गाउँपालिका अध्यक्ष बिर्ख रोकायाले आफ्नो पारिश्रामिकबाट विनयलाई पढाएका थिए

|

‘ए मेरो प्रिय, चुइने, घरको छानो मिलेर टालुली भन्थिस् तँ, १/२ वर्षमा परिवारमा नयाँ खुसीले छाउली भन्थिस् तँ’ एई कुरा भगवानले सुनिदिएको रहेछ, भनेजस्तै छका हानेर गइस्,
कसरी आउला प्रदेशबाट के भनेर गएको छस् ? घरकालाई म कस्तो मुख्ले आउँला ? मिल्ने भए तोलाई सादमा लिएर आउँछौं भन्थें बुढा बाआमालाई’ ‘रेस्ट इन पिस’

दक्षिण कोरियाबाट विनयका दाई नरेश सिहंले फेसबुकमा स्टाटसबाट पीडा लेखे। 

शनिबार बिहानै डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट विनय सिंह आफ्ना चार जना साथीसँग डोटी सिलगढीस्थित शैलेश्वरी मन्दिर दर्शनमा निस्किएका थिए। साथीहरुलाई बेलुका चाँडै फर्किन्छु भनेर निस्किएका विनय कहिले नफर्किने गरी सेतीमा अस्ताए। 

शैलश्वरी मन्दिर दर्शनका लागि गएका चार जना त्यहाँ पुगेर दिउँसो डडेल्धुरा फर्किंदै थिए। बाटोमा सेती नदी पर्ने हुँदा उनीहरु नुहाउन भनी गंगनान् भन्ने स्थानमा रोकिए। नुहाँउने क्रममा चारमध्ये ३ जनालाई एकैछिनमा सेतीले बगाएर लग्यो। तीनमध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरे भने ल्याब असिस्टेन्ट हरिश जोशी र हेल्थ असिस्टेन्ट विनय सिंहलाई सेती नदीले बेपत्ता बनायो। 

बझाङ खप्तडछान्ना गाउँपालिका–५ मतुवा गाउँको गरिब परिवारमा जन्मिएका सिहंले धनगढीबाट हेल्थ असिस्टेन्ट पास गरेका थिए। पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण साहुसँग ऋण काढेर हेल्थ असिस्टेन्ट(एचए) पास गरेका विनयलाई घर व्यवहार चलाउनकै लागि भए पनि जागिर खानुथियो, चुहिने घरको छानो टाल्नुथियो, नयाँ घर बनाउनु थियो, गरिब आमाबुवाको पीडामा मलम लगाउनुथियो, थुप्रै सपना अधुरै थिए विनयका। 

तर घरको छानो टाल्न नपाउँदै सेतीमा हराए विनय। बुवा भक्तबहादुर दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँछन्। पारिवारको आर्थिक अवस्था कमजोर भएकै कारण एक वर्षअघि गाउँपालिका अध्यक्ष बिर्ख रोकायाले आफ्नो पारिश्रामिकबाट विनयलाई लोकसेवा तयारी गर्न धनगढी पठाएका थिए। 

विनयले लोकसेवा पास गरेर डडेल्धुरा अस्पतालमा जागिरे भए। सरकारी सेवामा प्रवेश गरेका वर्ष दिन नबित्दै उनको परिवारका बज्रपात परेको छ। छोराले ल्याएको त्यो खुसी परिवारमा लामो समय टिक्न सकेन। परिवारका खुसी, आमाबुवाका सबै आशा, सपना सेती नदीमा विनय बगेसँगै बिलायो। 

सोमबार दिउँसोसम्म भने विनयको अत्तोपत्तो थिएन। जीवितै आउने परिवारमा झिनो आश बाँकी थियो। उनकै परिवारका सदस्य पर्पलले फेसबुकमा ‘तिमी मुस्कुराउँदै आउँ है विनय’ भन्दै पोस्ट गरेका थिए।

'तिमी, नआइपुग्दासम्म गाँस छोडेर आश बोकेर तिमी आउँछौ, आउँदै छौं बाआमा परिवार शुभचिन्तक प्रतीक्षामा छन ब्रो विनय। तर तिमी आउने कुराप्रति डर जगाइरहेको छ। के के न हुन्छ भनेर अत्याइरहेको छ। जसले जे भनेनि हामी तिम्रो स्वागतका लागि तयारी गर्दैछु। प्रिय विनय आउ मुस्कुराउँदै’ 

तर उनको मुस्कुराउँदै विनय आउने सपना सपनामै सीमित भएको छ। बेपत्ता भएको तीन दिनपछि सोमबार दिउँसो विनयको शव फेला परेको छ। उनको शव बेपत्ता भएको स्थानबाट करिब १ किलोमिटर तल शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा भेटिएको हो। 

यसअघि आइतबार डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो।सोमबार अपराह्न जोशीको शवको पोस्टमार्टम गरेर अन्तिम संस्कार गर्न घटालथानमा लागिएको छ भने, विनयको शव पोस्टमार्टमका लागि सेतीबाट डडेल्धुरा अस्पताल ल्याइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.