|

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरका कोरोना संक्रमित दुई डाक्टर र सात स्टाप नर्ससहित १८ जना आइसोलेसनमा भर्ना गरिएको छ। संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पतालकै छेउमा रहेको नर्सिङ कलेजको आइसोलेसनमा राखिएको छ।

कोरोना संक्रमण फैलिने जोखिम बढेपछि उनीहरुलाई अन्नपूर्ण होटल र रामजानकी होटलमा राखिएको थियो। तर उनीहरुको कोरोना रिपोर्ट सोमबार पोजेटिभ आयो। त्यसपछि अस्पताल प्रशासनले मंगलवार साँझ उनीहरुलाई बोलाएर आइसोलेसनमा राखेको छ।

पहिलेदेखि पनि नर्सिङ कलेजको आइसोलेसन कक्षमा केहि संक्रमित बस्छन्। जसमध्ये नर्ससहित ४ जना प्रादेशिक अस्पतालकै कर्मचारी छन्। मंगलवार साँझ भर्ना भएका डाक्टर र नर्सहरुले भने कुनै सुविधा नरहेको ठाउँमा ल्याएर राखिदिएको गुनासो गरेका छन्।

‘यहाँको आइसोलेसनमा केहि सुविधा छैन भन्ने कुरा पहिलेदेखि थाहा थियो’, संक्रमित एक नर्सले भनिन्, ‘यहाँ हामी आउन पनि चाहेका थिएनौं। तर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जामुन सिंहले धम्क्याएपछि आउन बाध्य भयौं।’ एनएमसी खारेज गरिदिनेसम्मको धम्की डा. सिंहले दिएको ति नर्सले गुनासो पोखिन्।

उनका अनुसार आइसोलेसन अस्तव्यस्त छ। बेड सफा छैन्। फोहोरले कोठा कुरुप बनेको छ। झ्याल थुनिएको छ। हावा समेत आउँदैन। बत्ती (विजुली) नभएको बेला कोठामा सास फेर्न पनि गाहे हुन्छ। तर अस्पताल प्रशासनले सुधार्न चाहेका छैन।

ति नर्सले भनिन्, ‘‘हामीले आइसोलेसनमा बस्दैनौँ भनेको हैन। तर जर्बजस्ती केहि सुविधा नै नभएको यो आइसोलेसनमा ल्याएर राख्यो। होटलबाट नआए प्रहरी लगाएर ल्याउने धम्की डा. जामुन सिंहले दिएपछि बाध्य भएर यहाँ आयौं।’ राति ११ बजे सेलाएको खाना ल्याएर दिएपछि कसैले नखाएको उनले थपिन्।

संक्रमित डाक्टर र नर्समा कोरोनाको कुनै लक्षण देखा परेको छैन। उनीहरु भन्छन्, ‘हामी अहिले लक्षणविहीन छौं। तर यहाँ धेरै जना लक्षण भएका संक्रमितहरु बसिरहेका छन्। उनीहरुसँगै राख्दा हामी थप समस्यामा पर्न सक्छौं। त्यसैले अलगै राख्न भनेपछि डा. सिंहले लाइसेन्स खारेज गरिदिन्छु, तिमीहरुलाई देखाइदिन्छु भन्दै धम्क्याएर जानुभयो।’

उनीहरुले यहाँको अव्यवस्थित आइसोलेसनमा ल्याएपछि थप समस्यामा परेको बताउँछन्। ‘तपाईहरुले आइसोलेसन व्यवस्थित बनाउन पहल गरिदिनुस्’, अर्का एक नर्सले भनिन्, ‘नत्र हामी आन्दोलन गर्छौ।’ अस्पतालकै लापरबाहीले आफुहरु संक्रमित भएको र अहिले पनि आत्मबल घटाउने काम गर्दा दुःख लागेको छ। उनले थपिन्।

यसरी सर्‍यो संक्रमण

साउन १२ मा कोरोनाले ज्यान गुमाएका धनुषाको शहिदनगर नगरपालिका ८ का ३८ वर्षीय व्यापारी श्रवण साह साउन १० मा प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उच्च ज्वरो र रुघाखोकी लागेपछि अस्पताल भर्ना भएका उनी कोरोना संक्रमित भइसकेका थिए। तर अस्पताल प्रशासनको दबाबका कारण नर्सहरु कुनै पनि सुरक्षा सामग्री प्रयोग नगरी उनको उपचारमा खटिन्। जसका कारण आज प्रादेशिक अस्पतालका डाक्टर र नर्स गरी २२ जनामा संक्रमण पुष्टि भइसकेको छ।

‘श्रवणमा देखिएको सबै लक्षण कोरोनासँग मिल्थ्यो’, एक नर्सले भनिन्, ‘तर डा. सिंहले कोरोना लागेको छैन भन्दै हामीलाई दबाब दिएर उपचारमा खट्न बाध्य बनाउनुभयो। न मास्क, न पिपिई, न ग्लोब्स। अस्पतालले केहि उपलब्ध गराएनन्। तर पनि उपचारमा खटिदा आज संक्रमित भयौं।’ उनले उपचार गर्ने बेलामै सर्तकता अपनाएको भए संक्रमित हुने थिएनौं। उनले थपिन्।

ति नर्स दिएको जानकारीअनुसार प्रादेशिक अस्पतालमा  कोरोनाले भयावह रुप लिन सक्छ। अहिले पनि अस्पतालमा शंकास्पद बिरामी आउँदा  डाक्टर र नर्सलाई मास्क, पिपिई र ग्लोब्स जस्ता सुरक्षा सामग्री बिना नै उपचारमा खटाउने गरिएको छ। डाक्टर र नर्सहरु सुरक्षा सामग्री बिना खट्न नचाहँदा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सिंहले धम्क्याउने गरेको उनीहरुको आरोप छ।

डा. सिंह सम्पर्कविहीन

नर्सहरुलाई धम्की दिने प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सिंह सम्पर्क बाहिर छन्। उनीसँग भेट्न अस्पताल पुग्दा भटिएनन। फोन गर्दा उठेन।  अस्पतालका नर्स र डाक्टरहरुले आफुहरुको समेत फोन रिसिभ नगर्ने गरेको गुनासो गरेका छन्। एक डाक्टरले भने, ‘उहाँलाई काम लाग्यो भने फोन गर्नुहुन्छ। हामीलाई काम पर्दा उहाँले फोन नै उठाउनु हुन्न।’ डा. सिंहको यस्ताे प्रवृत्तिले सबै पीडित भएको कर्मचारीहरु बताउँछन्।

भिडियो 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.