|

बाँके : आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्जमा मात्र ५० करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माण भए। नयाँ निर्माण भएका संरचनामा अधिकांश प्रतियोगिता भए। आठौँ राष्ट्रिय प्रतियोगिता सकिएको केही महिनापछि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारीको कार्यावधि सकियो। त्यसपछि करोडौँ रुपैयाँ खर्चेर बनाइएका संरचना प्रयोगविहीन भए। अहिले यी संरचना संरक्षणको पर्खाइमा छन्।

अन्तर्राष्ट्रिय मापदण्डको स्विमिङ पुल, बर्मुडा घाँससहितको अत्याधुनिक फुटवल मैदान, पाँच सय दर्शक क्षमताको जी स्ट्याण्डर्डको भिआइपी प्यारापिट, भारोत्तोलन एकेडेमी र सुटिङरेन्जले खेलाडीको प्रतीक्षा गरिरहेका छन्।

खेलाडीले अभ्यास खेल खेल्न नपाएपछि हेण्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटवल कोर्ट पनि खेलाडीको पर्खाईमा छन्। नेपालगन्ज रंगशालामा झण्डै ५० करोडमा निर्माण भएका संरचना खेलाडीको पर्खाईमा भएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए। 

निर्माण भएका संरचनाको संरक्षण तथा सञ्‍चालनका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले कार्यविधि बनाएर परिषदमा पठाए पनि स्वीकृत नगर्दा कार्यविधिले पूर्णता नपाएको चन्दले बताए। 'आठौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएपछि निर्माण भएका संरचना प्रयोगविहीन छन् नै करोडौँ खर्चेर निर्माण भएका संरचना संरक्षण गर्न समस्या छ,’ उनले भने।

कर्मचारी नियुक्तिलगत्तै लकडाउन

नेपालगन्जमा निर्माण भएको पौडी पोखरी काठमाडौँ पछिको दोस्रो हो। पौडी पोखरीमा हुने प्रतियोगिता अवलोकनका लागि प्यारापिट, पौडी प्रतियोगिता र अभ्यास खेलका लागि आवश्यक पर्ने सुविधा सम्पन्न भवन पनि निर्माण भएको छ।

झण्डै ५० लाख खर्चेर निर्माण भएको उक्त पौडी पोखरी संचालनका लागि कर्मचारी नियुक्ति गरेलगत्तै लकडाउन भएपछि रोकिएको चन्दले बताए। उनले पौडी पोखरी संचालनका लागि कार्यविधिसँगै कर्मचारी छनोट भइसकेको बताए। 'पौडी पोखरीले खेलाडी र पौडी खेल्न चाहने सर्वसाधारणको प्रतीक्षा गरिरहेको छ। तर, सरकारले अभ्यास खेलका लागिसमेत रंगशाला नखोल्दा सवै काम रोकिएको छ,’ उनले भने।

पदाधिकारी नहुँदा संरक्षण गर्न समस्या

देश संघीय संरचनामा गए पनि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संरचना फेरिएको छैन। नेपालगन्जमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नाम ५ नं. प्रादेशिक खेलकुद विकास समिति भए पनि अझै पनि मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिकै नाममा कार्यालय सञ्‍चालन भइरहेको छ। उक्त समिति पदाधिकारीविहीन भएको झण्डै एक वर्ष बित्दासमेत नयाँ पदाधिकारी नआउँदा कर्मचारीले संरक्षण गर्दै आएका छन्।

पदाधिकारी नहुँदा निर्माण भएका संरचना संरक्षणमा समस्या देखिएको नेपाल भलिवल संघका सचिव टिएस ठकुरीले बताए। उनले नेपालगन्ज रंगशालामा निर्माण भएका महत्वपूर्ण भौतिक संरचना अलपत्र परेको बताए। 'कर्मचारीले संरक्षणको प्रयास गरेका छन्, तर पदाधिकारी चयन नहुँदा कानुनी जटिलता आएको छ। यसले बनेका संरचना धराशायी हुने खतरा बढेको छ,’ उनले भने।

संरचना संरक्षणमा समस्या

नयाँ खेलकुद नीति आएपछि जिल्ला खेलकुद विकास समिति पनि पदाधिकारीविहीन भएको छ। यसले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि बाँके र बर्दियामा निर्माण भएका झण्डै एक करोड रुपैयाँ लागतमा निर्माण भएका भौतिक संरचना संरक्षण गर्न समस्या भएको छ। प्रतियोगिता सकिएको एक वर्ष बित्न लाग्दासमेत संरक्षणका लागि कुनै प्रयास नभएको बर्दिया जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष खगेन्द्र खनालले बताए।

उनले संरक्षणका लागि नीति र कार्यक्रम नआउँदा बर्दियामा निर्माण भएका संरचना संरक्षण गर्न समस्या भएको जिकिर गरे। दाङ र बाँकेमा निर्माण भएका अन्य खेलकुद संरचना पनि संरक्षण हुन नसक्दा अलपत्र पर्ने अवस्थामा पुगेका छन्। 'संरक्षणको प्रयास भए पनि परिषदले रकम विनियोजन नगर्दा अधिकांश संरचना अलपत्र परेका छन्,’ बाँके जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेतले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.