काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा हिन्दू मन्दिरको निर्माणका लागि भूमि पूजा गर्दै शिलान्यास गरेका छन्। मोदीले चाँदीले निर्मित पाँचवटा इँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेकाे बीबीसीले उल्लेख गरेको छ।
उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगीन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।
मोदीले पौराणिक पात्र भगवान् रामसँग नेपाल र भारतकाे आत्मीय सम्बन्ध जोडिएको पनि बताएका छन्। उनले भने, 'श्रीलङ्कामा रामायणको कथा जानकी हरणको नामले सुनिने गरेको छ । नेपालको त रामसँग आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ।'
दशकौंसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम सङ्गठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।
राम मन्दिरको शिलान्यास भारतमा कोरोनाभाइरसको सङ्क्रमणमा ह्वात्तै वृद्धि भइरहेको समयमा भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि भने, ‘५०० वर्ष लामो र कडा सङ्घर्ष लोकतान्त्रिक र संविधानसम्मत तरिकाले सम्पन्न भएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।