|

सिमरा : पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत पथलैया सडक खण्डमा रहेको ६६ हजार केभी ‘हाइटेन्सन’ विद्युत् प्रसारण लाइनका कारण सो सडक क्षेत्रमा गुड्ने सवारी साधन  दुर्घटनाको उच्च जोखिममा परेका छन्। 

व्यापारिक मार्गमा गुड्ने प्रेटोलियम ट्यांकर, ग्यास बुलेट तथा मालवाहक ठूला सवारी साधनहरुले हाइटेन्सन लाइनलाई छुन सक्ने जोखिम बढेको छ। विद्युत् प्रसारण लाइन पिच रोडदेखि न्यूनतम् ७ मिटरको उचाइमा हुनुपर्ने भए पनि व्यापारिक मार्गको पथलैया सडक खण्डमा रहेको हाइटेन्सन लाईन ४ मिटर उचाइमा मात्र छ। 

तत्कालीन अवस्थामा डिजलबाट सञ्चालित उद्योगहरुमा विद्युत प्रसारण लाइन पुर्याउने उद्देश्यले २०३० सालमा सो हाइटेन्सन जडान गरिएको हो। त्रिशुली जलविद्युत् आयोजनाबाट हेटौंडा–वीरगन्ज–परवानीपुर जोड्न ६६ यो प्रसारण जडान गरिएको हो । 

जडानपश्चात् साढे ४ दशकको बीचमा पथलैया–वीरगन्ज सडकखण्ड धेरै पटक मर्मत सम्भार हुनुका साथै पछिल्लो समय ६ लेनको सडक विस्तार गरिएको छ। 

जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्छ : आयल निगम

नेपाल आयल निगम अम्लेखगञ्ज डिपो प्रमुख भरत रेग्मीले यो हाइटेन्सनका कारण जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने बताएका छन्। भारतबाट दैनिक ३० देखि ४० संख्यामा ग्यास बुलेट १ सयको संख्यामा पेट्राेल र डिजलका ट्ंयाकरहरु यो सडकखण्डमा गुड्ने गरेका छन्। 

दुई सरकारी कार्यालय प्रमुखबीच जुहारी 

सडक क्षेत्रमा रहेको यो लाइनलाई दायाँबाया सार्ने वा त्यसको उचाइ बढाउने भन्ने विषयमा नेपाल सरकारको दुई सरकारी कार्यालयबीच जिम्मेवारीबाट पन्छिएका छन्। विद्युत् प्राधिकरण प्रशारण निर्देशनालय हेटौंडा ग्रेड महाशाखा प्रमुख विक्रम कुमार अमात्यले बर्सेनि बाटो मर्मत गर्दा सडकको उचाइ बढ्दै गएकाले हाइटेन्सन लाइन सार्ने सम्पूर्ण जिम्मेवारी सडक विभागको भएको दाबी गर्दै आएका छन्। 

‘यो काम हाम्रो होइन, सडक मर्मत सम्भारका नाममा बर्सेनि कालोपत्रे उहाँहरुले थप्दै जानुभएको छ, यो जोखिम उहाँहरुको कारण भएकोले हाइटेन्सन सार्ने पनि उहाँहरुकै काम हो, हो’, ग्रेड महाशाखा प्रमुख अमात्यले भने ‘उहाँहरुले प्राविधिक सहयोग माग्नुभयो भने हामी सहयोग गर्न सक्छौं तर, आर्थिक लगानी हामी गर्न सक्दैनौ।’ 

पथलैया–वीरगन्ज व्यापारिक मार्ग कार्यालयले भने सडक खण्डमा रहेको उक्त प्रशारण लाइनलाई अन्यत्र सार्न वा उचाइ बढाउन विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई समेत पटक पटक जानकारी गराए पनि सुनुवाइ नभएको जनाएको छ। 

व्यापारिक मार्ग कार्यालयका प्रमुख इन्जिनियर संजय मिश्रले भने, ‘यो हाम्रो बजेटले थेग्न सक्ने काम  होइन, २/४ लाखले हुने भए हामी आफैं बनाउँथ्यौं, २/४ करोड लाग्ने भएकोले हामीले थेग्न सक्दैनौं।’ तर यसलाई मिलाउन कति खर्च लाग्छ भन्ने अध्ययन भने हालसम्म नभएको विद्युत् प्राधिकरण प्रसारण निर्देशानलय हेटौंडाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.