काठमाडौंमा भेटिएका १६ जना संक्रमित हराए

|
फाइल फोटो

काठमाडौं : लकडाउन हटेसँगै काठमाडौं उपत्यकामा कोभिड-१९ को जोखिम बढ्दै गएको छ। पछिल्लो समय दिनदिनै कोरोना संक्रमित बढ्दै गएका छन्।

विज्ञका अनुसार सार्वजनिक यातायात संचालन र नाकाहरूबाट निर्वाध मानिसहरुको प्रवेशले उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजो चार बजेसम्मको औपचारिक तथ्याङ्क अनुसार हिजो उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका थिए।

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमण हिजो देखिएका थिए। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा बुधबार बेलुकासम्म उपत्यकामा १०२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ।

महाशाखाका अनुसार संक्रमितमा ७५ जना पुरुष र २७ जना महिलाहरु छन्। जसमा केही अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीसमेत संक्रमणमा परेका छन्। यस्तै केही प्रहरीसमेत रहेका छन्। 

कुल संक्रमितमध्ये ५६ जना अस्पतालमा र २० जना होम आइसोलेसनमा व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ। १६ जना सक्रमित भने मोवाइल अफ गरी सम्पर्कविहीन भएका छन् । बाँकी १० जना गाउँतर्फ लागेका छन्।

हिजो थपिएकामध्ये ३२ जनाले कोरोनाको लक्षण आफूहरूमा भएको बताएको जानकारी दिएका छन्।

संक्रमितमध्ये ९० प्रतिशत बढी उपत्यका बाहिरबाट भर्खरै भित्रिएका र केही भारतीय नागरिक समेत रहेको समेत बताइएको छ। कतिपयले सही सम्पर्क नम्बर समेत नदिने र कतिपयले स्विच अफ गर्नाले कन्ट्याक्ट ट्रेसिङमा समेत अफ्ठेरो परेको छ।

राजधानीमा झनै खतरा बढाएको  स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले हिजो सार्वजनिक गरेको कोरोना अपडेट विवरणमा उपत्यकामा ६२ जनामा संक्रमित भेटिएको बताए। 

त्यस्तै, सोमबार ५१ जना, आइतबार ३१ जना, शनिबार ६ जना र शुक्रबार ३७ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो तथ्यांक अनुसार उपत्यकामा दैनिक संक्रमण बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि विज्ञ तथा चिकित्सकहरुले उपत्यकामा लकडाउनको आवश्यकता भएको बताएका छन्।

उपत्यकामा २४ जना आइसियुमा, चारजना भेन्टिलेटरमा

पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन्। संक्रमितहरु धमाधम आइसियु र भेन्टिलेटरमा जान थालेका छन्।

मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल उपत्यकामा २४ जना संक्रमितको संक्रमणकै कारण गम्भिर भएर आइसियुमा पुगेका छन्। मन्त्रालयको विवरण अनुसार हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका ४५ जना संक्रमित मध्ये १४ जनाको आइसियुमा उपचार भइरहेको छ।

बाँकी ३१ जना आइसोलेसनमा छन्। यस्तै बलम्बुस्थित कोभिडको उपचार गर्न छुट्याइएको सशस्त्रको अस्पतालमा हाल ११७ जना संक्रमित उपचाररत छन्। जसमा ११३ जना आइसोलेशनमा  ३ जना आइसियुमा र एक जना भेन्टिलेटरमा  उपचारत छन्।

त्रिवि शिक्षण अस्पतालमा हाल ८ जना संक्रमित छन् जसमा एक जना आइसियुमा र ८ जना आइसोलेसनमा छन्।

यस्तै पाटन अस्पतालमा हाल ६४ जना संक्रमित उपचारत छन् भने जसमा ५५ जना आइसोलेसनमा  ६ जना आइसियुमा  र ३ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।  यस्तै कीर्तिपुर आयुर्वेद अस्पतालमा हाल २० जना संक्रमित आइसोलेसनमा छन् भने काठमाडौं मेडिकल कलेज अस्पताल दुवाकोटमा ६१ जना आइसोलेसनमा छन्। यस्तै धुलिखेल अस्पतालमा काठमाडौंका २ जना आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार हाल उपत्यकामा कोभिडको उपचारको लागि छुट्याइएको बेडहरु लगभग भरिएका छन्। मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीका अनुसार हाल उपत्यकामा  धेरै पछिल्लो समय तराईबाट आएका धेरैमा संक्रमण देखिएको बताए। उनले भने, ‘हाल संक्रमित मध्ये धेरै भर्खरै तराईबाट आएका छन्।'

 डा. अधिकारीका अनुसार हाल उपत्यकामा  जम्मा ३१६ जना संक्रमित छन्। जसमा २८८ जनाको आइसोलेशनमा र बाँकीको आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.