थाहा संवाद

प्लाज्मा थेरापी कोरोनाविरुद्ध लड्ने भरपर्दो औषधि हुन सक्छ

यस विधिबाट ६० प्रतिशत बिरामी निको भएका छन्

साउन २२, २०७७

    काठमाडौं : सरकारले लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। एक महिनायता भेटिएका कोरोना संक्रमितमा निमोनियाँसहितका गम्भीर लक्षण देखिन थालेका छन्। नेपालमा कोरोना संक्रमण दर वद्धि हुँदै गएको छ। देशभर कोरोना संक्रमितको संख्या २१ हजार भन्दा बढी पुगिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार  कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ।

    पछिल्लो क्रममा कोरोनाका बिरामी आइसियू र भेन्टिलेटरमा उपचार गर्नै पर्ने भेटिएका छन्। कोरोना संक्रमितको उपचारका लागि आवश्यक भ्याक्सिन उपलब्ध हुन नसक्दा नेपालमा प्लाज्मा थेरापीको नयाँ विधि अपनाइएको छ।  प्लाज्मा थेरापी कोरोनाका बिरामीको उपचारमा उपयोगी देखिएको छ।

    नेपालमा पहिलो पटक बिराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीको उपचार प्लाज्मा थेरापी विधिबाट गरिएको छ। कोरोनाले गम्भीर बिरामी परेका उनलाई भेन्टिलेटरमै लानु पर्ने अवस्थामा यसअघि कोरोनालाई जितेकाबाट प्लाज्मा दान लिएर त्यसलाई कार्कीको उपचारमा प्रयोग गरिएको हो।

    त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरेर कार्कीले आफ्नो ज्यान जोगाउन सफल भएका छन्। आखिर के हो त प्लाज्मा थेरापी? यसले कसरी काम गर्छ? यस विधिबाट उपचार गर्न कति खर्च हुन्छ? यही विषयमा थाहाखबरले  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश :

    कोरोना संक्रमणबाट गम्भीर बिरामी भएकाहरुलाई प्रयोग गर्ने खोजिएको प्लाज्मा थेरापी के हो?

     प्लाज्मा थेरापी भन्‍ने कुरा नयाँ पद्धति होइन। यसको प्रयोग विश्‍वमा भइरहेको छ। कोरोनाको संक्रमण भएपछि यसलाई प्रयोगमा ल्याइएको छ।  प्लाज्मा थेरापी भनेको एक झोल पदार्थ हो। जुन रगतको कोषहरू हटाएर प्लाज्माथेरासिस भन्‍ने पक्रियाबाट कोषलाई छुट्याइन्छ। कोषबाट अलग्याइएपछि बन्‍ने तरल वस्तुलाई प्लाज्मा भनिन्छ।

     त्यो प्लाज्मामा रहेको कोरोनाविरुद्धको एन्टीबडीलाई कोरोना भाइरसविरुद्ध प्रयोग गरिन्छ। उक्त प्लाज्मा  कोरोनाका 'सिरियस' बिरामीलाई चिकित्सको सुझावअनुसार दिइने प्रविधि हो। यसलाई एक किसिमको 'ब्लड ट्रान्समिसन' भन्दा अनुचित हुँदैन।  यो एक सामान्य विषय हो। यो विश्‍वमा बहुतै उपयोगी मानिएको छ। विश्‍वका ५० प्रतिशत व्यक्तिलाई यो विधिबाट उपचार गर्दा राम्रो भएको छ। ​निष्कर्षमा भन्‍नुपर्दा कोरोना संक्रमणबाट निको भएर घर गएका व्यक्तिमा रहेको एन्टीबडी लिएर सिरियस बिरामीलाई दिने हो। 

    कोरोना संक्रमणबाट निको भएर घर फर्केका व्यक्तिले प्लाज्मा दिन सक्छन् भनिरहँदा यसका केही सीमा पनि त होलान्?

