'नयाँ संक्रमितमा ट्राभल हिस्ट्री नै छैन'

|

काठमाडौं :  मुलुकभर कोरोना संक्रमितको संख्या २१ हजार माथि पुगेको छ। लकडाउन खुलेपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो। दिनप्रतिदिन २ सयमाथि संक्रमित संख्या थपिँदै गएको छ।

अहिले देखिएका संक्रमितहरुको ट्राभल हिस्ट्री नभएका र क्वारेन्टाइन बाहिरका मानिसमा कोरोना देखिन थालेको छ। लक्षणसहितका संक्रमित बढेसँगै अस्पतालमा बस्नेकाे संख्या पनि बढदै गइरहेको छ।

संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन तथा स्थानीय सरकारले कोरोना नियन्त्रणको गर्न लकडाउनदेखि निषेधाज्ञा जारी गरिसकेको छन्। सरकारले काठमाडौं उपत्यकामा बढी जोखिम रहेकोले घरबाहिर ननिस्कन र अतिआवश्यक कामबाहेक बाहिर नजान आग्रह गरिसकेको छ।

यतिखेर मुलुकको मुख्य-मुख्य सहरमा कोरोनाले प्रवेश गरिसकेको छ। दैनिक सो काठमाडौ, वीरगञ्ज, विराटनगर र इटहरी जस्ता सहरमा कोरोना संक्रमितको संख्या बढदै गएको छ।

संक्रमितको संख्या बढदै गएपछि देशभरको मुख्य-मुख्य सहरमा जोखिम बढदै गएको छ। स्थानीय सरकार र जिल्ला प्रशासनले कोरोना नियन्त्रणमा गम्भीर चासो नलिने हो भने कोरोनाको स्थिति भयावह हुँदै जाने केही दिन यता बढेको संक्रमितको संख्याले देखाइरहेको छ।

संक्रमित बढिरहेका जिल्लास्थित मुख्य-मुख्य सहरका स्थानीय सरकार र जिल्ला प्रशासन के गर्दैछ भनी थाहाखबरले बुझ्ने प्रयास गरेको छ।

'इटहरीमा कोरोना नियन्त्रण भन्दा बाहिर जान सक्छ'

दैनिक जसो संक्रमितको संख्या बढिरहेकाले उपमहानगरपालिकाभित्र रहेका मानिसको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिरहेको इटहरी उप-महानगरपालिका उपप्रमुख मञ्‍जु गौतम बताउँछिन्।

१४ गतेदेखि अहिलेसम्म ४ सय जनाको परीक्षण गर्न स्वाब संकलन गरिसकेको उनले जानकारी दिइन्। उपमहानगरपालिका क्षेत्रभित्र हालसम्म ५ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताइन्। व्यवसाय गरेर बसेका, घरमा बसेका मानिसहरु र ट्राभल हिस्ट्री नभएका मानिसहरुमा पोजिटिभ देखिइरहेको उनको भनाइ छ। उनले भनिन्,' यही अवस्था भयो भने यस क्षेत्रमा कोरोना नियन्त्रणबाहिर जान सक्छ।'

यसरी संक्रमित बढदै जाने हो यसले स्थिति भयावह हुने गौतमले जानकारी दिइन्। उनले भनिन्,' संकलन गरिएको नमुनाको आज रिजल्ट आएपछि उपमहानगरभित्र कोरोना नियन्त्रण तथा रोकथाम गर्न के गर्न सकिन्छ। थप रणनीति तयार गरिन्छ।'  उपमहानगरपालिका क्षेत्रलाई लकडाउन गरिसकिएको पनि उनले जानकारी दिइन्।

इटहरी उपमहानगरपालिका भित्रको क्वारेन्टाइनमा कोही मानिस पनि नबसेको उनले जानकारी दिइन्। उपमहानगरपालिका क्षेत्र भित्र रहेको इटहरी अस्पताललाई कोरोना उपचार केन्द्र बनाउने तयारी गरिरहेको उनको भनाइ छ। १५ शैया बेडको अस्पतालमा २५ शैया बनाएर संक्रमितको उपचार गर्ने तयारी गरिरहेको उनले प्रस्ट पारिन्।

'वीरगन्जमा कोरोना नियन्त्रणमा चुनौती'

नेपाल सरकारको स्वास्थ्य मापदण्डको प्रोटोकल अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि काम गरिरहेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले बताए।

कोरोना नियन्त्रणको लागि महानगरबासीमा बढी चुनौती थपिएको उनले बताए। निरौलाले भने,' महानगरभित्र रहेका स्वास्थ्यकर्मीहरु आफ्नो दायित्व सम्झेर काम पनि गरिरहेका छन्। सबै संक्रमितलाई जिल्लाका विभिन्न अस्पताल लगी उपचार गरिरहेका छौं।'

महानगरपालिकाको प्रमुख संक्रमित हुनु दुखको कुरा भएकाे पनि उनले बताए। महानगरका सबै कर्मचारीहरु कोरोना रोकथाम तथा नियन्त्रण गर्न लागेको पनि उनले जनाए।

केही दिन देखि यता महानगरपालिकालाई पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको पनि उनले बताए। यहीँ अवधिमा समुदायमा व्यापक परीक्षणको दायरा बढाइएको उनको दाबी छ।

केही संक्रमित घरमा उपचार गरिरहेको उनले जानकारी दिए। उनले भने,' सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको प्रोटोकल जारी गरी घरमा उपचार गरिरहेका छन्। घरमा उपचार गर्न नसक्ने हरु अस्पतालमा गएर उपचार गराइरहेका छन्।'

लकडाउनले महानगर बासीको जीवनयापनमा असहज अवस्था सिर्जना भइरहेको छ। महानगरवासी तथा विपन्न वर्ग र काम गरी खान नसक्नेलाई राहत दिने पनि तयारी गरिरहेको अधिकृत निरौलाले बताए। पहिलो लकडाउनमा महानगरवासी सबैलाई राहत वितरण गरिएको पनि उनले जानकारी दिए।

काठमाडौंमा क्वारेन्टाइन नबनाउँदा कोरोना फैलियो

काठमाडौं महानगरपालिका भित्र रहेका खाली भवनलाई खोजी उपचार केन्द्र बनाउने तयार भइरहेको स्वास्थ्य विभागका स्वास्थ्य सहायक ऋषि भुषाल बताउँछन्। समयमा क्वारेन्टाइन र आइसोलेसन बनाउन नसक्दा बाहिरबाट आएका मानिसलाई महानगरभित्र राख्न नसक्दा केही संक्रमितको संख्या बढेको उनले बताए। प्रदेश र केन्द्र सरकारले महानगरपालिकालाई कोरोना नियन्त्रण गर्नलाई सहयोग गर्न नसक्दा पनि केही असहज अवस्था आएको उनको भनाइ छ।

उनले भने,'महानगरपालिकाभित्र भएका संक्रमितलाई होम क्वारेन्टाइन र आइसोलेसनमा बस्न निर्देशन दिन्छौं। सरकारले तयार पारेको मापदण्डअनुसार घरमा बस्न दिने तयारी गरिरहेको छौं।' पछिल्लो केही दिनयता महानगरबासीले स्वास्थ्य मापदण्डको नियम केही नमानेकाले लकडाउन गर्न सरकारसमक्ष सिफारिस गरिएको भुषालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.