|

तनहुँ : तागाधारी हिन्दु समाजमा जनै धारण नगरेका व्यक्ति विभिन्न क्रियाकलापमा अयोग्य ठहरिन्छन्। पुस्तान्तरण र समय परिवर्तनसँगै थातथलोबाट बाहिरिएका युवाहरूले जनै बनाउने र धारण गर्ने विधि नै बिर्सन लागिसकेका छन्‌।

​कोरोना महामारीबाट विश्व नै आक्रान्त भइरहँदा घरमै बसिरहेका युवाहरूले यतिखेर आफ्नो धर्म-संस्कृति र रीतिथिति सिक्न पाएका छन्‌। संस्कृति लोप हुनसक्ने जोखिम बढेपछि तनहुँको व्यास नगरपालिका-१३ गुँदीका स्थानीय युवाहरू 'जनै संस्कृति संरक्षण अभियान'मा जुटेका छन्। तालिम लिएपछि यहाँका युवाहरू जनै बनाउन पोख्त भएका छन्‌।

तागाधारी समुदायको पहिचानको रुपमा रहेको जनै गाउँमै उत्पादन गर्नतर्फ आफूहरू सक्रिय बनेको अभियानका अभियन्ता ईश्वरराज पन्थले बताए। उनका अनुसार यहाँका पाका पुस्ताले युवा पुस्तालाई जनै बाट्न सिकाएर पोख्त बनाइसकेका छन्‌। गुदीका स्थानीय तथा युवाहरू पनि जनै संस्कृति जोगाउनका व्यस्त छन्।  

तागाधारी हिन्दु ब्राह्मणलाई जनैको महत्वबारे बुझाउँदै र संस्कृति संरक्षणमा जागरुक बनाउनुका साथै विदेशबाट जनै आयात प्रतिस्थापन गर्न गाउँमै जनै निर्माण अभियान थालिएको  हो। स्थानीय उत्पादनलाई प्राथमिकता दिएर कला-संस्कृतिको संरक्षणमा युवापुस्ता लाग्नुपर्ने यहाँका स्थानीयहरूले बताएका छन्‌। ‘विदेशबाट आयातित जनैभन्दा स्थानीय उत्पादन शुद्ध हुने भएकाले र आफ्नो संस्कृतिप्रति नयाँ पुस्तालाई आकर्षित गर्न यो अभियान थालिएको हो,’ पन्तले भने।

गाउँका पाका व्यक्तिहरू यतिखेर युवा पुस्तालाई  जनै बाट्ने सीप हस्तान्तरण तल्लिन छन्। बद्रिनाथ पन्थ, डिल बहादुर सुवेदी, इन्द्रविलास पन्थलगायत १० जना अग्रजहरूले गाउँका ३० युवालाई जनै बनाउन सिकाएका हुन्। गाउँमा आयातित जनै भित्रिन नदिन यो सिकाइले टेवा पुग्ने प्रशिक्षार्थी सुमन पन्थले बताए।

आफ्नो पहिचानलाई भुल्दै गएमा तागाधारीको पहिचान लोप हुनसक्ने भएकाले यसको संरक्षण गर्न अभियान थालिएको प्रशिक्षक र प्रशिक्षार्थीहरूले बताएका छन्‌। ​अध्ययन तथा रोजगारीको शिलशिलामा विदेश तथा विभिन्न स्थानमा पुगेका युवाहरू समेत कोभिड-१९ का कारण अहिले गाउँमा फर्किएका छन्। जनै अभियानले यी युवाहरूलाई पनि संस्कृतिसँग साक्षात्कार गराइरहेको छ। 

युवाहरूले संस्कृति सिक्न र संरक्षण गर्न चासो दिएपछि समाजका अग्रज व्यक्तिहरू निकै खुशी भएका छन्‌। नयाँ पुस्ताले सिकेको मात्र नभई संस्कृति नै हस्तान्तरण भएकाले उनीहरू हर्षित पनि बनेका छन्‌।

‘युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्न पाएका छौं,’ प्रशिक्षक बन्द्रीनाथ पन्थले भने, ‘तागाधारी युवाहरूलाई सिकाउन पाए अझ राम्रो हुने थियो।’ युवाको सिक्ने चासोले नै हरेक संस्कृतिको संरक्षण हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.