कालाेपत्रे उप्काउन धमाधम चलाइँदै छ डाेजर

|

ओखलढुंगा : ओखलढुंगा-रुम्जाटार सडक नौ महिनाअघि गरिएको कालोपत्रे उप्किएपछि धमाधम भत्काइन थालिएको छ। ९ महिनाअघि बिछ्याएको कालोपत्रे उप्किएपछि  पुनः कालोपत्रे गराउन डोजर लगाएर सडक भत्काउन थालिएको हो।

एसियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा रमाइलोडाँडा रुम्जाटार सडकको अधिकांश भागमा गरिएको कालोपत्रे बिच्छ्याउनेबित्तिकै उप्किएको थियो। २० करोड ६८ लाख लागतमा ११ किमि सडक आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत सडक कालोपत्रे गरिएको थियो। 

कालोपत्रे उप्किएपछि कार्यालयले ठेकेदार कम्पनीलाई पुनः कालोपत्रेको काम थाल्न निर्देशन दिएको छ। निर्देशनसँगै ठेकेदार कम्पनीले पुनः कालोपत्रेको काम गर्न सिस्नेखोला, वर्णालु, सानीटार लगायतका खण्डमा डोजर लगाएर उप्किएको कालोपत्रे हटाउन थालेको कार्यालयका इन्जिनियर सरोज केसीले बताए।

ठेकेदार कम्पनीलाई कारबाही गर्नुको साटो त्यही कम्पनीलाई कालोपत्रेका लागि समय थपी पुन कालोपत्रे गर्न दिएकोमा स्थानीय भने अक्रोशित भएका छन्। सडक पिच भएको ९ महिना पनि नटिकेपछि पुनः पिच गर्न पुरानै ठेकेदारलाई दिएको कारण उसले फेरि कस्तो काम गर्ला भन्ने प्रश्न उब्जिएको स्थानीय बताउँछन्।

कालोपत्रे गरिएको भनिएको सडकका केही भागमा हिलैहिलो जमेकाे कारण आफूहरुलाई झन् समस्या भएको स्थानीय कुमार दाहालको भनाइ छ। ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिच्छ्याइएको डिबिएसटी कालोपत्रे कामै नलाग्ने गरी उप्किएपछि यतिबेला धमाधम डोजर लगाएर भत्काउन थालिएको छ। १८ महिनामै सक्नेगरी २०७४ सालमा काम थालिएको भए पनि यो सडकमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर ढिलाइ गरेको थियो। 

यो सडकको केही अफ्ठयारा भागमा कालोपत्रे गरिएकै थिएन। कालोपत्रे गरिएको भनिएको सडकका केही भागमा हिलैहिलो जमेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.