ज्वरो आएपछि कार्यालयमा उपस्थित भएका थिएनन्

|

काठमाडौं : प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाका प्रारम्भिक लक्षणका आधारमा स्वाब परीक्षण गर्दा आचार्यलाई कोरोना पोजेटिभ देखिएको हो।

प्रदेश १ सरकारका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको यो पहिलो हो। आचार्य, उनकी श्रीमती र छोरालाई कोरोना पोजेटिभ देखिएको हो। परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैंले स्वाब परीक्षण गराएका थिए। 

कसरी लाग्यो कोरोना ? 

मुख्य न्यायाधिवक्ताको सचिवालयका अनुसार उनीहरुमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत खुलेको छैन। ‘सरले नै भन्‍नु भएअनुसार उहाँको परिवार लामो समयदेखि बाहिर कतै यात्रा गरेको छैन,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँले आफू र परिवारका सदस्यलाई कडा खालको ज्वरो आएको भन्दै  कार्यालय पनि आउनु भएको थिएन। सार्वजनिक कार्यक्रममा त जाने कुरै भएन।’ आचार्यका परिवार विराटनगर महानगरपालिका ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन बसेका छन्। 

उनी दुई हप्ता यता कार्यालय नगएको प्रदेश १ को मुख्य न्यायाधिवक्ता कार्यालयकी सूचना अधिकारी रेवती सुवेदीले जानकारी दिइन्। ‘सर अफिस नआउनु भएको त १३ दिन जति भयो,’ उनले थाहाखबरसँग भनिन्। अफिस नआएपनि उनी यसबीचमा केही बैठकहरूमा सहभागी भने भएका छन्। 

यता मुख्य न्यायाधिवक्ताका स्वकीय सचिव हरि पोखरेलका अनुसार मुख्य न्यायाधिवक्ता र उनका परिवारका सदस्य कोहीको पनि पछिल्लो ट्राभल हिस्ट्री छैन। उनीहरु घर बाहिर गएका छैनन्। 

‘उहाँहरुको ट्राभल हिस्ट्री केही छैन। कसरी संक्रमण भयो त्यो अहिले आएको छैन ,’ उनले भने, ‘यो मात्रै होइन, उहाँहरु पछिल्लो समय कतै जोखिम भएको ठाउँमा, भीडभाडमा र आफन्तकहाँ जानु भएको छैन।’ 

आचार्यसहित तीन जनालाई नै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ। यसअघि प्रदेश २ संघीय सांसद र महानगरका मेयर सहितलाई कोरोना देखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.