बहुमतको निर्णय पार्टी अध्यक्षले पनि मान्‍नुपर्छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेत माधवकुमार नेपालले बैठक नै नबसेर नेकपाको विवाद नमिल्ने बताएका छन्। 

उनले राजधानीमा बुधबार केही पत्रकारसँगको अन्तरक्रियाका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै केही नेतालाई बैठकको नाम लियो कि निद्रा लाग्न थालेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ कटाक्ष गरे।

असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकलाई ओली पटक पटक अनुपस्थित भएको तर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन्। 'पार्टीका संगठनहरू अलपत्र छन्, पार्टी एकताको काम प्रतिवद्धता अनुसार अघि बढ्न सकेको छैन', उनले भने, 'केन्द्रीय निकायहरू पूरा भएका छैनन्। पार्टी लठिभद्र र कागजमा सीमित भएको छ। चिन्ता हुने ठाउँमा चिन्ता छैन।'

पूर्व एमाले र पूर्व माओवादी एकता भइसकेपछि कसैले पनि महाधिवेशनबाट आएको भन्‍न नमिल्ने तर्क गरे। 'महाधिवेशनबाट आएको त्यसबाट जान्छु भन्छन्। दुवै पार्टी विघटन भएपछि नयाँ पार्टीको संगठनात्मक स्वरूप बनाइयो, पार्टी विधानबाट चलिरहेको छ', ओलीतिर लक्षित गर्दै नेपालले भने, 'पार्टी व्यक्ति विशेषले चलाएको होइन, पार्टीको घोषणा पत्रमा के लेखिएको छ? त्यो हेर्नुपर्‍यो।'

उनले ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादमा आफूलाई विचौलियाको भूमिका खेल्ने अफर आएको पनि सुनाए। 'कमरेडले विचौलियाको भूमिका खेलिदिनु पर्यो भन्दै आएका छन्। तर यहाँ बिचौलिया बदनाम छन्', उनले भने, 'मेरो पहिलेदेखिकै जोड भनेको सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वका आधारमा पार्टी चल्नेछ भन्‍ने हो।'

अहिले पार्टी विधानको धारा ६० मा बहुमतको निर्णय पार्टीको निर्णय हुने व्यवस्था रहेको उनले उल्लेख गरे। 'पार्टीको स्थायी कमिटीका व्यक्तिहरूले चित्त नबुझे फरक मत राख्‍‍न सक्छन्। अध्यक्षको पनि फरक मत रहन सक्छ। तर पार्टीले चाहेमा जो कसैलाई हटाउन सक्छ', उनले भने, 'नेताहरूको मानसिकता के छ? पार्टी विधि विचार र नीतिबाट चल्छ।'

उनले अहिलेको विवाद कसैलाई सिद्‍याउने नभएको पनि उल्लेख गरे। 'अहिलेको विवाद कोही सिद्धिने कसैलाई सिद्‍याउने भन्‍ने होइन, यसबारे मलाई केही थाहा छैन। मान्छे त आउँछन् जान्छन्', उनले भने, 'बैठकबाट डराउने नेता र पानीबाट डराउने किसानको कुनै काम छैन।'

नेता नेपालले पार्टीको बैठक नियमित बस्न नसक्दा संकट बढेको उल्लेख गरे। 'पार्टीको बैठक नियमित बस्ने देखिएन, बसे पनि महत्त्वपूर्ण विषयमा छलफल भएन', उनले भने, 'प्रधानमन्त्रीले निरन्तर गुट चलाएका छन्। आफूखुसी मनपरी रूपमा नियुक्ति दिने गरेको छ। आफ्नो कमजोरी लुकाउन अरूलाई आरोप लाउने गरेको छ।'

सरकारको कामबाट जनता निराश भएको उनले बताए। 'सरकारको कामबाट जनता निराश छन्। कुटनैतिक, वैदेशिक मामिलामा पनि कमजोर प्रदर्शन भएको छ', उनले भने, 'यो पद र सुविधाको लडाइँ होइन, पार्टीलाई गतिशील बनाउने अभियान हो। आफूलाई अनुशासन नलाग्ने अरूलाई भने लाग्ने भन्‍ने हुन सक्दैन।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.