सम्पर्कविहीनको खोजी गर्नै समस्या

|

काठमाडौं : काठमाडौंमा पछिल्लो समय कोरोना फैलिँदै गएपछि संक्रमितहरु हराउने क्रम बढेको छ। एक सातायता काठमाडौंमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि संक्रमितहरु हराउने क्रम पनि बढेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतका अनुसार केही दिनयता संक्रमण पुष्टि भएका १६ जना मोबाइल अफ गरेर सम्मपर्किविहीन भएका छन्। उनीहरुले गलत ठेगाना र गलत व्यक्तिगत विवरण दिने गरेको पनि मन्त्रालयका एक अधिकारीले बताएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बुधबार गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा ६२ जनामा संक्रमण पुष्टि गरेका थिए। तर बुधबार रातिसम्म एकै दिन १०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ​

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले संक्रमण पुष्टि भएपछि केहीले मोबाइल फोन अफ गरेर सम्पर्कविहीन हुने कोसिस गरेको केही दिनअघि बताएका थिए। 

‘स्वाब दिँदा टिपाउने सम्पर्क ठेगाना गलत हुने वा संक्रमित भएको जानकारी पाएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन हुने घटना बढ्दै गएको छ', उनले भनेका थिए। 

पछिल्लो समय तराईबाट आएकाहरुमा धेरै संक्रमण देखिएको छ। यसलाई नियन्त्रण गर्न नाकामै विशेष निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको डा. अधिकारीले बताए। 

पछिल्लो समय काठमाडौं छिर्ने नाकामा स्वाब लिने गरिएको छ। करिब १० हजारको स्वाब लिँदा नाकाबाट छिरेकामध्ये ४३ जनामा संक्रमण पुष्टि भएको थियो। जसमा रिपोर्ट पोजेटिभ आएपछि खोज्दा मोबाइल अफ गरेर हराउने वा सम्पर्क नम्बर नै गलत दिने गरेकाले समस्या भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.