|

सल्यान : कोरोना भाइरस महामारीका कारण सल्यान जिल्लामा घरजग्गामाथि महिलाको स्वामित्व घटेको पाइएको छ। सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घर जग्गा पास गर्दा राजस्वमा छुट दिए पनि गत आर्थिक वर्ष २०७६/०७७ मा यस्तो स्वामित्व घटेको हो। 

महिला र दलितका नाममा घरजग्गा पास गर्दा मालपोत दर्ता (रजिष्ट्रेसन) दस्तुरमा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ। घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्वदर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिँदै आइरहेको छ। 

जिल्लामा महिलाका नाममा जग्गा दर्ता र पास गर्नेको संख्या घटेको मालपोत कार्यालय सल्यानले जनाएको छ। विगतका वर्षहरूमा राजस्व छुट पाउने भएपछि महिलाको नाममा २० देखि ३० प्रतिशतसम्मले ​घरजग्गा स्वामित्व दर्ता वृद्धि भए थियो।

तर, कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण गत आर्थिक वर्षमा यो दर घटेको मालपोत कार्यालय सल्यानका सूचना अधिकारी दीपक बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ७९९ जना महिलाका नाममा जिल्लाका घरजग्गा दर्ता भएको छ। आ.व २०७५/०७६ मा एक हजार ९०२ जना महिलाका नाममा घरजग्गा दर्ता भएको थियो। 

मालपोत कार्यालयका अनुसार शहरी क्षेत्रमा बस्ने ४६५ र ग्रामीण क्षेत्रमा बस्ने ३२६ जना गरी ७९१ जना महिलालाई घरजग्गा दर्ता शुल्कमा २० लाख २९ हजार ४  सय ८९ रुपैयाँ बराबर छुट दिइएको छ। यस्तै, शहरी क्षेत्रमा बस्ने ८ जना र ग्रामीण क्षेत्रमा बस्ने २ जना गरी १० जना दलित तथा जनजातिलाई  १६ हजार १ सय ५० रुपैयाँ छुट दिइएको बुढाथोकीले बताए।

सरकारले शहरी क्षेत्रका महिलाका लागि २५ प्रतिशत र ग्रामीण क्षेत्रका महिलाका लागि ३० प्रतिशतसम्म मालपोत दस्तुरमा छुट दिने व्यवस्था गरेको छ। तर, बन्दाबन्दीका कारण लिखत कम हुँदा महिला, दलित तथा जनजातिहरूको नाममा घरजग्गा पास गर्नेहरूको संख्या घटेको बुढाथोकीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.