    यसका आफ्नै सीमाहरू छन्। यो एक किसिमको 'कन्भालेसन प्लाज्मा थेरापी 'भनेर 'अब्जर्भेसन स्टडी'बाट हामीले सुरु गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पहलमा नेपालका कोरोना सम्बन्धी अस्पताल (आइसियु कक्ष) ले मागेको खण्डमा दिने गरिएको छ। सबै उमेरकाबाट यो निकाल्दैनौँ। 

    अहिले हामीले बच्चाहरूबाट प्लाज्मा  निकाल्ने सोचेका छेनौँ। १८ वर्षमाथिका निको भइसकेका व्यक्तिबाट प्लाज्मा लिने नीति बनाएका छौं। प्लाज्मा लिन पिसिआर पोजेटिभ भएर निको भइसकेको हुनुपर्छ। संक्रमित पूरै निको भएको दुई हप्ता पछाडि मात्रै एन्टीबडी निस्किने अनुसन्धानले देखाएको छ। हामीले निको भइसकेकाबाट तीन महिनासम्म प्लाज्मा लिन सकिन्छ।

    लामो समय औषधि सेवन गरेकाले प्लाज्मा दिन सक्छन् त? 

    प्लाज्मा बिरामीले दिने कुरा होइन। प्लाज्मा सिरियस बिरामीका लागि उपलब्ध हुने हो। लामो समयदेखि औषधि सेवन गरिरहेका व्यक्तिबाट प्लाज्मा ननिकाल्दा राम्रो। तर, स्पेशल कण्डिसन भने छैन। 

    थेरापी कस्ता किसिमका बिरामीलाई दिने गरिन्छ? 

    सिरियस कण्डिसनका बिरामीका लागि यो प्रविधि हो। नर्मलका लागि यो प्रविधि अपनाइँदैन। अलि ठूला रोगका बिरामीलाई चिकित्सकको  निगरानीमा प्लाज्मा थेरापी दिने गरिन्छ। 

    प्लाज्मा थेरापी गराउन कति खर्चिलो छ

    प्लाज्मा थेरापी खर्चिलो छैन। यसलाई दानको रुपमा लिँदा उचित हुन्छ। जसरी रगत दान गर्छौं। यो ठ्याक्कै  सामान्य रगत निकाल्दा र रगत छुटाउँदा लाग्ने खर्च मात्रै हो।  अस्पतालमा उपचार गरिरहेका बिरामीको उपचार भइरहने हुनाले धेरै खर्च हुँदैन। 

    नेपालमा एकजना डाक्टरलाई बचाउन यो प्रविधि अपनाइयो भन्‍ने छ। उहाँलाई उपचार गर्दा आवश्यक पर्ने औषधि भारतबाट ल्याइएको भन्‍ने चर्चा छ? यसबारे प्रष्ट पारिदिनुस् न?

    प्लाज्मा थेरापी उहाँको उपचार फरक हो।  प्लाज्मा थेरापी २० मिलिलिटर दिने कुरा हो। त्यो दिएपछि बिरामीलाई कति सहज भयो। अथवा रियाक्सन गर्‍यो कि गरेन? प्लाज्मा दिएका बिरामी र  अन्य बिरामीको हकमा कस्तो छ भन्‍ने हेर्छौं। भारतबाट औषधिको ल्याइएको कुरा छ त्यो चाहिँ छुट्टै प्रविधि हो।

    संक्रमितहरू निको भएर घर फर्किने दर हामीकहाँ उच्च छ। हामीले निको भएर जानेहरूबाट प्लाज्मा लिन के तयारी गरेका छौँ त? 

    हामीले आव्हान गरिसकेका छौं। जो जो संक्रमितहरु हुनुहुन्छ। उहाँहरुको अस्पतालसँग लिंक छ। अस्पतालले पनि हामीलाई सहयोग गरिरहेको छ। धेरै व्यक्तिले प्लाज्मा दिने इच्छा देखाइरहनु भएको छ। यसको विस्तृत रुप दिनको लागि कर्मचारीहरू खटाइसकेका छौं। ति कर्मचारीले उहाँहरूसँग सम्पर्क गरेर आव्हान गरेर ब्लड ग्रुप मिलेपछि हामीले प्लाज्मा तान्ने कोशिश गर्छौं। 

    उपचार विधि सजिलो रहेको यो विधिले सबैलाई काम गर्छ?  कि हुँदैन? 

    यो सतप्रतिशत हुन्छ भन्‍ने होइन। तर, बाहिरको ट्रेन्ड हेर्ने हो भने लगभग ५० प्रतिशत सफल भएको देखिन्छ। यसलाई हामीले सकारात्मक हिसाबले नै लिनुपर्छ। किनकी कोरोनाविरुद्ध लड्न हामीसँग अर्को 'अप्सन' पनि छैन। अहिलेलाई यो नै उपयुक्त प्रविधि हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]