाँ खर्च भएको जानकारी गराए। 

गाउँपालिकाले विविध र आर्थिक सहयोगमा दुई लाख ४६ हजार ९९७ रुपैयाँ खर्च भएको जनाउँदै गाडी तथा एम्बुलेन्स भाडामा ६ लाख ६० हजार तीन सय रुपैयाँ खर्च निकालेको छ। 

नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा आइसोलेसन केन्द्र निर्माणमा पाँच लाख १६ हजार १७८ रुपैयाँ खर्च गाउँपालिकाले देखाएको छ। 

क्‍वारेन्टाइन मर्मत तथा भौतिक पूर्वाधार निर्माण (चुना, सोलार, हेण्डपम्प र टेन्ट भाडातर्फ चार लाख ४४ हजार ९६ रुपैयाँ खर्च भएको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत खरालले प्रचार प्रसारमा मात्र ७८ हजार ८५० रुपैयाँ खर्च देखाएका छन्।   

उनले असार मसान्तसम्म स्वास्थ्य सामग्री तथा औषधि खरिदमा नौँ लाख ९१ हजार ६५५ रुपैयाँ खर्च भएको बताए। उक्त रुपैयाँ भिटिएम, पिपिई, माक्स, सेनिटाइजर, ग्लोब्स र इन्फ्रारेड थर्मामिटर खरिद गरिएको जिकिर गरे। 

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्ने नाममा अनियमितता गरेको आरोप लागेपछि गाउँपालिकाले यसमा कुनै सत्यता नभएको जनाएको छ। 

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा भएको खर्च यथार्थ भएको बताए। ‘विपक्षीले रकम अनियमितता भएको आरोप लगाउनु स्वभाविक हो, तर आरोपमा कुनै सत्यता छैन,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.