प्रचण्डलाई तितेकरेली खुवाएर कुरा मिलाउन सुझाव

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली करिब ६ महिनापछि आफ्नो निजी निवास बालकोट पुगेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता परिणाममुखी नभएपछि ओली सरकारी निवास बालुवाटारबाट भक्तपुरको बालकोट पुगेका हुन्। 

बालकोट पुगेर करिब सवा घण्टासम्म बसेका प्रधानमन्त्री ओलीले भक्तपुरका नेता महेश बस्नेतसहितका नेकपा नेताहरुसँग छलफल गरेका थिए।

पत्नी राधिकासहित आफ्नो निवासमा पुगेका ओलीले त्यस क्रममा तरकारी बारी, बगैँचादेखि आफ्नो शयन कक्षसम्म हेरेका थिए। उनले आफ्नो निवासको जानकारी लिँदै त्यहीँ भक्तपुरका नेकपा नेता कार्यकर्ता र प्रशासकहरुसँग पनि छलफल गरेका छन्। 

ओलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका अधिकारीसहित कार्यालय प्रमुखहरुसँग पनि छलफल गरेका छन्। ओलीले त्यसक्रममा कोभिड–१९ को संक्रमण र नियन्त्रणबारे पनि परामर्श गरेका थिए। 

अढाइ वर्षपछि आउँछु 

बालकोटमा सवा घण्टा बसिसकेपछि प्रधानमन्त्री ओली बालुवाटारतर्फ लागेका थिए। त्यसक्रममा आफ्नो निवासमा बस्दै आएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट बालकोट फर्किने मितिबारे जिज्ञासा राखेका थिए। 

‘उहाँले आफ्नो निवासमा भक्तपुरका नेकपा नेता कार्यकर्ता र प्रशासकहरुसँग सवा घण्टा छलफल गर्नुभयो’, बाँस्कोटाले थाहाखबरसँग भने, ‘बालकोट निवासबाट बाहिरिने क्रममा मैले घर कहिले फर्किनुहुन्छ भनेर सोधेँ। उत्तरमा उहाँले, ‘अब अढाइ वर्षपछि आउँला भनेर बालुवाटारतिर लाग्नुभयो।’

प्रधानमन्त्री ओली यसअघि आफ्नो निजी निवासमा गत माघको श्री पञ्चमीमा पुगेका थिए। त्यसपछि फागुनमा ओलीले मिर्गौला प्रत्यारोपण गरेका थिए। 

तितेकरेली खुवाउन सुझाव

बालकोटमा भएको छलफलका क्रममा भक्तपुरका नेकपा नेता महेश बस्ने र पूर्वमन्त्री बाँस्कोटाले आजै अर्का अध्यक्ष प्रचण्डसँग भएको वार्ताबारे जिज्ञासा राखेका थिए। 

‘बालुवाटारमा प्रचण्डजीसँग आज पनि वार्तामा बस्यौँ। बिहानको बैठक तातोतातो जेरी खाएर सुरु गर्यौं’, ओलीको भनाइ उद्धृत गर्दै बाँस्कोटाले भने, ‘जेरीको स्वाद कस्तो भयो? भन्ने हाम्रो जिज्ञासामा उहाँले ‘एकदमै मिठो भयो। तर कुरा चाहिँ त्यस्तै हो भन्दै मुन्टो हल्लाउनुभयो।’

प्रधानमन्त्रीले त्यसो भनेपछि नेकपाका कार्यकर्ताले भोलि चाहिँ तितेकरेली खुवाउन सुझाव दिए। ‘आज जेरी खुवाउनु भएछ अब भोलि चाहिँ तितेकरेली खुवाउनुस् भनेर सुझाव दिएका छौँ’, बाँस्कोटाले भने, ‘मुखै तितो बनायो तितेकरेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले’ भन्ने गीत पनि चर्चित छ नि।’

बनेपा गएका थिए बाँस्कोटा

ओलीको बालकोटस्थित निवासमा बस्दै आएका बाँस्कोटा सोमबार बनेपा गएका थिए। बनेपाको ब्रह्मकुमारी राजयोगमा रक्षाबन्धन बाँध्न गएका उनी फर्किँदै गर्दा प्रधानमन्त्री बालकोट आउँदै गरेको खबर पाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.