देउवा समूहसँग मिल्ने सिटाैलाको तयारी

|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ। पार्टीको १४ औं महाधिवेशन फागुन ७ मै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन कांग्रेसमा महाधिवेशनको रौनकले छाएको हो। 

कांग्रेसमा अहिले तीन वटा गुट सक्रिय छन्। सभापति शेरबहादुर देउवा समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह। तीन समूह भए पनि अहिले देउवा समूह र पौडेल समूहबीच रस्साकस्सी चलेको छ।

महाधिवेशन हुने सम्भावना बढेसँगै नेताहरुले शक्ति आर्जन गर्न धमाधम गुट भेला गरिरहेका छन्। यद्यपि कांग्रेसका कुनै पनि नेताहरुले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन्। 

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षीमध्ये चर्चित अनुहार हुन्। 

कुन गुटलाई के आपत्?

सभापति शेरबहादुर देउवा अहिले पनि सभापतिको उम्मेदवार बन्‍ने मनस्थितिमै छन्। केही समययता पार्टीका विभाग र भ्रातृ संगठनमा उनले गरेको नियुक्तिले त्यही देखाउँछ। अर्कातिर सूर्यबहादुर पुत्र सुनिल थापालाई भित्र्याएर देउवाले त्यसको स्पष्ट छनक दिइसकेका छन्। 

त्यस समूहबाट देउवाकै उत्तराधिकारीको रुपमा हेरिएका पार्टी उपसभापति विमलेन्द्र निधि पनि सभापति लड्ने दाउमा छन्। उनले आफूनिकट नेताहरुलाई जानकारी गराइसकेका छन्। तर, उनले देउवालाई पेल्न सक्ने सामर्थ्य राख्दैनन्। 

यो गुटमा अरु कोही सभापति बन्छु भन्‍ने निस्केको छैन। तर, यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा भने आधा दर्जन नेताको सभापतिको उम्मेदवार बन्‍न रस्साकस्सी छ। यो गुटको नेतृत्व गर्दै आइरहेका वरिष्ठ नेता पौडेल आफैं यसपटक पनि सभापति पदका मुख्य दाबेदार हुन्।

शेखर-शशांकको तयारी

त्यस्तै कांग्रेसका महामन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाका छोरा शशांकले पनि सभापति लड्ने बताउँदै आएका छन्। कोइराला परिवारकै अर्का नेता शेखर पनि यस पटक सभापति लड्ने तयारीमा छन्।

त्यही तयारीस्वरुप उनले एक वर्षयता देश दौडाहा गरिसकेका छन्। त्यस्तै कांग्रेसका अर्का आदर्श गणेशमान सिंह पुत्र  प्रकाशमानले पनि यसपटक सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन्।

उनी कांग्रेसका पूर्वमहामन्त्री पनि हुन्। त्यस्तै रामशरण महत पनि सभापतिको उम्मेदवार हुन पाउनुपर्ने बताउँदै आएका छन्। सभापति लगायत अन्य पदमा उम्मेदवार उठाउने विषयमा देउवाले सहजै निर्णय लिन सक्छन् र पेल्न पनि। तर, यता पौडेल पक्षमा भने कोहीले कोहीलाई टेर्ने छाँट देखिएको छैन्। ‘हाम्रा साथीहरूबीच छलफल भइरहेको छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘हामी गुटभन्दा माथि उठेर उम्मेदवार छनोट गर्छौँ।’ 

सिटौला समूह मौन

१३ औँ महाधिवेशन सकिएको ६ महिनाभित्र विस्तार गर्नुपर्ने विभाग र समितिमा १४ औँ महाधिवेशन आउन ७ महिना मात्र बाँकी छँदा देउवाले धमाधम विभाग र समितिमा आफूनिकट नेताहरुलाई जिम्मेवारी दिइरहेका छन्। महाधिवेशनको मिति तोकिसकेपछि विभाग र समितिहरु गठन गर्नु महाधिवेशन प्रभावित पार्न खोज्‍नु भएको पौडेलको पक्षको निष्कर्ष छ।

पौडेल पक्षले सभापति देउवालाई हालै गठन भएका विभाग खारेज गर्न माग गर्दै ध्यानाकर्षण पत्र पनि बुझाइसकेको छ। तर, देउवा टसमस छैनन्। उल्टै उनले यस्ता कुरा लिएर फेरि आफूकहाँ नआउन भन्दै फर्काइदिएका छन्। 

बरु उनी निरन्तर विभाग विस्तारमा व्यस्त छन्। पौडेल पक्षले देउवा कदमको विरोध गरिरहँदा कांग्रेसकै तेस्रो समूहको नेतृत्व गर्दै आइरहेको कृष्णप्रसाद सिटौला समूह भने मौन छ।

१४ औँ महाधिवेशनमा सिटौला समूह देउवा समूहसँग मिलेर जाने तयारीमा छ। ‘सिटौला दाइहरू हाम्रै समूहमा (देउवा समूह) आउने तयारीमा हुनुहुन्छ,’ देउवानिकट एक नेताले भने, ‘उहाँसँग छलफल भइरहेको छ।’

सिटौलाले चण्डोलमा सम्पर्क कार्यालय भने खोलेका छन्। महाधिवेशनकै लागि पौडेल समूहले पनि अनामनगरमा सम्पर्क कार्यालय खोलिसकेको छ। यता प्रकाशमान सिंहले पनि आफ्नै निवास चाक्सीबारी ठमेलमा सम्पर्क कार्यालय बनाएका छन्।

चाक्सीबारीमा अहिले नेताहरुको भिड लाग्न थालिसकेको छ। शेखर कोइरालाले पनि अनामनगरमै सम्पर्क कार्यालय बनाएका छन्। सभापति देउवाले भने आफ्नै निवास बूढानीलकण्ठलाई महाधिवेशनको पूर्व तयारीको थलो बनाएका छन्।      

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.