|
फाइल फोटो

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाबारे सरोकारवालासँग छलफल गरेको छ। कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री योगेश भट्टराईले आज सरोकारवालाहरुसँग छलफल गरेका हुन्। 

छलफलमा सहभागी नेपाली कांग्रेसका नेता गगन थापाले त्यो ठाउँबाट स्थानीयलाई स्थानान्तरण गर्न खोजे सांस्कृतिक विषय लोप हुँदै जाने बताए। स्थानीयको प्रत्यक्ष सहभागिता नभए प्राचीनदेखि चल्दै आएका जात्रा र पर्वहरू समेत बन्द हुन सक्ने उनले बताए। स्थानीयको सहभागिता नभए जतिसुकै स्रोतको व्यवस्थापन भएपनि जात्रा गर्न नसकिने उनको धारणा थियो। 

मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्वहरु सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्ने बताए। छलफलमा मन्त्री भट्टराईले १० करोडको अक्षयकोष निर्माणका लागि प्रस्ताव गरेका छन्। ५० प्रतिशत रकम पशुपति क्षेत्र विकास कोषबाट र आधा रकम महानगरपालिकाले बेहोर्ने गरी अक्षयकोष स्थापना गर्नुपर्ने उनले बताए। 

तत्कालका लागि गुरु योजनाको काम स्थगित भएको छ । छलफलपछि एक महिना गुरुयोजनाको काम स्थगित गरेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ । गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको योजना समेटिएपछि स्थानीयहरु आन्दोलनमा छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.