सरकारको यही तरिकाले अर्को चुनावमा गाउँ जानै समस्या भयो

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपामा अहिलेको लडाइँ पदका लागि नभएको बताएका छन्। राजधानीमा बुधबार केही पत्रकारहरुसँगको अन्तर्क्रियाका क्रममा उनले यस्तो बताएका हुन्।

नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यही ढंगले चलिरहे अर्को चुनावमा मुख देखाएर जनतामाझ जान पनि समस्या हुने बताए। 

'सरकार यही ढंगले अघि बढेमा आगामी चुनावमा जाने स्थिति बन्छ कि बन्दैन? बडो द्विविधा भएको छ। अर्कातिर पार्टी पूरै निष्कृय र अकर्मण्यताको बन्दी भएको छ', उनले भने, 'राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टी चलाउन जरूरी छ।'

उनले अहिले नेकपाको विवादलाई पदका लागि भनेर विकृत बनाइएको भन्दै दुखेसो पोखे। 'विधि र सिद्धान्तका लागि भइरहेको यो विवादलाई विकृत बनाइयो। पदका लागि भनेर व्याख्या गरियो। पद मागिरहेका छन् भनियो, कोरोनाको संकटमा अर्को संकट पैदा गरे भनेर बदनाम गरिएको छ।'

उनले अहिलेको विवादको सार भनेको कम्युनिस्ट पार्टीको चरित्रको सरकार बनाउने भन्‍ने रहेको उल्लेख गरे। 'हामीले सर्वहाराको सेवा गर्ने कि दलाल पुँजीवादको पक्षपोषण गर्ने? पछिल्लो समय विवाद त्यसमै केन्द्रित छ। वर्ग, लोकतन्त्र, समाजवादलाई ख्याल गर्ने कि नगर्ने? पार्टी र सरकार विचारका आधारमा चल्ने कि नचल्ने त?', उनले प्रश्न गरे।

उनले दुई पार्टी मिलेर बनेको नेकपाका राजनीतिक कार्यदिशा वेबारिसे रहेका बताए। 'पार्टी कहाँ कहाँ रुमलिइरहेको छ। सरकार पार्टीको निर्देशन बाहिर गयो। सरकार पार्टीको मार्गनिर्देशनमा चल्दै चले, विधि र पद्धति अनुसार चलेन', उनले भने, 'पार्टीका नेता कार्यकर्तामा विचलन आयो, कार्यकर्ताहरू भ्रष्टीकरणतर्फ गए, कम्युनिस्ट मूल्य मान्यता बाहिर गयो पार्टी। अनि सरकार त झन् दलाल, बिचौलियाको चंगुलमा फस्यो।'

उनले अहिलेको समस्या हल गर्न आत्मआलोचना गरेर सच्याउनु आवश्यक रहेको बताए। 'मंसिर ४ मा पहिलेको सम्झौता पनि छाडेर हामी अघि बढेका छौं। अहिलेको प्रवृत्तिलाई सच्याउने दिशामा जाऊँ', उनले भने, 'मंसिर ४ को निर्णय संबोधन भएन। प्रवृत्तिमा रूपान्तरण हुन सकेन। त्यसले विश्वासको वातावरण बनाएन। पहिलो प्रयास सफल नभएपछि सच्याउन खोजेको हो।'

अहिलेको छलफल त्यसमा नै केन्द्रित रहेको उनले बताए। 'बैठक बसेर नै हामी निचोडमा जानुपर्छ। पार्टी एकताको संक्रमणकाल सकेर महाधिवेशनमा जानुपर्छ', उनले भने, 'मंसिरमा महाधिवेशन सम्भव छैन, वैशाखमा महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्छ। सांगठनिक एकताको संक्रमणकाल अन्त्य गर्न महाधिवेशनमा जानु पर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.