मर्मतमा लापरवाही गर्दै स्थानीय सरकार

|

युवराज विष्ट (भोजपुर) : बर्खा याम सुरू भएसँगै भोजपुरका ग्रामिण कच्ची सडकमा सवारी साधन त के, पैदल आवतजावत नै कष्टकर हुन थालेको छ।

सडक आवागमनयोग्य नहुँदा अधिकांश स्थानीय तहदेखि सदरमुकामसम्म यातायात सम्पर्क टुटेको छ। उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर-दिङ्ला मुख्य सडक हिलाम्मे भएपछि यात्रुवाहक तथा ढुवानीका साधनलाई दुईवटासम्म ट्याक्टर लगाएर तान्दै गन्तव्यसम्म पुर्‍याउनुपर्ने अवस्था छ। 

यस सडकमा ग्राभेल गर्न र नाली बनाउन यसअघि नै ठेक्का लागिसकेको हो। तर, मर्मत भएपनि स्थानीय सरकारको सानो असावधानीका कारण यो सडकमा अहिले सवारीसाधन चलाउन निकै सकस परिरहेको छ। सडकका केही स्थानमा ढुङ्गा-माटो मात्रै हालिदिएपनि सवारी आवागमन सुचारू हुनसक्ने, तर यसो नगर्दा आफूहरूलाई आवागमन गर्न निकै असहज भएको सवारीचालकहरूले बताएका छन्‌। 

ग्रामिण क्षेत्रका मात्र नभई भोजपुर सदरमुकामकै सडकको अवस्था बेहाल छ। भोजपुर नगरपालिकाले मर्मतमा ध्यान नदिँदा निकै जोखिम मोलेर यात्रा गर्नुपरेको सदरमुकामवासी बताउँछन्‌। 

भोजपुर-दिङ्ला सडकमा सवारीसाधन लिएर ओहोरदोहोर गरिरहने चालक सुमन तामाङले भने,‘ स्थानीय सरकारले बेवास्ता गरेकैले यस्तो अवस्था निम्तिएको हो, सडक निकै खराब छ, ज्यानको बाजी लगाएर गाडी चलाउनुपर्छ, साह्रै नै बिग्रिएको ठाउँमा नगरपालिकाले हालिदिए पनि आवतजावत गर्न सहज हुने थियो, तर नगरपालिकाले त्यही काम गर्न पनि ध्यान दिएको देख्दिनँ।’

भोजपुरको मुख्य क्षेत्र पाटीट्याङकीदेखि नै सडक हिलाम्मे रहेको स्थानीयको भनाई छ। सडक हिलाम्मे भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजसँगै दुध संकलनमा समेत समस्या भएको छ। मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरूको माग छ।

स्थानीय गणेशथान दुग्ध उद्योगका सञ्चालक रमेश कार्कीले भने, ‘कृषकले उत्पादन गरेको कृषि तथा दुग्धजन्य पदार्थ संकलन गर्नै समस्या छ, सरोकारवाला पक्षले सडक मर्मतमा ध्यान दिए सबैलाई राहत हुने थियो। सदरमुकामकै सडकमा दैनिक कष्टपूर्ण यात्रा गर्दै कृषिउपज बजारसम्म ल्याउनुपर्छ।’

सडक हिलाम्मे भएर यातायात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती महिला, आकस्मिक रूपमा बिरामी परेका मानिसहरूको उपचारमा समस्या हुने गरेको छ। यस्तै, प्राकृतिक प्रकोपका कारण कुनै पनि विपद्‌ परेमा निकै ठूलो समस्या हुने स्थानीयहरू बताउँछन्‌।

​भोजपुर नगरपालिका वडा नं–९ का वडाध्यक्ष रामबहादुर तामाङले सडक खराब भएपनि अब भदौ महिनातिर मात्र मर्मत गर्ने बताए। उनले भने, ‘सडक हिलाम्मे छ, तर पानी परिरहेकाले अहिले नै मर्मत गरे फेरि बगाउला, नगरपालिकासँग पहल गरेर मर्मत गर्ने योजना बनाएको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.