सरकारी कार्यालयमै लापरवाही

|

सुर्खेत : लकडाउन खुलेसँगै सुर्खेतको मालपोत कार्यालयमा अहिले सेवाग्राहीको भीड लाग्ने गरेको छ। लाइनमा पालो पाउन र छिटो आफ्नो काम गर्न सेवाग्राही ठेलमठेल गरिरहेका देखिन्छन्।

भिडभाडमा कोरोना सर्ने चिन्ताभन्दा पनि आफ्नो काम पहिले कसरी सक्ने र कामबाट फुर्सद पाउने ध्याउन्नमा सेवाग्राही देखिन्थे। लेखापढी व्यवसायीको भीड पनि कार्यालय परिसरमा थियो। यसैगरी जग्गा कारोबारीको पनि बाक्लो रुपमा उपस्थिति देखिन्थ्यो। 

मालपोत कार्यालय सुर्खेतमा भेटिका चिङ्गाड गाउँपालिका ३ का बोधविक्रम जिसीले कोरोनाको संक्रमण अझै बढ्ने भन्दै चिन्ता गरे। ‘सरकारी कार्यालय र सार्वजनिक स्थानमा  भिड बढिरहेको छ, यसरी त कोरोना सर्न सक्छ,’ उनले भने, ‘दूरी कायम भएको देखिँदैन।’

सुर्खेत लेकबेसीका रुद्र विक पनि कोरोनाको डर अझै बढ्नेमा सशंकित देखिए। ‘भोलिका लागि काम पनि नगरी नहुने छ’, उनले भने, ‘काम गरौं भने पनि कहाँ कहाँका मान्छे भेट हुन्छन्, सुरक्षा केही छैन, कोरोनाको डर भए पनि काम त गर्नुप¥यो।’

अझै पनि यस्तै लापबारही बढ्ने र सचेतना नआउने हो भने सङ्क्रमण भयावह हुनसक्ने खतरा चिकित्सकहरुले चेतावनी दिइरहेका छन्। प्रदेश अस्पतालमा कोरोना सङ्क्रमित अस्पतालमा खटिएका डा. नवराज केसीले लकडाउन खुकुलोपछि सङ्क्रमणको अवस्था अलि बढेको बताए।

उनले कर्णालीमा भारतमा आउनेहरुको संख्या कम भएको तर सङ्क्रमण भने दिनदिनै बढेकोले समुदायस्तरमा फैलिँदै गएको जनाए। क्वारेन्टाइन तथा आइसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरुमा सङ्क्रमण फैलिएको छ। कर्णालीका संक्रमितहरुमा अहिलेसम्म कोरोनाको लक्षण  देखिएको छैन भन्दा पनि हुन्छ। 

जोखिम बढी हुने समुदायको परीक्षण 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोरोना सङक्रमण बढी हुने क्षेत्रलाई विभाजन गरी परीक्षण गर्न लागेको छ। यातायात व्यवसायी, व्यापारी, तरकारी पसलेहरुलाई बढी जोखिमयुक्त क्षेत्र मानेर परीक्षण गर्न लागिएको कार्यालयले जनाएको छ। 

कार्यालय प्रमुख चेतननिधि वाग्लेले अहिले समुदायमा पनि कोरोना पुगेकोले बढी जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर परीक्षण गरिने बताए। सुर्खेतमा मात्रै करिब पाँच सयदेखि छ सयसम्म जनाको परीक्षण गर्ने तयारी रहेको जानकारी दिँदै उनले यातायात मजदुर, व्यापारी, कर्मचारी, तरकारी पसल संचालकहरुलाई प्राथमिकता दिइने जनाए।

यी क्षेत्रका व्यक्तिलाई परीक्षण गरेपछि समुदायमा फैलिए नफैलिएको एकीन हुने उनको भनाइ छ। अहिले कर्णालीमा कोरोना पोजेटिभ देखिएकाहरुमा ट्राभल हिस्ट्री नभएको पाइएको छ।
लकडाउन खुलेपछि सङ्क्रमणको जोखिम बढेकोले त्रास पनि बढेको छ। मास्क अनिवार्य लगाउन र बारम्बार हात धुने काममात्रै गरेमा पनि कोरोनाबाट बच्न सकिने जनस्वास्थ्य सेवा प्रमुख वाग्लेले बताए।

चार जिल्लामा सङ्क्रमित शून्य

कर्णालीका चार जिल्लामा कोरोना सङ्क्रमितको संख्या शुन्य रहेको छ। महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा सङ्क्रमितको संख्या शुन्य रहेको छ। अब मुगुमा एक जना, सल्यानमा नौ जना, कालिकोटमा १२ जना, सुर्खेतमा ३६ र दैलेखमा १२७ जना आइसोलेसनमा छन्। कोरोनाबाट कर्णालीमा हालसम्म ६ जनाले ज्यान गुमाएका छन्। 

कोरोना जित्नेको संख्या बढ्दै

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दो क्रममा रहे पनि संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ११ मात्र छ। संक्रमित १९ सय ३९ मध्ये १७ सय २२ जना संक्रमणमुक्त भएका हुन्।

यद्यपि लकडाउन हटिसकेकाले कोरोना संक्रमणको जोखिम भने बढ्दो छ। शनिबार एक जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पाल्पाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.